महाेत्तरी। मधेश प्रदेश स्तरीय पाेषण नीति सम्वाद तथा शिखर सम्मेलन-२०८३ नाै बुँदे प्रतिबद्धता जनाउँदै आज बिहीबार सम्पन्न भएकाे छ ।मधेश स्वास्थ्य निर्देशनालय सपही धनुषाकाे आयोजनामा गतमङ्गलबार लालगढमा सुरु भइ आज बिहीबार सम्पन्न सम्मेलनले मातृ, बाल तथा किशाेरकिशाेरीमा विद्यमान कुपाेषणकाे दरलाई घटाउन नाै बुँदे प्रतिबद्धता व्यक्त गरेकाे हाे ।

सम्मेलनले पारित गरी मधेश प्रदेशसभाका सभामुख रामअशिषयादवले प्रतिबद्धता घाेषणा गर्नुभयाे ।
सम्मेलनकाे नाै बुँदे प्रतिबद्धतामा कुपाेषणकाे अहिलेकाे दर घटाएर स्वस्थ्य मानव पुँजीकाे विकास गर्ने उल्लेख छ । यसका लागि बहुक्षेत्रीय पाेषण याेजना तेस्राे, राष्ट्रिय पाेषण रणनीति-२०७७ र मधेश प्रदेशकाे पारित दाेस्राे आवधीक याेजनाकाे सफल कार्यान्वयनमा जाेड दिइएकाे छ ।

सम्मेलनले व्यक्त गरेकाे प्रतिबद्धतामा बहुक्षेत्रीय समन्वय, स्थानीय तहकाे सकृय सहभागिता तथा समुदायमा आधारित पाेषण प्रबर्द्धन कार्यक्रममार्फत् सन् २०२९ सम्म मधेशलाई ‘पाेषण मैत्री प्रदेश’ घाेषणा गरेर पाेषणकाे दिगाेपना सुनिश्चित गरिने सङ्कल्प छ । यसैगरी पाेषणलाई मूलप्रवाहीकरण गर्दै पाेषणसम्बन्धी कृयाकलापलाई स्पष्ट बजेट काेड गर्न सङ्घीय सरकारसँग माग गरेकाे छ ।

सम्मेलनले कुपाेषण न्यूनीकरण गर्न सुनाैला हजार दिनकाे तालिकालाई कार्यान्वयनमा जाेड दिदै यसकाे प्रभावकारी अनुगमन गरिने सङ्कल्प लिएकाे छ । गर्भाधानकाे समयदेखि बच्चा दुई वर्ष हउञ्जेलकाे अवधि शारीरिक र बाैद्धिक विकासमा धेरै महत्वपूर्ण रहनेहुँदा यसकाे प्रभावकारी कार्यान्वयन महत्वपूर्ण पक्ष हुने प्रदेश सरकारका स्वास्थ्य सचिब डा. प्रमाेदकुमार यादवकाे भनाइ छ ।

यसै अवधिभित्र बच्चाकाे ८० प्रतिशत बाैद्धिक विकास हुनेहुँदा सम्मेलनले यसलाई महत्वका साथ उठाएकाे डा. यादव बताउनुहुन्छ ।
सम्मेलनले पाेषणका लागि खाद्य विविधिकरणका लागि रैथाने पाेषणयुक्त खाद्य पदार्थकाे उपभाेगलाई प्रबर्द्धन गरिने प्रतिबद्धता जनाएकाे छ । यसका लागि परिवारकेन्द्रित स्वास्थ्य तथा पाेषण कार्यक्रमलाई दृढतापूर्वक बढाइने मधेश स्वास्थ्य निर्देशनालयका निर्देशक सराेजचन्द्र न्याैपानेले स्पष्ट पार्नुभयाे ।
सम्मेलनले स्थानीय पाेषणयुक्त खाद्यान्नलाई प्रबर्द्धन गर्दै पाैष्टिक बालआहार उत्पादन गर्ने, पाेषण पुनःस्थापना केन्द्र र बहिरङ्ग उपचार केन्द्रकाे विस्तार गरिने सङ्कल्प लिएकाे छ ।

गुणस्तरीय स्वास्थ्य तथा पाेषण सेवा प्रवाह सुनिश्चित गर्न दक्ष जनशक्ति व्यवस्थापन र यसकाे प्रभावकारी सुपरीवेक्षण प्रणाली सुदृढ गर्न प्रदेशकाे स्वास्थ्य निर्देशनालयअन्तर्गत खाद्य तथा पाेषण सुरक्षा अनुगमन महाशाखा बनाइने सम्मेलनले प्रतिबद्धता जनाएकाे छ ।

कुपाेषणका कारण हुने पुड्काेपन, कम ताैल र रक्तअल्पताकाे समस्या मधेशमा विकराल छ । यहाँ पुड्काेपन २९.३, ख्याउटेपन १०.१, कम ताैल २६.८ र रक्तअल्पता ५०.६ प्रतिशत रहेकाे हुँदा यसकाे न्यूनीकरणका लागि विशेष प्रतिबद्धता व्यक्त गरिएकाे निर्देशनालयका निर्देशक न्याैपानेकाे भनाइ छ ।


२०८३ बैशाख ३१, बिहीबार २१:३४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय