महाेत्तरी, २२ साउन ।
प्राचीन संस्कृत भाषा र साहित्य साधनाकाे केन्द्र मानिने महाेत्तरीकाे मटिहानीस्थित शङ्कर आदर्श पुस्तकालय फेरि लयमा फर्कने आस जागेकाे छ ।
पाँच दशकअघि विक्रम सम्वत् २०३३ सालमा मटिहानीस्थित गुरुकुल (राजकीय संस्कृत माध्यमिक विद्यालय) मा अध्ययन गर्ने पर्वतीय वटुकले स्थापना गरेका याे पुस्तकालय अहिले भाैतिक संशाधन जुट्नसँगै गुरुकुल प्रशासनले बढाएकाे पुस्तक सङ्ग्रह अभियानले फेरि लयमा फर्कने आस बढेकाे हाे ।
‘ याे पुस्तकालयका लागि मधेश प्रदेश सरकारको सहयोगमा नयाँ भवन निर्माणकाे काम अन्तिम चरणमा छ’ मटिहानीका नगर प्रमुख हरिप्रसाद मण्डल भन्नुहुन्छ, ‘गुरुकुलका प्रधानाध्यापक निरन्तर पुस्तक सङ्ग्रहकाे अभियानमा हुनुहुन्छ, याे पुस्तकालय फेरि बाैद्धिक सम्पदाका रुपमा विकास हुने आस जागेकाे छ ।’
पुस्तकालयलाई समृद्ध बनाउने अभियानमा सञ्चालित पुस्तक सङ्ग्रहकाे काम उत्साहवर्धक रहेकाे गुरुकुलका प्रधानाध्यापक ईश्वरी पाैडेलकाे कथन छ । ‘हाम्राे अपिललाई सबैतिरबाट सद्भाव प्राप्त भएकाे छ, मुलुकका विभिन्न क्षेत्रमा कार्यरत् शिक्षाविद् , प्रकाशक, अन्वेषक, लेखक र साहित्य साधकसहितका शुभेच्छुकबाट पुस्तक प्राप्त भइरहेका छन्’ प्रधानाध्यापक पाैडेल भन्नुहुन्छ, ‘अभियानमा प्राप्त सहयाेग र सकारात्मक चासाेले हाम्राे हाैसला बढेकाे छ ।’ यस अभियानमा प्राध्यापक अच्युतप्रसाद लामिछाने र मोहन पोख्रेलबाट विभिन्न विधाका पुस्तक प्राप्त भएका उहाँकाे भनाइ छ ।
यसैगरी अभियानमा वाल्मिकी विद्यापिठका शिक्षक दीपक घिमिरे, प्रशासन शाखाका टेकनाथ पाण्डे , शुभेच्छुक विदुर पाैडेल , सहप्राध्यापक प्रकाश तिवारी र पशुपतिका पूर्वभट्ट तथा लेखक डा. विष्णुप्रसाद दाहालबाट संस्कृत र अन्य भाषाका विभिन्न विधाका पुस्तक र अन्य सहयाेग प्राप्त भएकाे पाैडेलले बताउनुभयाे ।
यसैगरी अस्मिता प्रकाशनका तर्फबाट निर्देशक प्रतिमा शर्माले करिब १० हजार बराबरका कक्षा ११ र १२ का पाठ्यपुस्तक तथा प्रश्नपत्र सङ्ग्रह पुस्तकालयलाई प्रदान गर्नुभएकाे छ ।
यस अभियानमा गुरुकुलका शिक्षकवृन्द र शिष्यहरु पनि जुटेका छन् ।
‘हामीले एकै दिनमा १०४ वटा विभिन्न विधाका पुस्तक दानमा पाएका छाैं, प्राप्त पुस्तक सङ्ग्रह अभियानमा शिष्यद्वय कौशल भट्टराई र घनश्याम भट्टराईकाे दरिलाे साथ पाइएकाे छ’ पाैडेल भन्नुहुन्छ, ‘अभियानमा सबैतिरबाट पाएकाे चासाे र सहयाेगले समृद्ध पुस्तकालय बन्ने विश्वास जागेकाे छ ।’ शङ्कर आदर्श पुस्तकालयलाई अध्ययन, अनुसन्धान र ज्ञानको समृद्ध केन्द्रका रूपमा विकास गर्ने सङ्कल्पमा गुरुकूलले शिक्षाप्रेमी, लेखक, प्रकाशक, पूर्वविद्यार्थी तथा शुभेच्छुकलाई साथ सहयाेगका लागि सार्वजनिक अपिल गरेकाे छ।
पुस्तकालयको इतिहास संरक्षणसँगै नयाँ पुस्तामा अध्ययन संस्कृतिको विकास गर्ने उद्देश्यले सञ्चालन गरिएको यो अभियानलाई शिक्षा र संस्कृतिको संरक्षणतर्फको महत्वपूर्ण प्रयासका रूपमा शिक्षाविद्ले औल्याएका छन् ।



