
एजेन्सी : खोप अभियान सुरु गरेको ६ महिना पनि पूरा नहुँदै इजरायलले आफूलाई विश्वकै पहिलो मास्क फ्रि देश घोषणा गरेको छ । बाहिर मास्क लगाउन अनिवार्य प्रावधान यसअघि नै हटाइसकेको इजरायलले यही जून १५ देखि बन्द ठाउँमा अर्थात इनडोरमा पनि मास्क लगाउन नपर्ने व्यवस्था गर्दैछ । यससँगै इजरायल विश्वकै पहिलो मास्क फ्रि देश हुनेछ ।
इजरायलका स्वासथ्य मन्त्री युलि एडलस्टिनले १५ जूनदेखि बन्द स्थानमा पनि मास्क लगाउन नपर्ने घोषणा गरेको टाइम्स अफ इजरायलले जनाएको छ । इजरायलले १९ डिसेम्बरमा खोप अभियान सुरु गरेको थियो । इजरायलमा पहिलो खोप प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले लगाएका थिए । इजरायलको खोप अभियान सुरु भएको जून १९ मा ६ महिना पूरा हुँदैछ । तर, ६ महिना पुग्नु ४ दिन अगावै इजरायलले आफूलाई मास्क फ्रि देश घोषणा गर्दैछ ।
स्वास्थ्य मन्त्री एडलस्टिनले भने ‘यदि अगाडि संक्रमण धेरै बढेन भने प्रतिबन्ध पूण रुपले हटाइनेछन् ।’ इजरायलमा भीडमा रोक र आपसी दूरी जस्ता धेरैजसो प्रतिबन्ध १ जूनमै हटाइएका थिए । विदेश यात्रासँग सम्बन्धित अधिकांश प्रतिशन्ध भने अझै हटाइएका छैनन् । ९ देशहरुको यात्रामा अहिले पनि प्रतिबन्ध छ । यी देशबाट आउने यात्रीहरुको लागि क्वारेन्टाइनको नियम छ । उनीहरुको कोरोना परीक्षण पनि गरिन्छ ।
अर्कोतर्फ यहाँ आइतबारदेखि १२ देखि १५ वर्ष उमेर समूहका लागि पनि खोप अभियान सुरु भएको छ । इजरायलमा सर्वसाधारणको लागि खोप अभियान २० डिसेम्बरबाट सुरु भएको थियो । पहिलो चरणमा स्वास्थ्यकर्मी र ६५ वर्षभन्दा अधिक उमेरका नागरिकलाई खोप लगाइएको थियो । त्यसपछि खोपका लागि उमेरको सीमा कम गर्दै खोप अभियान जारी छ ।