काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)ले संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा वा विपक्षमा मतदान गर्ने विषयमा आफ्ना सांसदलाई ह्विप जारी नगर्ने निर्णय गरेको छ ।

आइतवार संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईको घरमा बसेको जसपाका ६ जना पदाधिकारीहरूको बैठकले यस्तो निर्णय गरेको हो । सत्ताको खेलमा निर्णायक रहेको जसपाले गरेको निर्णय बमोजिम अब साँसदहरुले प्रधानमन्त्री ओलीको पक्षमा मतदान गरेपनि कारबाहीमा पर्ने छैन ।

जसपा नेता राजेन्द्र श्रेष्ठले पदाधिकारी बैठकबाट भोट हाल्ने अधिकार सांसदहरुलाई नै खुला गरिएको जानकारी दिए । उनका अनुसार पक्ष विपक्षमा उभिने अधिकार पनि सांसदहरुलाई दिने निर्णय भएको छ ।

जसपा अहिले दुई समूहमा विभाजित छ । अध्यक्ष महन्थ ठाकुर पक्षका साँसदहरुले प्रधानमन्त्री ओलीको पक्षमा मतदान गर्ने अडानमा छन् । तर अर्का अध्यक्ष उपेन्द्र यादव भने ओलीलाई सत्ताबाट हटाउनुपर्ने पक्षमा उभिएका छन् । यस्तोमा संसदमा विश्वासको मतले पार्टी विभाजन हुन नदिने गरी जसपाले निर्णय लिएको बुझिएको छ ।

स्रोतका अनुसार भोलि प्रधानमन्त्रीले विश्वासको मत लिँदा ठाकुर पक्षीय सांसद तटस्थ बस्ने छन् भने यादव पक्ष विपक्षमा उभिने छ । जसपा ३२ सांसदसहित अहिले सरकार फेरबदलको राजनीतिमा निर्णायक शक्ति बनेको छ ।


२०७८ बैशाख २६, आईतवार १९:३९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सोमंबुबिशु