बर्दिबास (महाेत्तरी), २७ वैशाख ।
‘भूमिहीनलाई बाँच्न देउ: उठिबास हाेइन, पूर्जा देउ’ यस्ताे नारा लगाउँदै हजाराैं भूमिहीन सुकुम्बासीले आज आइतबार बर्दिबासमा प्रदर्शन गरेका छन् । राष्ट्रिय भूमि अधिकार मञ्च नेपाल महाेत्तरी जिल्ला कार्य समितिले आयोजना गरेको कार्यक्रममा जिल्लाका हजाराैं सङ्ख्याका भूमिहीन सुकुम्बासीले आज बर्दिबासमा आबास हककाे ग्यारेण्टी, बसाेबास अधिकारकाे सुनिश्चितता, सबैलाई सुरक्षित घरबास र भूमि अधिकारकाे सुनिश्चितताकाे माग गर्दै प्रदर्शन गरेका हुन् ।
”दुई तिहाई बहुमत नजिककाे सरकारले कानुनी जटिलता चिर्दै चाँडै घर भएकाे जग्गाकाे लालपूर्जा देला भन्ने आस थियो” कार्यक्रममा सहभागी भङ्गाहा-४ थारुटाेल बनराका ७० वर्षीय रामधारी सिंह थारुले भन्नुभयाे, ”उल्टै घर उठिबासकाे त्रास पाे फैलायाे ।”
पछिल्ला केही दिनयता मुलुकका कतिपय ठाउँमा सुकुम्बासी बस्ती भत्काउने र बस्ती खाली गर्न सरकारी उर्दी जारी भएपछि जताततै त्रास फैलिएकाे मञ्चका केन्द्रीय महासचिब फाैदसिंह स्याङ्वाले बताउनुभयाे ।
”वर्षाैवर्षदेखि घरझुप्रामा ओत लागेका बस्तीमा रुवाबासी छ” बर्दिबास-२ कै बासिन्दा स्याङ्वा भन्नुहुन्छ, ”बर्खाकाे मुखमा अब के हुने हाे भन्ने गरिब बस्तीमा त्रास छ ।” सरकारलाई याे अवस्था देखाउन/ बुझाउन प्रदर्शन आयोजना गर्नु परेकाे स्याङ्वाकाे भनाइ छ ।
ससाना दुधे बालक काखी च्यापेर प्रदर्शनमा सहभागी भएका महिलाले बर्षाैवर्षदेखि बसाेबास गरेकाे थलाेकाे लालपूर्जा पाउन सट्टा सरकारले आतङ्क फैलाएकाे बताएका छन् ।
जिल्लाका कैयाै ठाउँमा भूमिहीन सुकुम्बासीकाे पहिचान गरेर जग्गा दर्ताका प्रकृयाका काम केही बढेपनि लालपूर्जा भने धेरैले पाएका छैनन् । यसैगरी अव्यवस्थित बसाेबासी , भूमिहीन दलित र सुकुम्बासीकाे जग्गा पाउने सम्बैधानिक हककाे सम्बाेधनकाे सट्टा अहिलेकाे सरकारले उठिबास लगाउने आतङ्क फैलाएपछि अब आन्दोलनको बाटाेमा बढ्न परेकाे मञ्चका जिल्ला अध्यक्ष नेत्रबहादुर (बलराम) कार्की बताउनुहुन्छ ।

मञ्चले याे प्रदर्शनलाई ‘खबरदारी’ गरिएकाे जनाएका छन् । मञ्चले सरकारले अविलम्ब भूमिहीन सुकुम्बासी, दलित भूमिहीन र अव्यवस्थित बसाेबासीकाे समस्या समाधानमा पहलकदमी बढाउन माग गरेकाे छ ।
सरकारले आफूहरुका मागबारे न्यायाेचित सम्बाेधन नगरेसम्म शान्तिपूर्ण आन्दोलनका कार्यक्रम बढ्दै जाने मञ्चका जिल्ला सचिब राजकुमार बस्नेतकाे भनाइ छ ।
प्रदर्शनपछि बर्दिबासकाे सिन्धुलीचाेकमा सम्पन्न सभामा मञ्चका नेताहरुले निरन्तर आन्दोलनमा जाेडिन सम्बद्ध सबैलाई अपिल गरेका छन् ।
मञ्चकाे याे प्रदर्शनप्रति नेपाली काँग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीका नेताहरुले ऐक्यबद्धता जनाएका छन् ।



