महोत्तरी, २० पुस ।
महोत्तरीको बर्दिबास नगरक्षेत्रमा स्थायी ठेगाना भइ यहींकै सामुदायिक विद्यालयमा पढ्ने गरिब छात्रछात्राले छात्रवृति पाएका छन् । यस नगर क्षेत्रका निर्धन परिवारका २४ छात्रछात्रालाई पद्मशम्शेर स्मृति प्रतिष्ठानले यस वर्षको छात्रवृति प्रदान गरेको हो । कक्षा ११ मा छात्रवृति पाएका छात्रछात्राले कक्षा १२ मा पनि पाउने प्रतिष्ठानको नीति छ ।
बर्दिबास उद्योग वाणिज्य सङ्घका अध्यक्ष विष्णुबहादुर खड्काले आफ्नो ब्यापारिक प्रतिष्ठान विनायक होटलको आम्दानीबाट यो प्रतिष्ठानमार्फत छात्रवृति प्रदान गर्नुहुन्छ । अर्थाभावले आफूले त्यतिखेर प्रवेशिका उत्तीर्ण गरेपछि कलेज पढ्न नपाएको सम्झेर गरिब विद्यार्थीलाई छात्रवृति दिन थालिएको ५० वर्षीय खड्का बताउनुहुन्छ ।
“मैले अर्थाभावले नै कलेज पढ्न पाइन , पछि ब्यापारमा सफलता पाउँदै गएर नगद आर्जन हुन थालेपछि विगतको आफ्नो दुःख सम्झेर छात्रवृति दिन थालेको हुँ” खड्का भन्नुहुन्छ, “आफ्नै भोगाइ र एक दिन अघिपछि निधन हुनुभएका पितामाताले गरिबलाई आदरभावले सहयोग गर्न दिनुभएको अर्तिले नै उहाँहरुकै नाउँमा प्रतिष्ठान दर्ता गरेर यो कार्यक्रम सञ्चालन गरेको हुँ ।”
प्रतिष्ठानको छात्रवृति पाएपछि गरिब परिवारका छात्रछात्रालाई निकै राहत भएको छ । “विद्यालयमा लाग्ने नामाङ्कन र मासिक शुल्क सबै प्रतिष्ठानले दिने भयो, अब पढाइ तार लगाउँछु भन्ने आस जाग्यो” बर्दिबास–८ हाथीलेटकी बासिन्दा रेश्मा दर्जी भन्न्नुहुन्छ, “यो सहयोग मेरो शिक्षाका लागि निकै ठूलो भरथेग बन्यो ।” दर्जीजस्तै बर्दिबास–१ की मञ्जिता लाखे, बर्दिबास–३ कालापानीकी अमिशा माझी, बर्दिबास–९ पशुपतिनगरकी शोभा ठाकुर , बर्दिबास–१० खयरमाराकी सविता तोलाङ्गे र बर्दिबास–१३ बिजलपुराकी मङ्गिताकुमारी राउत भेडियरले यो छात्रवृति आफ्नो जीवनको खास अवसर बनेको प्रतिकृया दिनुभयो ।
“घरको गरिबीले पढाइ धान्न सकिन्न भन्ने थियो , यसैबेला यो छात्रवृति पाएँ” बर्दिबास–९ पशुपतिनगरकी छात्रा शोभा ठाकुर भन्नुहुन्छ, “हामीलाई हेर्ने पनि कोही रहेछन् भन्ने लाग्यो , अब गरिबीको चिन्ता छाडेर मेहनतसाथ पढ्छु ।” प्रतिष्ठानको छात्रवृतिले होसला थपेको उहाँको भनाइ छ । कतिपय छात्राले त घरका अभिभावकले पढाइ खर्च जुटाउन नसकिने भन्दै बिहेको कुरो चलाउन थालेका बेला पाएको छात्रवृतिले उमेर नपुग्दै हुने बिहेबाट पनि बचाएको बताएका छन् ।

