वीरगंज : पर्साको सदरमुकाम वीरगंज र ग्रामीण भेगबाट चोरी हुने मोटरसाइकल र मोबाइलको घटनामा पर्सा प्रहरी आफै आजित रहेको बुझिएको छ। पर्सा प्रहरीले आयोजना गरेको पत्रकार भेटघाटमा पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले यस्तो बताएका हुन्। उनले मोटरसाइकल र मोबाइल चोरीको घटना दिन प्रतिदिन बढ्दै गएकोले पर्सा प्रहरीको लागि चुनौतीको विषय भएको चर्चा गर्दै आगामी दिनमा कसरी लगाम लगाउन सकिन्छ भन्ने विषयमा पर्सा प्रहरी गम्भीर रहेको बताए।

आपराधिक घटना, हुन्डी, तस्करी तथा शान्ति सुव्यवस्था कायम गर्न पछिल्लो समय पर्सा प्रहरी सक्रिय रहे तापनि मोबाइल र मोटरसाइकल चोरीको घटनामा प्रहरी उदासीन भएको सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै उनले आगामी दिनमा मोबाइल, मोटरसाइकल चोरहरूको सञ्जाललाई पर्दाफास गर्ने बताए। उनले सर्वसाधारणको लापरवाहीको कारण मोबाइल र मोटरसाइकल चोरी हुने गरेको तथा चोरीको मोबाइलमा सिम नहाली इन्टरनेटबाट अन्य सामाजिक सञ्जाल र गेम खेल्न प्रयोग भएकोले पनि अनुसन्धानमा कठिनाइ भएको बताए।

त्यसैगरी खुला सीमाको कारण चोरीको मोबाइल र मोटरसाइकल केही समयमा भारतीय बजारमा पुग्ने गरेकोले पनि कतिपय घटनामा प्रहरीले उपलब्धि हासिल गर्न नसकेको बताए। उनले वीरगंजमा भएको सेफर वीरगंजको सिसिटिभी क्यामेरा पनि अधिकांश बिग्रिएकाले मोटरसाइकल चोरीको घटनालाई सुक्ष्म तवरले अनुसन्धान गरी चोरीमा संलग्न पक्राउ गर्न नसकिएको स्वीकारे।

२०७७ चैत्र १२, बिहीबार ०९:१०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय