जनकपुरधाम : यातायात व्यवस्था कार्यालय जनकपुरमा कार्यालय समय बाहेक सेवाग्राहीसङ लाईसेन्स बापत १५ हजार रुपैया लिएर लाईसेन्स दिने गरेको भेटिएको छ ।

मंगलबार साँझ ७ बजेको समयमा कार्यालयका कर्मचारी र बिचौलियाहरुले धमाधम कार्यालयको मुख्यद्धार बन्द गरेर चोरबाटोबाट सेवाग्राहीलाई भित्र प्रवेश गराई काम गरिरहेको देखियो ।

‘हामी पनि सेवाग्राही बनेर त्यहाँ पुग्यौं, मुख्यद्धारा नखोलि हामीलाई चोरबाटोबाट भित्र प्रवेश गराइयो । भित्र जाँदा त्यहाँको दृष्य बेग्लै थियो । कार्यालय प्रमुखको कार्य कक्षलगायत अन्य कर्मचारीहरुको कार्यकक्ष पनि बन्द थियो । तर, कम्पाउण्डभित्रै रहेको अर्को भवनमा बिचौलियाहरु गाईंगुईं गरिरहेको आवाज सुनियो, सेवाग्राही पनि टन्नै भरिएका थिए ।

बिचौलियाहरुले सेवाग्राहीलाई लाइनमा लगाएर लाइसेन्सका लागि अफलाईन फाराम भरिरहेका थिए । करिव एकसयको संख्यामा त्यहाँ सेवाग्राहीको भीड थियो । सबैले आ–आफ्नो काम गराउन तछाडमछाड गरिरहेका थिए ।

हामीले हाम्रो पनि फाराम भरिदिनुस् न भनेर एकजना बिचौलियालाई भन्यौं, उसले के–को लाइसेन्स चाहिन्छ भनेर सोध्यो ? हामीले चारपाङग्रे सवारीसाधनको लाइसेन्स बनाउन कति खर्च लाग्छ सर भनेर सोध्दा उसले १ लाख २० हजारमा तपाईंको सबै काम भईहाल्छ भन्दै जवाफ फर्कायो ।

अर्का एकजना सेवाग्राही जितन राय माझी पनि त्यहि लाइनमा उभिएका थिए । हामीले उनलाई सोध्यौं, कहाँबाट कुन कामले आउनुभाको छ ? उनले म रामेछापबाट दुईपाङग्रे सवारीसाधनको लाइसेन्स बनाउन यहाँ आएको छ, दुईदिनदेखि बसेपनि काम भएन् तर, बल्ल आज २० हजार रुपैयाँ पहिले नै भुक्तानी गर्दा बिचौलियाहरु मेरो काम गर्न राजी भए, अहिले फाराम भर्दैछु भन्दै जवाफ फर्काए ।

उनीजस्तै सयौंजना सेवाग्राही फाराम भर्न लाईनमा लागेको देखियो । उनीहरुलाई प्रश्न गर्दा आफूहरु बिचौलियामार्फत लाखौं रुपैयाँ अग्रिम भुक्तानी गरेर यहाँ आएको जवाफ पाइयो । अहिले अनलाइन फाराम भर्न यातायात व्यवस्था कार्यालयले नै बन्द गरेको अवस्था छ । तर, जनकपुरमा भने यातायात व्यवस्था कार्यालयमा बिचौलियाहरुको बिगबिगीका कारण सेवाग्राहीसँग लाखौं रुपैयाँ लिएर राति पनि फाराम भर्ने काम भईरहेको देखिन्छ ।

यसमा कार्यालयका कर्मचारीसँग बिचौलियाको सेटिङ्ग रहेको प्रष्ट देखिन्छ । बिचौलियाहरु कर्मचारीको टेबुलसम्म पुगेर आफूखुसी सेवाग्राहीसँग रकम असुल्दै आ–आफ्ना काम सहजै गराईरहेको देखिएपनि कार्यालय प्रमुख बिरेन्द्र साह भने यसबाट अनभिज्ञ छन् ।
उनलाई त्यहिंबाट फोन गर्दा अहिले यातायातमा फाराम भर्ने काम भईरहेको छ र ? भन्दै उल्टै सञ्चारकर्मीलाई नै प्रश्न गरे । प्रमुख साहले आफूलाई यसबारेमा कुनै जानकारी नै नरहेको प्रतिक्रिया दिए ।

लिखित परीक्षाको रिजल्ट प्रकाशित गर्नुपर्नेमा यातायात कार्यालय जनकपुरले भित्रैबाट सेटिङ्ग गरी मोटो रकम दिनेलाई पास गर्ने गरेको पाइएको छ । त्यहाँका बिचौलियाहरु संजय सिंह र दिलिप साहलगायतकाहरु मार्फत कर्मचारीले सेवाग्राहीको आज रातिसम्म फाराम भर्ने र भोली बुधबार लिखित लिएर शुक्रबार तथा शनिबार ट्रायल लिने स्रोतको दावी छ । यसमा लाखौं रकमको चलखेल भईरहेको दावी गरिएको छ ।
कार्यालय प्रमुख लगायतकाले चितवन, इटहरी, सिन्धुली, रामेछाप, दोल्खालगायतका ठाउँहरुबाट बिचौलियामार्फत लाइसेन्स लिन चाहने सेवाग्राहीलाई स्वयं बोलाएर २० हजार देखि १ लाख २० हजारसम्म रकम लिएर फाराम दर्ता गरी लाइसेन्सका लागि सेटिङ्ग गरेको स्रोतको भनाइ छ ।

स्रोतका अनुसार यातायात कार्यालय जनकपुरमा कार्यालय प्रमुख र कर्मचारीहरुले बिचौलियामार्फत काम गरेवापत सेवाग्राहीसँग मोटो रकम लिने सेटिङ्ग गरेर यहाँस्थित प्रशासन र सम्बन्धित मन्त्रालयका कर्मचारी तथा मन्त्रीसम्म पनि रकम बाँडफाँड गर्दै आएका छन् ।

२०७८ आश्विन १९, मंगलवार २१:२३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय