
काठमाडौं : प्रेस मञ्च नेपालले प्रेस काउन्सिल नेपालको अध्यक्ष नियुक्तिको स्वागत गरेको छ । सरकारले केही दिनअघि काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेतलाई नियुक्त गरेको थियो । बस्नेतको नियुक्तिविरुद्ध विपक्षी गठबन्धनका पत्रकार संगठनले संयुक्ति विज्ञप्ति जारी गरेर विरोध जनाएका बेला जसपानिकट पत्रकार संगठन प्रेस मञ्चले स्वागत गरेको हो।
‘पत्रकारहरुको सर्वोच्च निकाय प्रेस काउन्सिल नेपाल नेतृत्व विहीन अवस्थामा किमार्थ रहन सक्दैन । पत्रकार आचारसंहितको पालना गराउने, श्रमजिवी पत्रकारहरुको हक, हित र अधिकारका लागि राज्यले अवलम्बन गरेका कानूनको कार्यन्वयन गर्ने निकायलाई वर्तमान सरकारले नेतृत्व प्रदान गर्नु स्वागत योग्य छ,’ महासचिव निमेष कर्णद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
विश्वव्यापी रुपमा देखिएको कोरोना भाइरस (कोभिड–१९) को महामारीमा पत्रकारहरुको पेसा नै संकटमा परेको बेला पहल कदमी गर्ने निकायलाई नेतृत्व दिएकोमा मञ्चले सरकारलाई धन्यवाद पनि दिएको छ ।