
काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले एक साताभित्रै सरकारमा सहभागी हुने दाबी गरेका छन्।
तराई-मधेस र पहाडको प्रतिनिधित्व हुनेगरी समावेशी आधारमा पार्टी सरकारमा जाने उनले बताए।
जसपाले सातवटै प्रदेशमा आह्वान गरेको पार्टी सुदृढीकरण एवं जनजागरण अभियानअन्तर्गत बागमती प्रदेशलाई समेटेर बुधबार काठमाडौंमा आयोजना गरिएको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता भट्टराईले जसपा नयाँ विचार र एजेन्डासहितको वैकल्पिक शक्तिको उदयमान भएको दाबी गरे।
महन्थ ठाकुरले प्रतिगमनको मतियार बन्दा प्रधानमन्त्री बन्ने अवसर गुमाएको टिप्पणी गर्दै डा. भट्टराईले ठाकुर-महतोलाई खानेबेलामा अभागीलाई रिस उठेजस्तै भएको व्यंग्य गरे ।
जसपाबाहेक कुनै पनि राजनीतिक शक्तिले मुलुकलाई सही निकास दिन नसक्ने दाबी गर्दै उनले आगामी निर्वाचनबाट जनताका उत्साहजनक मत पाएर जसपा बलियो शक्तिको रुपमा उभिने विश्वास व्यक्त गरे।
भाद्र १ र २ गते सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले निर्णय गरेअनुसार सात वटै प्रदेशमा सुरु भएको पार्टी सुदृढीकरण र जनजागरण अभियानले जसपालाई एउटा नयाँ उचाइमा पुर्याउने उनको दाबी छ।
बागमती प्रदेशका जिल्लाहरुबाट नेतृत्वदायी अगुवा नेताहरु सम्मिलित सो कार्यक्रमलाई जसपाका नेताहरु राजेन्द्र श्रेष्ठ, राजकिशोर यादव र हिसिला यमीलगायतले सम्बोधन गरेका थिए।