गोविन्द महतो / जनकपुरधाम
प्रादेशिक अस्पताल जनकपुरधाममा एमाआरआई मेशिन खरिद प्रक्रियामा व्यापक अनियमितता भएको छ । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गको प्रादेशिक अस्पतालमा एमआरआई मेशिन खरिद प्रक्रियामा एक कम्पनीसंग मात्र मिल्ने स्पेशिफिकेशन बनाएर नीतिगत भ्रष्टाचार गरेको हो । अस्पतालले गत जेष्ठ महिनाको ७ गतेको बोलपत्र आव्हानमा अन्य कम्पनीहरुसंग मेल नखाने स्पेशिफिकेशन बनाएर खरिद प्रक्रिया एउटा कम्प्नीलाई मात्र सहभागि गराउन व्यापक आर्थिक लेनदेन भएको श्रोतको दाबी छ ।
समाजिक बिकास मन्त्रालय मातहतको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको प्रादेशिक अस्पतालले एमआरआई स्पेसिफिकेशन बनाउँदा फिलिप्स ईण्डििपिन्डेन्ट ईन्जिनिय एम्बिसनसंग मात्र मिल्ने शर्त राखेर खरिद प्रक्रिया आव्हान गरेको छ । उदाहरणका लागि न्यूनत्तम आरआफ रिसिभ च्यानल ४० ईन्डिपेन्डेन्ट, स्पाई एर्रे÷म्याट्रिक्स कोईल ४०, बिल्ट्रल ब्रेष्ट ७ च्यानल शर्त राखेको छ । यस्तो शर्त राखेर खरिद प्रक्रियामा एउटा बाहेक अन्य कम्पनीलाई सहभागी नै हुन नदिने चलखेल भएको ईस्टवेस्ट कन्सर्न प्राईभेट लिमिटेडका एप्लिकेशन स्पेशलिष्ट सुदिप थापाको आरोप छ ।

बोलपत्रमा तोकिएका एफओभि ४५ सिएम, डिडब्लुआई ३२, एफओभी ३५, रिजिड नि कोईल्स ८ च्यानल जस्ता सम्पुर्ण शर्त फिलिप्स ईण्डििपिेन्डेन्ट ईन्जिनिय एम्बिसनसंग मात्र मिल्छ । फिलिप्स कम्पनी बाहेक अन्य कम्पनीसंग मेल नखाने हुँदा प्रतिस्पर्धा गर्न पाउँदैनन । एक सप्लायर्सले भने, ‘हामीले मुख्यमन्त्री कार्यालय देखि समाजिक बिकास मन्त्रालय सम्म चहा¥यौं, केही सिप चलेन, आर्थिक चलखेलको आधारमा एउटा निश्चित कम्पनीलाई पर्ने सुविधा र शर्त सहित प्रस्तावना पत्र आव्हानमा ठुलो चलखेल भएको छ ।’
बोलपत्रमा एफओभि ५० सिएमलट, बिल्ट्रल ब्रेष्ट कोयल १६ च्यानल, रिगिङ्ग नी कोयल्स १६ च्यानल बढी क्षमता भएका उपकरणलाई समेत प्राथमिकता दिएको छैन् । जबकी फिलिप्सको एफओभि ४५ सिएमलट, बिल्ट्रल ब्रेष्ट कोयल ७ च्यानल, रिगिङ्ग नी कोयल्स ८ च्यानल कम क्षमता भएको उपकरणलाई समेत छनोट गरिएको छ । ‘समाजिक बिकास मन्त्रालय देखि मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रादेशिक अस्पताल सम्मको आर्थिक चलखेलमा एक कम्पनी क्वालिफाईड हुने स्पेसिफिकेशन राखेका छन’ एक उच्चस्थ पदाधिकारीले भने ।
एमआरआई खरिदमा प्रादेशिक अस्पतालले भ्याट सहित १७ करोडमा बोलपत्र प्रस्ताव आव्हान गरेको छ । शर्तअनुसार एमआरआईको बजार मुल्य १२ करोड देखि १४ करोड पर्न जाने प्राविधिकको भनाई छ, तर त्यसलाई कमिशनकै चलखेलमा १७ करोड बनाईएको अस्पताल श्रोतको दाबी छ । समाजिक बिकास मन्त्रालय नवल किशोर साह देखि मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साह र प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. प्रमोद कुमार यादव सम्मको मिलोमत्तोमा सेटिङ मिलाईएको दाबी छ । एमआरआई मेशिनको खरिद प्रक्रियामा समाजिक बिकास मन्त्रीका नवल किशोर साहका छोरा सुमित साहले बोलपत्र देखि स्पेशिफिकेशन र कमिशनको कुरामा समेत संलग्न भएको श्रोतको दाबी छ ।

अस्पतालले बोलपत्र आव्हानमा चित्त नबुझेपछि सप्लायर्सहरुले मुख्यमन्त्री कार्यालय देखि अर्थ, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सार्वजनिक खरिद अनुगमन कार्यालयमा समेत ज्ञापनपत्र बुझाएको छ । तर मन्त्रालयले प्रादेशिक अस्पताललाई एमआरआई खरिदको अनुमति दिईसकेकोले आफुहरुले केही गर्न नसक्ने बताउँदै आएको छ । मन्त्रालयका उप–सचिव तथा प्रवक्ता ठुलोबाबु दाहालले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको राय, सुझाव माग गरेर खरिद प्रक्रिया अघि बढाईएको बताए । ‘१० करोड भन्दा बढीको खरिदमा मन्त्रालयको सहमति अनविार्य हुन्छ, प्रतिष्ठानको राय, सुझावको आधारमा सहमति दिने नदिने निर्भर हुन्छ, प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साहले किन्ने राय सल्लाह दिएपछि हामीले सहमति दियौं’ दाहालले भने ।
तर मधेश स्वास्थ्य प्रतिष्ठानका उपकुलपति रामकेवल साहले कानूनी रुपमा प्रादेशिक अस्पताल प्रतिष्ठान अन्तर्गत नआएकोले कुनै सुझाव नदिईएको बताए । ‘टेक्निकल राय दिन प्रावधान भएपनि प्रतिष्ठानमा प्रादेशिक अस्पताल कानूनी रुपमा नआएकोले कुनै सल्लाह सुझाव दिएका छौनौं, व्यवहारिक तथा मौखिक रुपमा जनताको सेवा सुविधाका लागि राय दिएपनि लिखित रुपमा कुनै राय– सल्लाह पठाएको छैनौं ।’
यता प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. प्रमोद कुमार यादवले प्रतिष्ठानको राय सुझाव सहित मन्त्रालयको सहमतिपछि मात्र खरिद प्रक्रिया अघि बढाईएको जानकारी दिए । उनले भने, ‘खरिद प्रक्रियामा कुनै विवाद छैन, लोकतन्त्र हो, जसले पनि आफ्नो कुरा राख्न पाउँछ, त्यसमा कसैलाई चित्त बुझेन भने हामी केही गर्न सक्दैनौ ।’ डा. यादवले आफु गाडीमा रहको र नेटवर्कले काम नगरेको भन्दै फोन काटिदिए ।

समाजिक बिकास मन्त्रालय र प्रादेशिक अस्पताल जनकपुरले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको राय सल्लाहमा एमआरआई मेशिन खरिद गर्न लागिएपनि प्रतिष्ठानका उपकुलपति डा. रामकेवल यादवले खरिद प्रक्रियामा आफुहरुको कुनै संलग्नता नरहेको दाबी गरे । खरिद प्रक्रियामा प्रतिष्ठानको राय सल्लाह बिना उकपरण खरिद गर्न नपाउने प्रावधान छ ।

 

२०७८ भाद्र ३, बिहीबार ०९:५१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय