बर्दिबास (महाेत्तरी) २० असार ।
महाेत्तरीकाे बर्दिबास नगरपालिका साक्षर नगर घाेषणा भएकाे छ । शनिबार एक समाराेहबीच मधेश प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री शारदा थापाले साक्षरताका न्युनतम मापदण्ड पूरा गरेपछि बर्दिबास साक्षर नगर भएकाे घाेषणा गर्नुभयाे ।
विद्यालय जानेबाहेक १५ देखि ६० वर्ष उमेर समूहभित्रका ९५ प्रतिशत सम्बद्ध स्थानीयतहका बासिन्दा साक्षर भएपछि यस्ताे घाेषणा गरिने व्यवस्था छ । साक्षरताका १२ सूचकमध्ये बर्दिबासले छ सूचक पूरा गरेकाे कार्यक्रममा नगर कार्यपालिकाकाे कार्यालयकाे शिक्षा शाखाका प्रमुख रेवतीप्रसाद पराजुलीले जानकारी दिनुभयाे । नगरकाे जम्मा ७५ हजार जनसङ्ख्यामध्ये २५ हजार नगरक्षेत्रका ८० विद्यालयमा औपचरिक शिक्षामा जाेडिएका उहाँकाे भनाइ छ । यसैगरि १५ देखि ६० वर्ष उमेर समूहभित्रका ४६ हजार ५२६ जनामध्ये ४५ हजार ३३२ जनाले साक्षरताकाे मापदण्ड पूरा गरेका छन् । याे ९७.४१ प्रतिशत साक्षरता परिणाम भएकाे पराजुलीले स्पष्ट पार्नुभयाे ।

बर्दिबास जिल्लामा भूगाेल र जनसङ्ख्या दुबै दृष्टिले ठूलाे नगरक्षेत्र छ । यस नगरका १४ वडाभित्र ६० भन्दाबढी टाेलबस्ती छन् ।
जिल्लामा साक्षर घाेषणा भएकाे बर्दिबास चाैथाे स्थानीयतह हाे । यसअघि गत बुधबार मनराशिशवा नगरपालिका साक्षर घाेषणा गरिएकाे थियाे । साेअघि नै मटिहानी र जलेश्वर नगरपालिका साक्षर घाेषणा भइसकेका छन् ।
पछिल्लाे समयमा जिल्लाका स्थानीयतहहरुले साक्षरता कार्यक्रमलाई अभियानका रुपमा बढाएका शिक्षा विकास तथा समन्वय इकाई महाेत्तरी कार्यालयका प्रमुख निर्मल घिमिरेले बताउनुभयाे । आउने आर्थिक वर्ष २०८३/०८४ भित्र जिल्लाका ६० प्रतिशत स्थानीयतहले साक्षर घाेषणाकाे तयारीसाथ साक्षरता अभियान बढाएका घिमिरेकाे भनाइ छ । जिल्लामा १० नगरपालिका र पाँच गाउँपालिकासहित जम्मा १५ स्थानीयतह छन् ।


