वीरगन्ज : निषेधाज्ञाका बेला तेल ट्यांकरमा लुकाएर प्रतिबन्धित गाँजा तस्करी गर्ने ट्यांकर चालक र सहचालक सवा २ क्विन्टल गाँजासहित पक्राउ परेका छन्।

पक्राउ पर्नेमा ट्यांकर चालक महोत्तरी बर्दिवास नगरपालिका–८ बस्ने घनश्याम गिरि तथा सहचालक चितवन खैरहनी नगरपालिका–२ बस्ने राजकुमार दवाडी छन्।

प्रहरी चौकी पथलैयाबाट खटेको प्रहरी टोलीले उनीहरूलाई जितपुरसिमरा उपमहानगरपालिका–१ पथलैया चोकस्थित महमद आलम साहको रामरहिम ग्यारेजमा ट्यांकरभित्र लुकाएर राखिएको गाँजासहित पक्राउ गरेको हो।

उनीहरूले काठमाडौँबाट भारतको बरौनीमा तेल जाने क्रममा ना४ ख २९७९ नम्बरको खाली ट्यांकरमा गाँजा तस्कर गरेको प्रहरीले जनाएको छ।

प्रहरीले खाली तेल ट्यांकर चेकजाँच गर्ने क्रममा ट्याङकरको च्याम्बरभित्र रातो प्लास्टिकमा पोका बनाई राखेको २ क्विन्टल १८ केजी गाँजा बरामद गरेको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

गाँजासहित पक्राउ परेका दुबै जनालाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको मिश्रले बताए।

२०७८ जेष्ठ १२, बुधबार २१:३८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय