बर्दिबास, ५ वैशाख ।
साहित्यकार पारिजातको ३४ औं स्मृति दिवसका अवसरमा बर्दिबासमा उहाँको साहित्यिक योगदानको सम्झना तथा श्रष्टा सम्मान र कृति लोकार्पण सम्पन्न भएको छ ।
शनिबार प्रगतिशील लेखक सङ्घ (प्रलेस) , मधेश प्रदेश समितिले आयोजना गरेको कार्यक्रममा साहित्य साधक श्रष्टाहरुले नेपाली साहित्यको आधुनिक विकासमा पारिजातको योगदानबारे चर्चा गर्नुभयो । कार्यक्रममा मधेश प्रज्ञा प्रतिष्ठानका अध्यक्ष प्राज्ञ रामभरोस कापडी ‘भ्रमर’ ले नेपाली साहित्यको इतिहासमा प्रगतिवादी धारालाई आफ्नो लेखनबाट जनजनमा पुर्याउन पारिजातका कृतिले योगदान दिएका उल्लेख गर्नुभयो । पारिजातका कृतिमा श्रमजीवी जनताको सामाजिक, साँस्कृतिक , आर्थिक र राजनीतिक अधिकारका लागि विद्रोहको अपिल पाइने उहाँको भनाइ छ ।

कार्यक्रममा यस वर्ष (२०८३) को शिशिर घिमिरे स्मृति नवप्रतिभा सम्मान धनुषाको गणेशमान चारनाथ नगरपालिकाको गोदारका बासिन्दा साहित्य साधक गणेशप्रसाद तिमलसिनालाई ‘मनोगति’ मुक्तक सङ्ग्रहका लागि प्रदान गरिएको छ । दुई वर्षअघि २०८१ देखि प्रदान गरिदै आइएको यो सम्मान यसअघि २०८१ मा वाद्यवादक सुमन सारङ्गी र २०८२ मा रामेछापका डा. सुमन कर्माचार्यलाई प्रदान गरिएको थियो । यो सम्मानमा कदरपत्र र १५ हजार ५०० नगद पुरस्कारको व्यवस्था छ ।
यसैगरी कार्यक्रममा प्राज्ञ भ्रमरसहितका सहभागीले कवि प्रेम घिमिरे ‘रक्षाकवच’ रचित ‘जेन्जीको ज्वाला’ प्रबन्ध काव्य कृति लोकार्पण गर्नुभयो । २०८२ भदौ २३ र २४ को जेन्जी आन्दोलनको पृष्ठभूमिको यो कृतिमा उद्धोधन, सञ्चरण, द्वन्द्वको डढेलो, प्रचण्ड ज्वाला र आलोकसहित पाँच लघु खण्ड छन् । यो कृतिमा सुशासन र व्यक्ति स्वतन्त्रताका पक्षमा आन्दोलनको काव्यात्मक वर्णन रहेको टिप्पणीकार मञ्जु मञ्जुभाषिणीले टिप्पणी गर्नुभयो । कार्यक्रम प्रलेस मधेश प्रदेशका अध्यक्ष नारायण घिमिरेको अध्यक्षतामा सम्पन्न भएको हो ।


