काठमाडौं : नेपालको चारदिने भ्रमण सकेर अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का उपाध्यक्ष फातिमा सुमारको टोली आज फर्किदै छिन्।

बिहीबार नेपाल आएकी एमसीसी उपाध्यक्षसहितको टोलीले नेपालका प्रमुख राजनीतिक दलका नेताहरूसँग भेटघाट गरेको थियो। अमेरिकी सहयोग परियोजना नेपालमा लागू गर्ने वा नगर्ने भन्ने विषयमा चर्को बहस भइरहेका बेला टोली नेपाल आएकी थिइन्।

जनस्तरबाट नै विरोध भइरहेको भए पनि उक्त टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालगायत सत्तापक्ष र विपक्षी दलका शीर्ष नेताहरूसँग भेट गरेको छ।

एमसिसी संसद्बाट पास गर्ने सन्दर्भमा दलहरू दुई धारमा बाँडिएपछि उपाध्यक्ष फातिमासहितको भ्रमण उपलब्धी पूर्ण हुन सकेन। यद्यपि, नेताहरूले संशोधनसहित राष्ट्रिय सहमति जुटाएर अगाडि बढ्न सकिने भन्दै उक्त टोलीलाई विश्वस्त पारेका छ ।

सत्ता गठबन्धनभित्र नै एमसिसीका सन्दर्भमा दलहरू विभाजित रहेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी एमसिसी पास गर्नुपर्ने पक्षमा छन्।

तर, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी भने जस्ताको त्यस्तै राष्ट्रिय सहमतिबिना पास गर्न नहुने पक्षमा रहेका छन्। फातिमासँगको भेटमा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले दलहरूसँग सहमति जुटाउनका लागि प्रयास गरिरहेको र छिट्टै निष्कर्षमा पुगिने बताएका थिए।

तत्कालीन समयमा विपक्षमा हुँदा पनि एमसिसी पास हुनुपर्ने धारणा राख्दै आएको कांग्रेसले अहिले पनि सोही धारणा राखिरहेको छ। प्रधानमन्त्री देउवाले एमसिसीको बारेमा नबुझेर धेरै राजनीतिकरण गर्न खोजिएको आरोप पनि लगाउँदै आएका छन्।

फातिमासँगको भेटमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकाल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले संशोधनको आवश्यकता रहेको बताउनुभएको थियो । अहिलेको अवस्थामा संसद्बाट पास गर्न समस्या रहेकाले संशोधनसहित अगाडि बढाउन प्रयासरत रहने उनीहरूको भनाइ थियो।

यस्तै, जनता समाजवादी पार्टी भने आफ्नो तर्फबाट सम्झौता पास गर्न कुनै समस्या नरहेको र अन्य दलहरूसँग पनि सहमति गरेर अगाडि बढ्न तयार रहेको बताउँदै आएको छ । जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सम्झौता कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिएका छन्।

२०७८ भाद्र २७, आईतवार ०६:२५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय