महोत्तरी, ३ असार,

महोत्तरीको धार्मिक नगरी मानिएको मटिहानी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४७ करोडमाथिको बजेट प्रस्तुत गरेको छ । आज बुधबार आयोजित नगरको १७ औं नगरसभामा नगरप्रमुख हरिप्रसाद मण्डलले आगामी वर्षको नीति तथा कार्यक्रमसहित् ४७ करोड ५० लाखको अनुमानित आयव्ययको बजेट प्रस्तुत गर्नु भएको हो ।

प्रस्तुत बजेटमा राजश्व बाँडफाँडतर्फबाट १० करोड ५७ लाख, सङ्घीय सरकारबाट विभिन्न शिर्षकमा २८ करोड ८८ लाख, प्रदेश सरकारबाट एक करोड ४९ लाख ९५ हजार र आन्तरिक स्रोतबाट छ करोड ५६ लाख गरी कूल ४७ करोड ५० लाख ९५ हजारको अनुमानित आयव्यय हुने उल्लेख छ ।

नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख मण्डलले कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखिएको बताउनुभयो । प्राचीन मिथिलाको संस्कृति र कलाको मुख्य केन्द्र मानिने मटिहानीको धार्मिक, ऐतिहासिक र पर्यटकीय विकासका क्षेत्रका कामलाई अझ उजागर गरिने नीति तथा कार्यक्रममा प्रतिबद्धता जनाइएको छ । १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीयतह रहेको जिल्लामा आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने मटिहानी पहिलो स्थानीयतह बनेको छ ।

मुलुकभरिकै मठहरुको नायक मठ मानिने लक्ष्मीनारायण मठ, लक्ष्मीनारायण मन्दिर, मुलुककै जेठो विद्यालय राजकीय संस्कृत माध्यमिक विद्यालय (गुरुकुल) , स्नातकोत्तर तहसम्मको अध्ययन अध्यापन हुने याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठ र अघि त्रेता युगमा रामसीताको विवाहका लागि यज्ञवेदी बनाइन माटो खनिएको मानिने लक्ष्मीसागर यहाँका धार्मिक, पौराणिक र शैक्षिक सम्पदा रहेका छन् ।

 


२०८३ असार ३, बुधबार २०:००मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय