काठमाडौं : सम्झौता विनै विद्युत्का पोल प्रयोग गर्ने र भाडा नतिर्ने केबल तथा इन्टरनेट सेवा प्रदायकको शनिबार म्याग्दीमा लाइन काटिएको छ।

नेपाल विद्युत् प्राधिकरणको देशब्यापी कार्यक्रमअन्तर्गत सम्झौता नगरेका र भाडा नतिरेकाको फाइबर काटिदिएपछि निजी कम्पनीद्वारा सञ्चालित इन्टरनेट तथा केबल सेवा ठप्प बनेको छ। प्राधिकरणको म्याग्दी वितरण केन्द्रले नेपाल विद्युत् प्राधिकरणको विद्युतीय संरचना प्रयोग गरी अप्टिकल फाइबर भाडामा लिई टेलिफोन/इन्टरनेट/केबल/टिभी सेवा सञ्चालन गरेका सेवा प्रदायकलाई यही असोज १५ गतेभित्र सम्झौता, नवीकरण र बक्यौता बुझाउन ताकेता गर्दै सार्वजनिक सूचना जारी गरेको थियो।

केन्द्रका प्रमुख प्रशान्तकुमार झाले तोकिएको समयभित्र सम्झौता, नवीकरण र बक्यौता नतिर्ने नेपाल टेलिकमबाहेक सात वटा कम्पनीको लाइन काटिएको जानकारी दिए। प्राधिकरणका कर्मचारीले बेनीको हुलाकचोकमा रहेको विद्युत्को पोलमा राखिएको फाइबर काटेका थिए। ‘म्याग्दीमा प्राधिकरणको पोल प्रयोग गरेका सेवा प्रदायक सम्झौता, नवीकरण र बक्यौता तिर्न नआएपछि केन्द्रको निर्देशनअनुसार लाइन काटेका हौँ,’ उनले भने, ‘सेवा प्रदायक कम्पनीको कारण लाइन काट्न बाध्य भएका हौँ।’

म्याग्दीमा दुई वटा केबल टिभी र पाँच वटा इन्टरनेट सेवा प्रदायकले विद्युत् प्राधिकरणको पोल प्रयोग गरेका छन्। यसअघि नगरपालिका क्षेत्रमा प्रतिपोल १०० रुपैयाँ र गाउँपालिका क्षेत्रमा ५० रुपैयाँका दरले वार्षिक भाडा तिर्ने गरेका थिए। निजी क्षेत्रको इन्टरनेट जोडेका सरकारी कार्यालय, बैंक, वित्तीय संस्था, सहकारी, सङ्घसंस्था, निजी उपभोक्ताको सेवा अवरुद्ध बनेको छ। केबल टिभी सेवा पनि ठप्प भएको छ। केबल तथा इन्टरनेट सेवा प्रदायकले प्राधिकरणले तोकेको पोलको नयाँ भाडादर महँगो र अव्यावहारिक भएकाले सम्झौता र नवीकरण नगरेको प्रक्रिया दिएका छन्।

नयाँ दरअनुसार नगर र गाउँपालिका क्षेत्रका ३३/११ केभी र सोभन्दा कम क्षमताको लाइनको विद्युत् संरचना प्रयोग गरेवापत प्रतिकिलोमिटर वार्षिक सात हजार रुपैयाँ भाडा तिर्नुपर्छ। पब्लिक भिजन केबुल सहकारी संस्थाका प्रबन्धक नवराज पौडेलले प्राधिकरणको भाडादर पहाडी र हिमाली जिल्लामा अव्यावहारिक र महँगो भएकाले समायोजन नभएसम्म सम्झौता नवीकरण नगर्ने सामूहिक निर्णय भएको बताए। देशभरका केबुल र इन्टरनेट सेवा प्रदायक कम्पनीले भाडा समायोजन गर्न विद्युत् प्राधिकरणलाई दबाब दिइरहेका छन्।

२०७८ आश्विन १७, आईतवार ०६:४९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय