Photo: BG Media

बर्दिबास (महोत्तरी), ६ असार ,

बर्दिबास नगर क्षेत्रका अव्यवस्थित बसोबासी र सुकुम्बासीले अब प्रारम्भिक प्रमाणका रुपमा सेतो पुर्जा (घरजग्गाको भोगाधिकार निस्सा) पाउने भएका छन् । बर्दिबास नगर कार्यपालिकाको कार्यालयले वर्षौवर्षदेखि ऐलानी, पर्ती जग्गामा घर बनाएर बसेका अव्यवस्थित बसोबासी र सुकुम्बासीलाई बसोबास र जग्गाको भोगाधिकार प्रमाणित गर्दै सेतो पुर्जा दिने प्रकृया थालेको हो । यो कार्यबाट बर्दिबास नगर क्षेत्रका १० हजार २९८ परिवार अव्यवस्थित बसोबासी र सुकुम्बासीले पहिलोपल्ट आफ्‌नो घरजग्गाको प्रारम्भिक निस्सा पाउने भएका छन् ।

नगर क्षेत्रमा यसअघि तत्कालीन भूमि समस्या समाधान आयोगसँगको समन्वयमा भएको नापजाँचमा १० हजार २९८ घरपरिवार सुकुम्बासी र अव्यवस्थित बसोबासी रहेका तथ्याङ्क अद्यावधिक गरिएको थियो । अब यही सङ्ख्याभित्रका भोगमा कतै कुनै विवाद नपाइएका घरपरिवारलाई सेतो पुर्जा दिएर भोगाधिकार दिने प्रकृया थालिएको नगरप्रमुख प्रहलादकुमार क्षत्रीले जानकारी दिनुभयो ।

“कैयौं पुस्तादेखि बसोबास गर्दै आएका अव्यवस्थित बसोबासी र सुकुम्बासीलाई केहीनकेही आधार दिनै पर्थ्यो” नगरप्रमुख क्षत्रीले भन्नुभयो, “यसपालि गत मङ्गलबार आयोजित नगरपालिकाको १८ औं नगरसभामा हामीले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम र बजेट वक्तव्यमै यो विषय समावेस गरेर प्रकृया अघि बढाएका छौं ।” अब आगामी आर्थिक वर्षभित्रै यो सेतो पुर्जा बाँड्ने काम सम्पन्न गरिने क्षत्रीको प्रतिबद्धता छ ।

बर्दिबास नगरक्षेत्रका १४ वटै वडा बस्तीहरुमा अव्यवस्थित बसोबासी र सुकुम्बासी बसोबास गर्दै आएका छन् । जिल्लाको पूरै चुरे क्षेत्र ओगटेको नगरक्षेत्रमा चुरे पाहाडी काछका बस्तीमा यस्ता बसोबासी बढी छन् । जसमा सबैभन्दा बढी बर्दिबास–३ मा तीन हजार ३०८ परिवार छन् । यो वडा क्षेत्र चुरे पाहाडी काछमा छ ।

नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रममा जग्गा भोगसम्बन्धी कुनै विवाद नदेखिएको वा नभएको र यसअघि आयोगको समन्वयमा बसोबास भएको घरजग्गा नापनक्सा भइसकेका बसोबासीको हकमा सेतो पुर्जा वितरण गरिने उल्लेख छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा नेपालको सम्बिधानको अनुसूची–८ ले स्थानीयतहलाई भूमि व्यवस्थापनसम्बन्धी प्रदान गरेको अधिकार क्षेत्रमा रही नगरपालिकाले सेतो निस्सा वितरण गर्ने प्रकृया सुरु गरिएको जनाएको छ । भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको यकिन विवरण तथा नापजाँच प्रमाणीकरण, स्थानीय नक्साङ्कन , भू–सूचना व्यवस्थापन तथा जग्गासम्बन्धी अभिलेख राख्ने अधिकार स्थानीयतहलाई भएबमोजिम यो काम थालिएको नगरप्रमुख क्षत्रीको भनाइ छ ।

नगरपालिकाले भोग प्रमाणका आधारमा सेतो निस्सा प्रदान गरेपनि जग्गाको स्थायी निस्सा (लालपुर्जा) प्रदानको अधिकार भने सङ्घीय निकायअन्तर्गत नै रहने कानुनी व्यवस्था छ । लालपुर्जा प्रदान गर्ने अधिकार नभएपनि जग्गाको लगत सङ्कलन एबं भोगाधिकार प्रमाणीकरणका लागि आवश्यक कार्यविधि बनाएर काम गर्न सक्ने कानुनी व्यवस्थाअनुसार अहिले सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई भोग निस्सा दिने निर्णय गरिएको नगर कार्यपालिकाको कार्यालयले स्पष्ट पारेको छ ।

नगरपालिकाको १८ औं नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रम एबं बजेट वक्तव्यको ‘विद्युत्, सिँचाइ, खानेपानी तथा भूमि’ शीर्षकको पहिलो बुँदामै भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई आर्थिक वर्ष २०८३/०८४ भित्रै भोगाधिकारको सेतो निस्सा उपलब्ध गराइने उल्लेख छ । यसले वर्र्षौैवर्षदेखि बसोबासको जग्गाको कुनै निस्सा नभएका हरुका लागि पछि स्थायी निस्सा प्राप्त गर्ने एउटा आधार बन्ने अपेक्षा गरिएको छ ।

यता अव्यवस्थित बसोबासी र सुकुम्बासी भने अहिलेको सेतो निस्साको कुराले लालपुर्जा पाउने दिन अझै पर पुगेको ठानेर निरासा व्यक्त गर्छन् । तर यो सेतो निस्साले पछिसम्म बसोबासको एउटा प्रमाण बन्ने अव्यवस्थित बसोबासी र सुकुम्बासीलाई झिनो आस छ । “घरजग्गा भएको ठाउँको लालपुर्जा पाइने आसमा बाजे, बाबु बिते, आफू पनि ७० वर्ष टेक्नै लागियो , त्यो पुर्जा पाउने दिन भने आफ्‌नो जिन्दगीमा पनि नपाइने भयो” बर्दिबास–२ बुद्धचोकका सामाजिक अगुवा मकरलाल विश्वकर्मा भन्नुहुन्छ, “बल्ल अहिले सेतो पुर्जाको कुरा सुनिदैछ, खै यो पनि कहिले हो ?” सेतो पुर्जा नै पाएपनि भोग प्रमाणित भएर लालपुर्जा पाइन्थ्यो कि भन्ने विश्वकर्मासहितका अव्यवस्थित बसोबासी र सुकुम्बासीले झिनो आस सँगालेका छन् । विश्वकर्मा आफैं अव्यवस्थित बसोबासी हुनुहुन्छ ।

बर्दिबास जिल्लाभरिमै सङ्कलित तथ्याङ्कअनुसार सबैभन्दा बढी अव्यवस्थित बसोबासी र सुकुम्बासी भएका स्थानीयतहमा पर्छ । बर्दिबास नगर क्षेत्रमा आयोगको समन्वयमा यसअघि सङ्कलित विवरणअनुसार अद्यावधिक गरिएका अव्यवस्थित बसोबासीको सङ्ख्या नै अहिले नगरपालिकाले बढाएको प्रकृयाभित्र वास्तविक सुकुम्बासी र अव्यवस्थित बसोबासीले कमसेकम सेतो निस्सा नै पाएपनि एउटा बलियो आधार बन्ने विगतमा जिल्लाको सुकुम्बासी समस्या समाधान आयोगको अध्यक्ष रहीसक्नु भएका बर्दिबास–१ का बासिन्दा भानुभक्त पोखरेल बताउनुहुन्छ ।


२०८३ असार ६, शनिबार १३:३०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय