Photo: BG Media

बर्दिबास (महोत्तरी), १५ पुस ।

महोत्तरीको बर्दिबास नगरक्षेत्र मुलुककै विविधितायुक्त भूगोल ‘पार्क’को सम्भावना बोकेको ठाउँ रहेको भूगर्भ विज्ञको ठहर छ । आफ्‌नो विद्यावारिधिका लागि यहाँको भूगोलको अध्ययन, अन्वेषण गर्नुभएका भूगर्भ विज्ञ डा. सोमनाथ सापकोटाले यो ठाउँ विविधतायुक्त रहेको बताउनु भएको हो ।

जिल्लाको सम्पूर्ण चुरे क्षेत्र ओगटेको यो नगरक्षेत्र प्रागऐतिहासिक, धार्मिक, भौगोलिक , साँस्कृतिक, पुरातात्विक र पर्यापर्यावरणले विविधतायुक्त ठाउँ रहेको डा. सापकोटाको निष्कर्ष छ । “मधेशको ठाउँ भएर पनि यहाँ उच्च पाहाडी भेगमा हुने सुन्तला, जुनारसहितका वनष्पति (फल) हुने ठाउँ पनि रहेछ”उहाँ भन्नुहुन्छ, “अति लोपोन्मुख पक्षी गिद्ध बासस्थान, सर्पको खानी, दुर्लभ जडीबुटीको भण्डार , महाभारतकालनि धार्मिकस्थल , पाषण युगकालीन हतियार कारखाना र कैयौ भूकम्पका असर भेटिएको यो ठाउँ साँच्चै विविधतायुक्त रहेछ ।”

आज थप अध्ययन र अन्वेषणका क्रममा बर्दिबास आइपुग्नु भएका डा. सापकोटाले बर्दिबास उद्योग वाणिज्य सङ्घका अध्यक्ष विष्णुबहादुर खड्काको संयोजन तथा समन्वयमा आयोजित अन्तर्कृयामा आफ्‌नो विद्यावारिधिको सोधका लागि यहाँका माण्डवीगङ्गा (मडहा) सोनावती (शिरखोला) , भब्सी र रातु नदीका उद्गमस्थल र चुरे पाहाडी शृङ्खलाका भित्ताहरुको अध्ययन, अन्वेषण गर्दा सन् १२५५, १६००, १८३३ र १९३४ का ठूला भूकम्पको असर भेटेको उल्लेख गर्नुभयो ।

“यहाँको अध्ययनबाट चार हजार ५०० वर्षदेखि पहिले सघन मानव बसोबासको समुन्नत सभ्यताको झलक पाइएको छ” उहाँ भन्नुहुन्छ, “यी स्थलगत परिचय विशेषताका आधारमा यहाँ विविधतायुक्त भूगोल पार्क बनाउन सकिन्छ ।” डा. सापकोटाले बर्दिबास नगरपालिकाका जनप्रतिनिधि, नगर कार्यपालिकाका अधिकृतहरु, उद्योग वाणिज्य सङ्घका पदाधिकारी र सञ्चारकर्मीसहितसँगको अन्तर्कृयामा यस दिशामा अघि बढ्न सबैसँग आग्रह पनि गर्नुभयो ।

“तपाईँहरु यहाँ विविधितायुक्त प्राकृतिक भूगोल पार्क निर्माणबारे सोच्नुहोस् , यो मुलुककै लागि उपहार हुनेछ” डा. सापकोटाले भन्नुभयो, “तीनै तहका सरकारबीच सहकार्य हुँदा यो निकै ठूलो बजेट पनि लाग्दैन ।” यस कार्यको विस्तृत् प्रस्तावना तयार गर्नअघि विभिन्न क्षेत्रका विज्ञबीच अन्तर्कृया भने आवश्यक हुने उहाँको सुझाव छ । प्रारम्भमा यो कार्य एक करोड ५० लाख हाराहारीकै बजेटमा सम्पन्न गर्न सकिने उहाँको भनाइ छ ।

बर्दिबास–३ गौरीडाँडालाई सर्पको खानी भनिन्छ । बर्दिबास–३ कै राइमण्डलडाँडामा लोपोन्मुख पक्षी गिद्धको बासस्थान छ । यसैगरी बर्दिबास—४ को सोलीघोप्टेडाँडा जडीबुटीको भण्डार छ । यस्तै बर्दिबास–११ को चनौटेडाँडा चुरे पाहाडको सबैभन्दा अग्लो ठाउँ मानिन्छ, जहाँ उच्च पाहाडी भेगमा फल्ने जुनार, सुन्तला फल्छन् । बर्दिबास–३ पाटु राइमण्डलमा करिब १० हजार वर्ष पहिलेको पाषाण युगकालीन हतियार कारखानाको अवशेष फेला परेको छ ।

यसैगरी बर्दिबास–५ टुटेश्वरमा महाभारतकालीन शिवालय टुटेश्वरनाथ रहेको मानिन्छ । यसैगरी बर्दिबास–४ माइस्थानमा पाँच हजार वर्ष पहिलेको देवी पञ्चधुराको मन्दिर छ । यो ठाउँका भौगर्भिक अध्ययनका महत्वपूर्ण ठाउँ रहेका डा. सापकोटा बताउनुहुन्छ । यहाँका नदीका उद्गमस्थल र पाहाडका पाखामा गरिएको अध्ययन , अन्वेषणमा दुई हजार वर्षयताका भूकम्पका असरका अवशेष पाइएको उहाँ बताउनुहुन्छ ।

यसअघि पनि पुरातत्व विभाग र भारतीय भूगर्भविद् एबं पुरातत्वविदको टोलीले यहााको १० हजार वर्ष पहिलेको हतियार कारखाना क्षेत्रको स्थलगत अध्ययन गरेर दक्षिणपूवी एसियामै यो ठाउँ विशेष अन्वेषणको रहेको औंल्याएको थियो । यसैगरी दुई वर्षपहिले बर्दिबास उद्योग वाणिज्य सङ्घको नेतृत्वमा नगर क्षेत्रको चुरे पर्वत श्रेणिका विभिन्न स्थल र यहाँका भौगोलिक, पर्यावरणीय, पुरातात्विक र धार्मिकस्थलहरुको तीन महिने पदयात्रा सम्पन्न गरेर यहाँका ३८ ठाउँलाई पर्यटकीय सम्भावनाका क्षेत्र भन्दै बर्दिबास नगर कार्यपालिकाको कार्यालय, मधेश प्रदेश मुख्यमन्त्रीको कार्यालय र सङ्घीय सरकारलाई आवश्यक कार्यार्थ प्रतिवेदन बुझाएको थियो ।

“हामीले तीनै तहका सरकारलाई पदयात्रा प्रतिवेदन त्यतिखेरै बुझायौं, त्यसपछि भने हालसम्म हामीसँग यसबारे कसैले चासो जनाएका छैनन्‌” बर्दिबास उद्योग वाणिज्य सङ्घका अध्यक्ष खड्का भन्नुहुन्छ, “हुनसक्छ, हाम्रो प्रतिवेदन अध्ययनकै क्रममा होस ।” सो प्रतिवेदनमा गरिने प्रयत्नले बर्दिबासको पर्यटन प्रबद्र्धनमा सघाउ पुर्‍याउने खड्काको विश्वास छ ।

आफ्‌नो ठाउँको यो गौरवमय परिचयले अहिले बर्दिबासबासी उत्साहित छन् । तीनै तहका सरकारले यहाँको यो विविधताको पहिचान गरेर संरक्षण, सम्बद्र्धन र समयोचित विकासको पहलकदमी लिन पर्ने बर्दिबासबासीको माग छ ।


२०८२ पुष १५, मंगलवार २०:२५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय