जनकपुरधाम :  प्रदेश २ मा कोरोनामुक्त हुनेको संख्या बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा सोमवार ४४५ जना कोरोनामुक्त भएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सोमवार ३५२ पुरुष र १०२ महिला कोरोनालाई जितेर घर फर्केकी छन् ।

सोही अवधिमा २४४ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये धनुषाकै ११३ जना छन् । अन्य जिल्लामा संक्रमण घटेपनि धनुषाको अवस्था पहिलेजस्तै रहेको देखिन्छ । यस्तै पर्सामा भने ११ जना मात्र संक्रमित थपिएका छन् ।

कोरोनाको सबभन्दा जोखिममा रहेका पर्सा विस्तारै संक्रमणमुक्त बन्दैछ । पर्साको वीरगञ्ज महानगरपालिकाले त असारदेखि विद्यालयहरु पनि खोल्ने निणर्य गरिसकेको छ । यस्तै बारामा ७ जना, रौतहटमा ११ जना, सर्लाहीमा मात्र १ जना, सप्तरीमा ११ जना, सिरहामा ३ जना र महोत्तरीमा ८७ जना संक्रमित थपिएका छन् । यस प्रदेशमा संक्रमितको संख्या ३४ हजार ९७३ जना पुगेको छ ।

जसमध्ये २४ हजार ३५१ जना कोरोनामुक्त भइसकेको निर्देशनालयले जनाएको छ । यस प्रदेशमा सक्रिय संक्रमित भने ९ हजार ७६० रहेका छन् । जसमध्ये अधिकांश घरमै आइसोलेट भएको बुझिएको छ । अवस्था जटिल भएपछि मात्र अस्पतालले भर्ना लिने गर्छ । यस प्रदेशका करिब सयभन्दा बढी कोरोनाका जटिल विरामी अस्पतालको आइसियू र भेन्टिलेटरमा उपचाररत छन् ।

कोरोनाको दोस्रो लहर चलेयता यस प्रदेशमा मृत्यू हुनेको संख्या ८६२ पुगेको छ । सोमवार मात्रै ७० जना थपिएका छन् । जसमध्ये केहि पछिल्लो २४ घण्टाभित्र मृत्यू भएका र केहि अपटेड गर्न छुटेकाहरु रहेको निर्देशनालयले जनाएको छ ।

२०७८ जेष्ठ २५, मंगलवार ०९:३८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय