जनकपुरधाम : प्रादेशिक अस्पताल जनकपुरमा कोरोनाका बिरामीको संख्या घटेको छ। तर, अक्सिजन माग बढ्दै गएको छ। अक्सिजन लेभल ठीक रहँदा पनि जबरजस्ती अक्सिजन लगाउन बिरामीका कुरुवाले दबाब दिने गरेका छन्। जसले गर्दा अक्सिजन माग ह्वात्तै बढेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोदकुमार यादवले बताए।

‘बिरामीको संख्यामा निकै कमी आएको छ। तर, अक्सिजनको माग बढेर सबैलाई उपलब्ध गराउन गाह्रो भएको छ’, डा. यादवले भने, ‘अक्सिजन लगाए मात्रै बिरामी निको हुने गलत मानसिकताले गर्दा सामान्य बिरामीलाई पनि अक्सिजन दिन माग गर्छन्। यस्तोमा हामी पनि असुरक्षित भइरहेका छौं । ’
अस्पतालमा गत सातासम्म दैनिक ८० जना भर्ना हुन्थे। हाल आएर ५० जना मात्रै उपचाररत छन्। बढी बिरामी हुँदाका दिन पनि १ सय ५० सिलिन्डर अक्सिजन दैनिक खपत भइरहेको थियो। तर, बिरामी कम हुँदै जाँदा पनि अक्सिजन खपत पहिलाकै अवस्थामा रहेको डा. यादवको भनाइ छ।

उनका अनुसार बिरामी कुरुवाले अक्सिजनकै लागि होहल्ला गर्छन्। स्वास्थ्यकर्मीलाई हप्काउँछन्। त्यही भएर थप सुरक्षाकर्मी परिचालन गर्न जिल्ला प्रहरी कार्यालय धनुषामा अनुरोध गरिएको उनले सुनाए।

धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले स्वास्थ्यकर्मीको सुरक्षाका लागि प्रादेशिक अस्पतालमा असईको कमान्डमा ५ जवानसहितको टोली २४सै घण्टा तैनाथ राखेकाको बताए। भने, ‘अहिले कोभिड बिरामीहरूको उपचार भइरहेको प्रत्येक अस्पतालमा प्रहरी टिमको अत्यावश्यक नम्बर उपलब्ध गराएका छौं। साथै मोटरसाइकलमा दुईवटा गस्ती टिम खटाएर कुनै प्रकारका अप्रत्याशित घटना नहोस् भन्नेमा सचेत छौं । ’

जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले अक्सिजन उत्पादनको अवस्था राम्रो नरहेको बताए। भने, ‘जनकपुरमा विराटनगरबाट अक्सिजन आपूर्ति भइरहेको थियो। तर, अहिले त्यहाँ संक्रमणदर बढेपछि आपूर्ति रोकिएको छ । ’ यही कारणले जनकपुरमा अक्सिजनको माग लिएर निकै समस्या भएको उनले बताए ।

भेटिए ब्ल्याक फंगसका बिरामी

कोरोना संक्रमितलाई प्रभाव पार्ने ब्ल्याक फंगस रोगका एक जना बिरामी धनुषामा फेला परेका छन्। करिब ६० वर्ष उमेरका कोरोना संक्रमणमुक्त भएका वृद्धमा उक्त रोग फेला परेको प्रादेशिक अस्पताल जनकपुरका मेडिकल सुपरिटेन्डेन्ट डा. यादवले बताए।
‘धनुषामा यस रोगका पहिलो बिरामी फेला परेका छन्’, डा. यादवले भने, ‘हामीले उपचार सुरु गरिसकेका छौं। तर, उहाँको अवस्था नाजुक भएको हुँदा थप उपचारका लागि धरान पठाउन लागेका छौं । ’

उनले प्रादेशिक अस्पतालमा न्युरो सर्जनलगायत यस रोगका विशेषज्ञ अभाव भएका कारण बिरामीलाई थप जटिलता आएको खण्डमा उपचार सहज होस् भनेर धरान पठाउन लागिएको बताए। अन्नपुर्णपोष्टबाट

२०७८ जेष्ठ १८, मंगलवार १३:५२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय