AI द्वारा निर्माण गरिएको सांकेतिक तस्वीर

महोत्तरी, २० जेठ ।

आम रुपमा मधेशमा महिलाको गणना चुल्होचौकाको काममा मात्र गनिन्छ भन्ने गुनासो सुनिन्छ । तर पछिल्ला समयमा मधेशका महिलाले सहकारीका माध्यमले कृषि क्षेत्रका कामबाटै आफूलाई सामाजिक र आर्थिक क्षेत्रमा सफल उद्यमीका रुपमा उभ्याएका छन् । महिलामात्र आबद्ध महिला सामाजिक उद्यमी सहकारी मधेशमा स्थापित मानिन्छन् ।

मधेशका महोत्तरी, धनुषा, सर्लाही, रौतहट, सिरहा र बारासहित छ जिल्लामा महिला सामाजिक उद्यमी सहकारीमा आबद्ध महिलाले पशुपालन, तरकारी खेती र कृषि उत्पादनकै बेचविखन गरिने पसल संस्थागत रुपमा सञ्चालन गरेर सफल उद्यमीको परिचय बनाएका छन् । महिलालाई यो कार्यमा अन्तर्राष्टिय सामाजिक संस्था हेफर इण्टरनेशनलले सहयोग र उत्प्रेरणा गर्दै आएको छ ।

“जिन्दगीमा चुल्होचौकाभन्दा बाहिर पनि संसार छ भन्ने हामीलाई लाग्दैनथ्यो, हेफरले हाम्रो आँखा खोली दियो” महोत्तरीको बर्दिबास–१० र ११ को खयरमारा सेरोफेरोलाई कार्यक्षेत्र बनाएको ज्योति महिला सामाजिक उद्यमी सहकारी बर्दिबास–११ का अध्यक्ष चनावती श्रेष्ठ भन्नुहुन्छ, “अहिले हामीलाई काम भ्याइनभ्याइ छन् ।” यो सहकारीले दूधका लागि गाई/भैंसीपालन, बाख्रापालन , बङ्गुरपालन, उपभोक्ता पसल सञ्चालन गर्दै आएको छ । समूहले पशुपालनलाई प्रबद्र्धन गर्न जई, मेण्डोला, स्टाइलो, नेपियर र डालेघाँसको बीउ उत्पादन गर्दै आएको छ ।

“हामीले यो वर्ष एक हजार बढी खसी बेची सकेका छौं, हाम्रो सहकारीभित्र अहिले तीन हजार बढी खसी छन्‌” ज्योति महिला सामाजिक उद्यमी सहकारीका सचिब सरस्वती विश्वकर्मा भन्नुहुन्छ, “खयरमारामा पर्ने दुबै वडाभित्र १० भन्दा बढी बस्ती छन् , सबै बस्तीका महिला अहिले सहकारीमा आबद्ध हुने क्रम बढ्दो छ ।” सुरुमा २५ जना महिलाले सुरु गरेका यो सहकारीमा अहिले एक हजार ३७८ सेयर सदस्य पुगेका छन् । सहकारीको कार्यसमितिको नियमित बैठक, साधारणसभालगायतका गतिविधिमा सरिकता बढ्दै जाँदा अब यहाँका महिलाको विभिन्न क्षेत्रका स्थानीय विकासका सरोकारमा सहभागिता बढ्दै गएको बर्दिबास नगरपालिकाका उपप्रमुख तारादेवी महतो बताउनुहुन्छ ।

यसैगरी सर्लाहीको हरिपुर महिला सामाजिक उद्यमी सहकारी हरिपुरले दूध उत्पादनका लागि आफ्‌ना सदस्यलाई भैंसीपालनमा ऋण सहयोग गरेको छ । यो सहकारीले अहिले दूध सङ्कलन गर्न पाँच ठाउँ केन्द्र बनाएको छ । २०६७ सालमा स्थापित यस सहकारीमा अहिले ८७४ जना सेयर सदस्य छन् । सहकारीको कूल कारोबार सात करोड नाघेको छ । सेयर सदस्यको बचत नै तीन करोड नौ लाख २८ हजार रहेको अध्यक्ष मञ्जु चौधरी थारु बताउनुहुन्छ ।

“हाम्रो सहकारीमा दूधका लागि भैंसी पालन गर्ने र बाख्रापालन गर्ने सदस्यले मुख्य काम बनाएका छन्‌” चौधरी भन्नुहुन्छ, “यसपालि भर्खरै केही दिनअघि सम्पन्न इस्लाम धर्मावलम्बीको बकर ईद पर्वमा दुई हजार ५०० खसी बेचिएको छ ।” सोअघि गत फागु पर्व र दसैंमा गरी तीन हजार खसी बेचिएको उहाँले बताउनुभयो । यो सहकारीले आफ्‌ना सदस्यको घरमा हुने दूध किनेर विभिन्न परिकार बनाइ बिक्री वितरण गर्ने गरेको छ । यसरी कृषि कार्यमा जुटेका महिलाको आर्जन निरन्तर बढ्दै गएको उहाँको भनाइ छ ।

यस्तै सर्लाहीकै लालबन्दी–१६ न्यू उदय महिला सामाजिक उद्यमी सहकारीमा त यसका १० भन्दा बढी सदस्यले दूध उत्पादनका लागि गाई, भैंसीपालनको कृषि फार्म नै सञ्चालन गरेका छन् । २०७८ सालमा २५ जनाले सुरु गरेका यो सहकारीमा अहिले एक हजार ३० सेयर सदस्य पुगेका छन् । विदेशबाट फर्केका युवालाई कृषि कार्यमा जोड्न विशेष योजनासाथ लागिएको यस सहकारीकी व्यवस्थापक शर्मिला मोक्तान बताउनुहुन्छ । यो सहकारीका सदस्यले पछिल्लो एक महिनाभित्र एक हजार २०० खसी बेचेको मोक्तानको भनाइ छ । यसैगरी यो सहकारीले ८०० लिटरसम्म दूध सङ्कलन गरेर दूधजन्य परिकारको उद्योग सञ्चालन गरेको छ ।

यस्तै रौतहटको गजुरा–३ का महिलाले आरम्भ महिला सामाजिक उद्यमी सहकारी सञ्चालन गरेका छन् । यो सहकारीले खसीपालन, मासु बिक्री वितरण र निगुरोको साग (मुन्टा) बिक्री वितरण गरेर प्रसस्त आर्जन गर्दैछ । अहिले ३५४ जना महिला आबद्ध यो सहकारीले चालु आर्थिक वर्ष २०८२/०८३ को हालसम्मको अवधिमा दुई हजार ५०० खसी बिक्री गरेको अध्यक्ष पूनम चौधरी थारुले बताउनुभयो ।

महिलाको सहकारीमार्फत् कृषि कार्यमा बढ्दो चासोमा घरका परिवारजनको राम्रो साथ सहयोग पाइने गरिएको उद्यमी महिलाको अनुभव छ । अवसर र सहयोग मिल्नसके महिलाले जस्तोसुकै कामपनि व्यवस्थित रुपले गर्नसक्छन् भन्ने मधेशका महिला सामाजिक उद्यमी सहकारीमा आबद्ध महिलाले चरितार्थ गरेका बर्दिबास–११ खयरमाराका सामाजिक अगुवा चन्द्रलाल गौतम बताउनुहुन्छ ।

हेफर इण्टरनेशनलले सहकारीमा आबद्ध महिलालाई व्यवसाय विस्तार र दिगोपनाका लागि आवश्यक साझेदारी र लगानीका अवसर खोज्न सहयोग समन्वय गर्दै आएको छ । हेफरको जनकपुरस्थित क्षेत्रीय कार्यालयले पूर्वी नेपालका १२ जिल्लाका महिला सामाजिक उद्यमी सहकारीलाई सहयोग समन्वय गर्दै आएको छ । यिमध्ये मधेशका छ जिल्ला छन् । अन्य जिल्लामा वागमती प्रदेशका चार र कोशी प्रदेशका दुई जिल्ला रहेका हेफर इण्टरनेशनल जनकपुर क्षेत्रीय कार्यालयका प्रमुख दिपेश पोखरेलले जानकारी दिनुभयो ।

मधेशका महिला सामाजिक उद्यमी सहकारीहरुको समीक्षा र मूल्याङ्कनसहितको मङ्गलबार बर्दिबासमा सम्पन्न योजना तथा लगानी सम्मेलनमा सहकारी प्रतिनिधिले हालसम्मको कामको समीक्षा गर्नसँगै भावी योजना पनि प्रस्तुत गरेका छन् । सम्मेलनको मुख्य ध्येय यी सहकारीहरुको व्यवसाय वृद्धि योजना तयार गर्ने, नवीन सोच र उद्यमशीलता विकास गर्ने र लगानीकर्तासम्म प्रभावकारी पहुँच बढाउने रहेको महिला सामाजिक उद्यमी सञ्जाल वागमती प्रदेश उपाध्यक्ष होमकुमारी ठकुरीले स्पष्ट पार्नुभयो ।

हेफरको जनकपुर क्षेत्रीय कार्यालयको समन्वयमा रहेका १२ जिल्लाका महिला सामाजिक उद्यमी सहकारीमा ६२ हजार महिला आबद्ध छन् । यो सङ्ख्याभित्र मधेशका २० हजार बढी महिला आबद्ध रहेका क्षेत्रीय कार्यालय प्रमुख पोखरेलको भनाइ छ । यी सहकारीमा महिलाले देखाएका तत्परता र गरेका कामको उपलब्धी साँच्चै हौसला बढाउने तहको भएको हेफर क्षेत्रीय कार्यालय जनकपुरको मूल्याङ्कन छ ।

उद्यमी महिलाले घर, परिवार, समाज र यहाँका निकायबाट सकारात्मक सहयोग र समन्वय पाउनसके सहकारीका माध्यमबाट निकै उपलब्धी हासिल हुने सामाजिक आन्दोलनकी नेतृ बर्दिबास–३ का बासिन्दा सरस्वती चौधरीको प्रतिकृया छ ।


२०८३ जेष्ठ २०, बुधबार १५:३८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय