
काठमाडौँ : सञ्चारकर्मी रुपा सुनारलाई जातकै कारण कोठा नदिएको आरोपमा पक्राउ परेकी घरबेटी थुनामुक्त भएकी छन् ।
रुपाले दलित भएकै कारण कोठा नदिइको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएपछि काठमाडौँ बबरमहलकी घरबेटी सरस्वती प्रधानलाई महानगरीय प्रहरी बृतले गत असार ६ गते पक्राउ गरेको थियो ।
जिल्ला सरकारी वकिलको कार्यालयले उनीविरुद्धको मुद्दा अदालतमा नलिई रिहा गरिदिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए । यसअघि प्रहरीले प्रधान थरकी ती घरबेटीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गरेको थियो ।
प्रहरीले सरकारी वकिलको कार्यालयलाई अनुसन्धान फाइल बुझाएको थियो । सरकारी वकिलको कार्यालयले घरबेटीविरूद्ध प्रमाण नपुगेको भन्दै मुद्दा फिर्ता गरेको हो ।
पक्राउ परेकी घरबेटी प्रधानलाई छुटाउन शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ आफैँ महानगरीय प्रहरी वृत्त सिंहदरबार पुगेका थिए । यस्तै, घरधनी रिहाइको माग गर्दै बबरमहलस्थित सरकारी वकिलको कार्यालय अगाडि प्रदर्शन पनि गरिएको थियो ।