यसपालि प्रतिष्ठानबाट छात्रवृति पाउनेमा नगरक्षेत्रका कक्षा ११, १२ को पठनपाठन हुने १७ माध्यमिक विद्यालयमध्ये १३ वटाका छात्रछात्रा परेका छन् । जसमा छात्राको सङ्ख्या १७ र छात्रको सङ्ख्या सात छ । यिनमा दलित समुदायका सात छात्रा र तीन छात्र गरी १० छन् । यस्तै जनजाति समुदायका आठ छात्रा र चार छात्र गरी १२ जना परेका छन् । यसेगरी बाहुनक्षत्री जाति समुदायका दुई जना परेका प्रतिष्ठानले जनाएको छ । छात्रवृति पाउने सबै अत्यन्त जर्जर आर्थिक अवस्थाका विद्यार्थी रहेका प्रतिष्ठानले स्पष्ट पारेको छ ।
नगर क्षेत्रका कक्षा ११, १२ को पठनपाठन हुने १७ वटै विद्यालयबाट छात्रवृतिका लागि आवेदन आह्वान गरिए पनि १५ वटा विद्यालयका ११४ जनाले आवेदन गरेका थिए । आवेदकबीच लिइएको लिखित योग्यता परीक्षामा उत्तीर्ण भएका ९७ जनाको स्थलगत अवलोकन निरीक्षण गरिदा यसपालि २४ जना अत्यन्त गरिब परिवारका छात्रछात्रालाई छात्रवृति दिने निर्णय भएको प्रतिष्ठानले स्पष्ट पारेको छ ।
प्रचलित कानुनबमोजिम दर्ता रहेको यो प्रतिष्ठानले विक्रम सम्वत् २०७७ सालदेखि गरिब परिवारका छात्रछात्रालाई छात्रवृति प्रदान गर्दै आएको छ । यस वर्षअघिका छात्रवृतिमा अध्ययन गरेका ३३ मध्ये २५ जनाले प्राविधिक धारको डिप्लोमा तह उत्तीर्ण गरी देशविदेशमा आकर्षक रोजगारी पाएका छन् । “आफूले पढाएका छात्रछात्राले हासिल गरेका सीप र उनीहरुको कामले मलाई पनि हौसला दिने गरेको छ” प्रतिष्ठानका संस्थापक खड्का भन्नुहुन्छ, “यसलाई अझ बढी परिवारबीच पुर्याउन प्रयत्न केन्द्रित गर्नेछु ।” प्रतिष्ठानले छनौट भएका छात्रछात्राको कक्षा ११ को नामाङ्कन र वर्षभरिको शुल्क एकमुष्ट उपलब्ध गराउने गरेको छ । यिनै छात्रछात्राले कक्षा १२ मा पनि यो छात्रवृति पाउँछन् ।
प्रतिष्ठानले छनौट प्रकृया निष्पक्ष र पारदर्शी गराउन इलाका प्रशासन कार्यालय बर्दिबासका प्रमुख, बर्दिबास नगर कार्यपालिकाको कार्यालयका शिक्षा शाखा प्रमुख, बर्दिबास नगर पत्रकार सञ्जालका अध्यक्षसहित तीन जना पत्रकार र शिक्षाविद्सहितको छात्रवृति निर्णायक समिति बनाएको छ । यसै समितिको निर्णयअनुसार आवेदन आह्वान, लिखित योग्यता परीक्षा सञ्चालन र नतिजा प्रकाशन , घरघरै अनुगमन निरीक्षण र अन्त्यमा छात्रवृतिको निर्णय हुने गरेको खड्काले स्पष्ट पार्नुभयो ।
नगरक्षेत्रका गरिब परिवारलाई केन्द्रित गरी प्रतिष्ठानले सञ्चालन गर्दै आएको छात्रवृति कार्यक्रमले त्यस्ता छात्रछात्रालाई पठनपाठनमा निकै सघाउ पुगेको बर्दिबास नगर कार्यपालिकाको कार्यालयको शिक्षा शाखाका अधिकृत गणेशप्रसाद दाहालको प्रतिकृया छ । सामाजिक सङ्घंसंस्थाको शिक्षाप्रति समर्पित कार्यक्रमले यहाँ सीपयुक्त दक्ष जनशक्ति निर्माणमा पनि सघाउ पुगेको दाहालको ठहर छ ।

