काठमाडौं : जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्रको रक्षाको लागि गठबन्धनले सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रमको आधारमा जसपा चाडै नै सरकारमा सहभागी हुने बताएका छन् ।

जसपाको सात वटै प्रदेशमा आव्हान गरिएको प्रदेश स्तरीय पार्टी सुदृढीकरण एवं जनजागरण अभियान अन्तर्गत बुधबार विराटनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले भने, ‘संघीय गणतन्त्र, सामाजिक न्याय, जनताको आधारभूत आवश्यकता, न्यूनतम साझा कार्यक्रम र जसपाको एजेन्डालाई मुख्य आधार बनाएर आगामी हप्ताभित्रै सरकारमा सहभागी हुन्छौं ।’

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली हिटलर जस्तै निर्वाचित तानाशाह बन्न खोजेकोले उनको पतन भएको अध्यक्ष यादवले टिप्पणी गरेका छन्। ‘लिपुलेक र कालापानीसहितको नक्सा जारी गरेर ओलीले ढोँगी राष्ट्रवादको खोल ओढेका थिए। तर त्यसको केही दिनमै नक्कली राष्ट्रवाद उदांगियो ।’

संविधान संशोधनको लागि सहकार्य गरेको बताउँदै उनले संशोधन नगर्ने नियत बुझेपछि ओलीसँगको सहकार्य अन्त्य भएको उनले बताए।

‘ओलीको तानशाही सपना चकनाचूर पारेर संघीय लोकतान्तिक गणतन्त्रलाई दिगो बनाउने काम जसपाले गरेको छ। यो ओलीकै लागि पनि फाइदाको कुरा हो। उनको सांसद पद सुरक्षित छ,’ अध्यक्ष यादवले भने ।

केही बेइमानहरुले जसपाले थालेको लडाइँको मैदान छाडेर ओलीकै टाङ्गमुनि छिर्ने काम गरेको टिप्पणी गर्दै उनले भने, ‘महन्थ ठाकुर एण्ड कम्पनी ओलीकै असंवैधानिक र अवैध कदमको साथ लागेर मन्त्री हुन गए र समाप्त भए। हिजो पनि उनीहरुको दाउँ मन्त्री मात्र बन्ने थियो, आज पनि त्यही चरित्र देखिँदैछ ।’

जसपा अध्यक्ष यादवले निर्वाचन आयोगले दिएको आधिकारिताको हिबासले जसपा फुटेको नभई प्रतिगमनका केही मतियारहरु चाेइटिएकाे टिप्पणी गर्दै युद्ध र अभियानमा हिँड्दा केही कमजोरहरु बाटोमै छोडिएका बताए।

‘८०% केन्द्रीय सदस्य जसपाको बैठकमा सहभागी छन्। रुखको बोक्रा सुकेर उप्किएको मात्रै हो । पार्टी फुटेको छैन, यादवले भने।

कार्यक्रमलाई सम्बोधन गर्दै जसपाका वरिष्ठ नेता अशोक कुमार राईले नेपाली राजनीतिमा अन्तर्राष्ट्रिय राजनीतिक हस्तक्षेप बढेर गएकोले जनता समाजवादी पार्टीले नेपाली राजनीतिलाई केलाएर अघि बढ्नुपर्ने अवस्था रहेको बताए ।

जसपाका वरिष्ठ नेता राईले भने, ‘हिन्द–प्रशान्त रणनीतिको ज्वाराभाटले हामीलाई छुनेवाला छ । नेपालमा सहज राजनीति हुने छैन। नेपाली राजनीति अहिले फुकीफुकी पाइला चाल्नु पर्ने अवस्थाबाट गुज्रिरहेको छ ।

यसैगरी, जनता समाजवादी पार्टीका नेता महेन्द्र राय यादवले जसपाको एकतालाई ऐतिहासिक संज्ञा दिँदै पार्टी विरोधी एकता नचाहने तत्व मात्रै बाहिरिएको टिप्पणी गरे ।

‘यो देशका उत्पीडितहरुको राजनीतिक र भावनात्मक एकता नै आजको जसपा हो, यादवले भने,– ‘अहिले पार्टी छोडेर गएकाहरुले हिजो पनि पार्टी एकताको प्रयासलाई रोकेका थिए । त्यसको प्रमाण म पूर्व राजपा समूहको ६ घटक मध्येको एक जना म साक्षी छु ।’

पहिचानसहितको सङ्घीयता स्थापित गर्ने लक्ष्य पूरा गर्ने जिम्मेवारी जसपाको काँधमा आएको भन्दै उनले जनताको अधिकार स्थापित गर्न एकतामार्फत् ऐतिहासिक जिम्मेवारी जनताले हामीलाई दिएको बताए ।

‘यो एकता बचाउन दृढतापूर्वक लाग्नुपर्छ । केही बेइमानहरु प्रतिगमनको मतियार बनेर गएका छन् । हिमाल, पहाड, मधेस÷तराईलाई जोड्ने र राष्ट्रिय एकता मजबूद पार्ने पार्टी जसपा नै हो, यादवले भने । file photo


२०७८ भाद्र ९, बुधबार १८:३५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय