महोत्तरी, २४ चैत ।

महोत्तरीको बर्दिबास–१३ डाँडाटोल बिजलपुुरास्थित जनता माध्यमिक विद्यालयले एक करोड राशीको ‘विद्यालय विकास अक्षयकोष’ अभियान सुरु गरेको छ ।

विद्यालयले सोमबार एक समारोहबीच यो अभियान सुरु गरेको हो । अभियानको प्रारम्भ गर्दै विद्यालय संस्थापकमध्येका ८७ वर्षीय विष्णुप्रसाद पोखरेलले एक लाख एक हजार १५१ रुपैयाँको चेक अक्षयकोषका लागि विद्यालयका प्रधानाध्यापक हरिदेव महतोलाई हस्तान्तरण गर्नुभयो ।

बिजलपुरा रुपान्तरण अभियान घोषणा गरेका स्थानीय समुदायले ‘शिक्षा पहिलो प्राथमिकता’ नारा बनाएर विद्यालयलाई समृद्ध बनाउन एक करोडको अक्षयकोष निर्माणको अभियान थालेका हुन् । अभियानमा विद्यालय व्यवस्थापन समिति, विद्यालयका पूर्वविद्यार्थी मञ्च र शिक्षक अभिभावक समिति सकृय भएका छन् । यस अभियानमा अब बस्तीबस्तीमा आमा समूह बनाएर विद्यालय पठनपाठन र सुव्यवस्थापन गरिने तयारी रहेकाे बर्दिबास-१३ का बासिन्दा तथा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य राजकरण महताेताेले बताउनुभयाे ।

विक्रम सम्वत् २०१६ सालमा स्थापना भएको यो विद्यालय बर्दिबास नगरक्षेत्रकै जेठो मानिन्छ । जेठो भएर पनि भौतिक संशाधन र पठनपाठन सुव्यवस्थित हुन नसक्दा रुग्ण बनेको यो विद्यालयलाई रुपान्तरण गर्न अहिले सामुदायिक अभियान थालिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विश्वलाल महतो बताउनुहुन्छ ।

“हामीले अभियान थालनीको घोषणा गरेसँगै अक्षयकोषका लागि रकम प्राप्त हुन थालेको छ” अध्यक्ष महतो भन्नुहुन्छ, “अब आउने २०८३ सालको दसैं पर्वसम्म अक्षयकोषमा एक करोड दाखिला भइसक्ने गरी अभियान सुरु भएको छ ।” अहिले देशविदेशमा विभिन्न क्षेत्रमा कार्यरत पूर्वविद्यार्थीहरुबाट अभियानका लागि चासाे व्रयक्कत भइरहेकाे उहाँको भनाइ छ । अक्षयकोषमा जम्मा हुने रकमको ब्याज रकमबाट निर्धन छात्रछात्राको छात्रवृति, विद्यालय सुधारका काम र उत्कृष्ट छात्रछात्रालाई पुरस्कार कोष सञ्चालन गरिने उद्देश्य लिइएको बर्दिबास–१३ का वडाध्यक्ष लक्ष्मण सिंह बताउनुहुन्छ ।

अभियान थालिएसँगै बर्दिबास–१३ का बासिन्दा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य राजकरण महतोले ५१ हजार योगदानको घोषणा गर्नुभएको छ । बिजलपुरा रुपान्तरण अभियानमा बर्दिबास–१२ र १३ काे बिजलपुरा बस्तीका १०प्रत्येक टोलबस्तीका युवा सरिक रहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महतोले स्पष्ट पार्नुभयो ।


२०८२ चैत्र २४, मंगलवार १३:०८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय