गोविन्द महतो
जनकपुरधाम, भदौ ।

समयको गति पूजाका लागि मानो ठप्प भएको छ। भोटेकोशीको विनाशकारी बाढी(पहिरोमा आफ्ना ३० वर्षीय इन्जिनियर श्रीमान् अजयप्रसाद सिंह हराएको आज आठ दिन बित्यो। तर, एक विवश पत्नीका लागि यी आठ दिन आठ वर्षभन्दा पनि लामा, बोझिला र कहालीलाग्दा बनेका छन्।
आँखाका आँसु रुँदारुँदै सुकिसके, तर मनको कुनै कुनामा उब्जिएको आशाको धमिलो किरण भने अझै निभेको छैन। घरको आँगनमा कसैको पदचाप सुन्नासाथ पूजा झस्किन्छिन्, मुटुको धड्कन तीव्र हुन्छ—”सायद श्रीमान्को कुनै खबर आयो कि ?”

जनकपुरधामस्थित घरमा सान्त्वना दिन छिमेकी र आफन्तको बाक्लो उपस्थिति छ। तर, सान्त्वनाका शब्दहरूले पूजाको अत्तालिएको मनलाई शान्त पार्न सकेका छैनन्। साँझ पर्दा बस्तीमा बत्ती त बल्छ, तर अजयविहीन घरमा पूजाका लागि त्यो उज्यालो पनि प्रगाढ अन्धकारसरह छ।
हातमा मोबाइल समातेर दिन–रात टोलाइरहने पूजा निरन्तर एउटै प्रार्थना दोहोर्‍याउँछिन्, ”भगवान्, अरू केही चाहिन्न , केवल उहाँको ”म ठीक छुु भन्ने एउटा फोन कल मात्र सुनाइदेऊ ।”

८ः३९ को त्यो अन्तिम फोन संवाद
धनुषाको कमला नगरपालिकाका ३० वर्षीय इन्जिनियर अजयकुमार सिंह डोसान हाइड्रोपावरको अप्पर त्रिशुली–१ (२१६ मेगावाट) मा कार्यरत थिए । गत भदौ १० गते बुधबार भोटेकोशीमा उर्लिएर आएको भिषण बाढीले उनको कार्यस्थल र क्याम्पलाई प्रभावित पारेपछि उनी एकाएक सम्पर्कविहीन भए ।
श्रीमती पुजा साहका अनुसार बुधबार बिहान ८ः३९ बजे श्रीमानसँग अन्तिम पटक फोनमा कुराकानी भएको थियो । ‘उहाँले खाजा खाँदै गर्दा मसँग कुरा गर्नुभएको थियो, ‘त्यो पल सम्झिँदै पुजा भन्छिन्, ‘त्यतिबेला उहाँ डोसान क्याम्पमै हुनुहुन्थ्यो।’

अजयका साथीहरुसँगको सम्पर्कबाट खुले अनुसार त्रिशुली छेउको क्याम्पमा कार्यरत अन्य कर्मचारी तथा व्यक्तिहरु पनि बाढीपछि सम्पर्क बाहिर छन् । कतिपयले उनी टनेलमा थुनिएको हुनसक्ने अड्कलबाजी गरे पनि पुजा भने फोन संवादको आधारमा श्रीमान् क्याम्पमै भएको दाबी गर्छिन् ।


पिडा र वेदना
कम्पनीको फितलो व्यवस्थापन र उद्धारमा भएको ढिलाइले पीडित परिवारलाई झनै मर्महत बनाएको छ । ‘डोसान कम्पनीले आफ्ना कर्मचारीहरुको आधिकारिक विवरण सम्म दिन सकेको छैन,‘भावुक हुँदै पुजा आक्रोश पोख्छिन्, ‘आजसम्म पनि उद्धारको कुरा त के, ‘सरकारले अनुमति दिँदैन’ भन्दै पन्छिन्छन् । अब हामी पीडितले के गर्ने ? कसैको केही रेकर्ड छैन । अब के हुन्छ ? यो पीडा कहिलेसम्म सहने ? हे भगवान्, केही त उपाय देउ ! कसैले त सहयोग गरिदेऊ !’

‘आजको दिन पनि बित्यो, तर अहिलेसम्म कुनै खबर आएन । हे भगवान्, अब धेरै परीक्षा नलिनुहोस… मेरो संसारलाई जहाँ भए पनि सुरक्षित राखिदिनुहोस् र चाँडै सकुशल मेरो सामुन्ने फर्काइदिनुहोस् ।’ पुजाले सोमवार समाजिक सञ्जालमा लेखेकी छिन, ‘मेरो मनले हरेक पल उहाँकै बाटो हेरिरहेको छ । हे भगवान्, मेरो संसारलाई चाँडै मेरो काखमा फर्काइदिनुहोस् ।’

उनी भावकु हुँदै कति समय लाग्छ अझै ? प्रतीक्षा गर्दागर्दै आँसु पनि सुकिसके, अब त साहस र धैर्य गर्ने शक्ति पनि दिनदिनै घट्दै गएको महसुस भइरहेको छ । भगवान्, जहाँ भए पनि मेरो श्रीमानलाई सुरक्षित राखिदिनुहोस् । अब धेरै केही चाहिँदैन, उहाँको एउटा फोन कल मात्र सुनाइदिनुहोस् । छिट्टै फर्केर आउनु है… तिम्रो प्रतीक्षामा बितेका हरेक पल अब धेरै भारी हुँदै गएका छन् । यो प्रतीक्षाको समय छिट्टै सकियोस् र फेरि मेरो संसार मेरो अगाडि सुरक्षित भएर आओस् । अजय र पुजाको १ वर्षअघि विवाह भएको थियो । उनीहरुको १ महिने काँखे छोरी समेत छ ।


२०८३ भाद्र १७, बुधबार १६:०१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय