
एस. क्षेत्री, कपिलवस्तु : जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी धर्मराज भण्डारी उत्कृष्ट प्रहरीको रुपमा सम्मानित भएका छन् । २०७८ साल जेष्ठ महिनामा अपराध अनुसन्धान लगायत प्रहरी सेवा अन्र्तगत गर्नु पर्ने कार्यहरु उत्कृष्ट ढंगबाट सम्पादन गरे वापत डिएसपी भण्डारीलाई उत्कृष्ट प्रहरीको रुपमा सम्मान गरिएको हो ।
संघीय प्रहरी ईकाई कार्यालय भैरहवाका एसएसपी शुशिल कुमार यादवले जिल्ला प्रहरी कार्यालय तौलिहवामा डिएसपी भण्डारीलाई प्रसंशा पत्र सहित सम्मान गरेका हुन् । सम्मानित डिएसपी भण्डारी नेपाल प्रहरी संगठनमा अपराध अनुसन्धानको क्षेत्रमा निकै अब्बल प्रहरी अधिकृतको रुपमा परिचित छन् ।
डिएपी भण्डारीले पछिल्लो पटक माओवादी केन्द्रका नेता दिपक पाण्डेको हत्याको घटनालाई हत्या भए लगत्तै घटनाको सुक्ष्म अनुसन्धान शुरु गरी ३ हप्तामै घटनामा संलग्न मुख्य योजनाकार सहित सवैलाई पक्राउ गर्न सफल भएका छन् । यसै गरी जिल्लामा यस अघि घटेका दर्जनौ घटनाहरुको अनुसन्धानमा खटिएका डिएसपी भण्डारीले घटनाको अनुसन्धानबाट घटनामा संलग्नहरुलाई पक्राउ गरी कानुनी कठघरामा उभ्याउन सफल भई सकेका छन् ।
डिएसपी भण्डारी यस अघि रुपन्देही जिल्लाको लुम्विनी, सुनसरी जिल्लाको ईटहरी लगायतका स्थानमा कार्यरत रहंदा समेत आफु कार्यरत सवै प्रहरी कार्यालयहरुमा प्रभावकारी दक्ष प्रहरी अधिकृतको रुपमा पहिचान कायम गरेका आएका छन् ।
जिल्ला प्रहरी कार्यालयमा आफुलाई उत्कृष्ट प्रहरीको रुपमा सम्मान गरिंदा आफुमा थप उर्जा र हौसला बढेको डिएसपी भण्डारीले बताए ।
नेपाल प्रहरीको वर्दी आफ्नो शरीरमा रहुन्जेल वर्दीका मर्यादा र प्रहरी संगठनले आफुलाई दिएको जिम्मेवारी प्रभावकारी ढंगबाट पुरा गर्न मैले कुनै कसर राख्ने छैन, डिएसपी भण्डारीले भने, “समाजमा शान्ति सुरक्षा कायम गरी प्रभावकारी ढंगबाट प्रहरी परिचालन गर्नु, अपराध अनुसन्धान र नियन्त्रण गरी आम नागरिकहरुमा शान्ति सुरक्षाको पूर्ण ग्यारेण्टी हुने ढंगबाट काम गर्नु मेरो प्रमुख कर्तव्य हो । यस प्रति म सदैव संवेदनशील छु ।”
सो अवसरमा जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी नवराज अधिकारीले उत्कृष्ट प्रहरी अधिकृत डिएसपी भण्डारीलाई बधाई तथा शुभकामना दिएका छन् । जिल्लामा अपराध नियन्त्रण र शान्ति सुरक्षा कामय गर्नमा आफ्नो नेतृत्वको जिल्ला प्रहरी संगठनमा डिएसपी भण्डारीको भूमिका निकै प्रसंशापूर्ण रहेको एसपी अधिकारीले बताए ।