बर्दिबास (महोत्तरी) : कैयन चाडपर्व आएगए पक्षघातले पछिल्ला तीन वर्षदेखि थलिनु भएका महोत्तरीको बर्दिबास–११ खयरमाराको चुरेकाछ बस्तीका ६६ वर्षीय पूर्णबहादुर भुजेललाई यसपालिको नयाँ वर्ष २०८३ को प्रारम्भ सधैं सम्झनामा रहने बनेको छ । मधेशमा नयाँवर्षसँगै मनाइने जुडशीतल पर्वका बेला हलचल गर्न नसक्ने भुजेलले घुमफिर गर्न सहयोगी हुने ह्विलचेयर पाएपछि उहाँलाई यसपालिको नयाँ वर्षसँगैको सधैं सम्झनामा रहने बनेको हो । लायन्स क्लव अफ बर्दिबास समाजले बस्तीमै पुगेर ह्विलचेयर दिएपछि भुजेललाई यसपालिको यो पर्व खास बनेको छ ।

“हातगोडा केही नचल्ने भएर थला परें, यसो घरबाहिर निस्कन त मन हुन्थ्यो, तर हातगोडा नचल्ने र अन्य साधन केही नहुँदा मन मारेर बस्नु परेको हो” भुजेलले भन्नुभयो, “अबभने यही ह्विलचेयरमा घर ओरपर डुल्न निस्कने भइयो ।” घरमै आएर यो अवसर दिने लायन्स क्लव अफ बर्दिबास समाजका प्रतिनिधिलाई हात जोड्दै भुजेलले कैयनपटक आभार व्यक्त गर्नुभयो ।

“हजुरहरु मजस्ता अशक्तलाई सम्झेर नयाँ वर्षकै दिन आउनुभयो, तपाईँहरुको जय होस्‌” ह्विलचेयर पाएको खुसीमा भावविह्वल हुँदै भुजेलले भन्नुभयो । जिल्लाकै विकट मानिने चुरे काछको सो बस्तीमा भुजेलका अतिरिक्त अन्य दुई जना अशक्तले पनि ह्विलचेयर पाउनु भएको छ । बस्तीका १३ वर्षीय जनम दियाली र ३५ वर्षीय खुपबहादुर थापालाई अहिले पाएको ह्विलचेयरले निकै खुसी दिएको छ ।

“दुर्घटनामा परेर दुबै गोडा काटिएपछि १५ वर्षदेखि कुँजिएर बसेको थिएँ, आफ्‌नै जीवन बोझजस्तै बनेको थियो” थापा भन्नुहुन्छ, “अब त ह्विलचेयर पाएपछि यसो ओरपर घुमटहल गर्नसक्ने भएँ , अबचाहिँ अझै बाँच्ने मन जाग्यो ।” यो नयाँ वर्ष आफ्‌नो जीवनमा नयाँ आस पलाउने बनेको थापाको थप प्रतिकृया छ । अर्का १३ वर्षीय दियाली भने जन्मदै अशक्त रहेका र बोल्न पनि नसक्ने हुनुहुन्छ । दियालीले पनि ह्विलचेयर पाएपछि हाँस्दै त्यसमा बसेर खुसी व्यक्त गर्नुभयो ।

हेर्दा सानो कुरा भएपनि नयाँ वर्षको जुडशीतल पर्वका बेला लायन्स क्लव अफ बर्दिबास समाजले अशक्तका लागि निकै खुसी दिएको बर्दिबास–११ का वडाध्यक्ष गोपाल बल बताउनुहुन्छ । बर्दिबासचोकबाट करिब २५ किलोमिटर दुरीको सो बस्ती जिल्लाकै विकट मानिन्छ । ‘महोत्तरीको कर्णाली’ भनिने आफ्‌नो ठाउँ मानवीय सेवाका लागि लायन्सको छनौटमा पर्नु सुखद बनेको बलको प्रतिकृया छ ।

लायन्स क्लव अफ बर्दिबास समाजले नयाँ वर्षको प्रारम्भमै केहीनकेही मानवीय सेवाको कामबाट वर्षको थालनी गर्ने सोचमा बर्दिबास–११ को काछबस्ती परेको हो । “कुन कामबाट वर्षको काम थालौं भन्ने थियो” समाजका अध्यक्ष वैकुण्ठप्रसाद देवकोटाले भन्नुभयो, “यसपालि यो गरिब बस्तीका अशक्तलाई छान्यौ ।” आफूहरुको यो कार्यमा लायन्स क्लव इण्टरनेशनल ३२५ ‘एफ’ को ह्विलचेयर सहयोग रहेको देवकोटाले बताउनुभयो ।

“हामीले छ वटा ह्विलचेयर अशक्तहरुका लागि सहयोगमा पाएका छौं, अलि पहिले पहिचान गरिएका तीनजनालाई प्रदान गरियो” देवकोटाले भन्नुभयो, “बाँकी तीनवटा पनि काछबस्तीमै दिनेगरी व्यक्ति पहिचान गरेका छौं, त्यो पनि चाँडै दिन्छौ ।” ह्विलचेयर दिन बर्दिबासचोकबाट अध्यक्ष देवकोटा, जोन चेयर पर्सन उमेश महतो , समाजका सचिब सुनिता बराल र लायन्स विष्णु खडकासहितको टोली खयरमाराको काछबस्ती पुगेको हो ।

“झट्ट हेर्दा त ठूलो कुरा नदेखिन सक्छ, तर ह्विलचेयर पाएपछि तीनैजनाको मुहारमा खुसी छाएको देखियो, यो खुसी ठूलो कुरा हो” बलले भन्नुभयो, “अन्य सामाजिक सङ्घसंस्थाले पनि लायन्सको यो अनुसरण गरुन् ।” खयरमाराका अन्य सामाजिक कार्यकर्ताले पनि यो मानवीय सेवाको उत्कृष्ट काम भएको प्र्रतिकृया दिएका छन् ।


२०८३ बैशाख ३, बिहीबार ०८:०१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय