
जनकपुरधाम : धनुषामा घाँस लिन गएकी एक महिलाको गहना लुट्न घाँटी रेटेर हत्या प्रयास गर्ने भुट्टाचोर भन्ने रामभजन महतो महोत्तरीबाट पक्राउ परेका छन् ।
धनुषाको विदेह नगरपालिका-६ गिद्धा बस्ने ३५ वर्षीय भुट्टाचोरलाई महोत्तरीको गोनरपुराबाट शुक्रबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनले चाँदीको गहना लुट्न शुक्रबार बिहान ११ बजे स्थानीय रामबहादुर मण्डलकी ५५ वर्षीया जमुन देवी मण्डलको घाँटी रेटेर हत्या गर्ने प्रयास गरेका थिए । स्थानीयले देखेपछि भुट्टाचोर त्यहाँबाट भागेका थिए ।
फरार भएर ससुरालीमा बसिरहेका उनलाई प्रहरी चौकी तिनकौरियाका सई सारदा शंकर साहको कमाण्डमा खटेको प्रहरी टोलीले पक्राउ गरेको हो ।
घाँटी रेटिएकी जमुनदेवीको घाँटीमा ९ वटा टाँका लगाइएको छ । उनी प्रादेशिक अस्पताल जनकपुरमा उपचार पश्चात घर फर्किएकी छन् ।
स्थानीयका अनुसार भुट्टाचोर वैदेशिक रोजगारीको क्रममा मलेसियामा रहँदा पनि चोरीको घटनामा संलग्न रहेका थिए ।
जमुन देवी घाँस लिन गएको बेला उनले खुट्टामा लगाएको चाँदीको काँरा, गालाको मँगलसुत्र खोस्न छुराले घाँटी रेट्ने प्रयास गरेका थिए ।
यो पनि पढ्नुहोस् !
धनुषामा गहना लुटन महिलाको घाँटी रेटियो