महोत्तरी : महोत्तरीमा एक २० वर्षीया अपांग युवतीमाथि बलात्कार भएको घटना सार्वजनिक भएको छ ।

महोत्तरीको बलवा नगरपालिका वडा नं. ११ की शारीरिक र मानसिक रुपमा अस्वस्थ रहेकी (पूर्ण अशक्त, हातखुट्ट् बांगो भएको तथा हिँडडुल गर्न असमर्थ र बोल्न पनि नसक्ने) एक २० वर्षीया युवतीलाई घरमा कोही नभएको मौका छोपी ३५ वर्षीय एक पुरुषले बलात्कार गरेका छन् ।

गएको वैशाख २६ गते ठाउँ बस्ने (बल्वा नगरपालिका वडा नं. ११) निकाल टोल बस्ने ३५ वर्षीय ताहिर भनिने राजाउल्लाह शेषले ती अपांग युवतीलाई बलात्कार गरेका हुन् ।

उक्त घटनालाई गाउँका केही अगुवाहरुले गाउँमै मिलाउन पीडित परिवारलाई दबाब दिएको बताइएको छ । यद्यपि, पीडित परिवारजनले नमानेपछि आरोपी अहिले फरार भएको हो ।

घटनाबारे कुरा बाहिर आएपछि अहिले गाउँमा पीडित परिवारजनलाई गाउँमै घटना मिलाउने दबाब दिने क्रम बढेको छ । उनीहरु आफ्नो परिवार असुरक्षित भएको र न्यायको लागि पत्रकार, मानवअधिकारकर्मीहरुसँग गुहार मागिरहेका छन् ।

यता जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेशकुमार आचार्यले फरार दोषीको खोजी कार्य भइरहेको बताए । ‘गाउँमा छलफल भइसकेपछि मात्रै हामीकहाँ जानकारी गराएका रहेछन्, ढिला जानकारी प्राप्त हुँदा दोषी फरार रहेको छ,’ उनले भने ।

फरार अभियुक्तलाई पक्राउ गरेपछि अनुसन्धान सुरु हुने एसपी आचार्यको भनाइ छ । ‘बलात्कारजस्तो जघन्य अपराध त्यसमाथि अपांग भएको व्यक्तिलाई भएकाले संवेदनशील भएर लागेका छौं,’ एसपी आचार्यले थपे ।

२०७८ जेष्ठ १, शनिबार २०:५९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय