एजेन्सी : बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खानसँग जोडिएको ड्रग्स मामलामा अब बलिउड अभिनेता चंकी पान्डेकी छोरी तथा अभिनेत्री अनन्या पान्डेको नाम पनि जोडिएको छ । उनलाई शुक्रवार फेरि नारकोटिक्स कन्ट्रोल ब्यूरोले सोधपुछ गर्दैछ । यसबीच, अनन्या र आर्यनबीच भएको च्याटको खुलासा भएको छ, जसमा उनीहरुले ड्रग्सको विषयमा कुराकानी गरेका छन् ।

इन्डिया टुडेको अनुसार, च्याटमा अनन्याले आर्यनलाई ड्रग्सको जोगाड लगाउने कुरा गरेकी छन् । बिहीवार भएको सोधपुछको क्रममा एनसीबीका अधिकारीले अनन्यालाई उनको च्याट देखाएका थिए, जसमा उनले आर्यन खानसँग कुराकानी गरेकी थिइन् । उक्त च्याटमा आर्यनले अनन्यासँँग ड्रग्सको जोगाड लगाउन भनेका छन् । जबाफमा अनन्याले ‘हुन्छ मिलाउँछु’ भनेकी थिइन् ।

तर, अनन्याले आर्यनका लागि ड्रग्स उपलब्ध गराएको प्रमाण भने नभेटिएको इन्डिया टुडेले उल्लेख गरेको छ । यस विषयमा एनसीबीले सोधपुछ गर्दा अनन्याले आर्यनसँग आफूले मजाक गरेको बताएकी थिइन् । तर, एनसीबीको यो दाबी छ कि अनन्या र आर्यन च्याटमा ड्रग्सको कुरा गर्ने गर्थे । सोधपुछको क्रममा अनन्याले आफूले कुनै पनि प्रकारको ड्रग्स नलिएको बताएकी थिइन् ।

बिहीवार एनसीबीको टिमले अनन्या पान्डेको घरमा छापा मारेको थियो । यसपछि उनलाई एनसीबीले सोधपुछका लागि बोलाएको थियो । उनी पिता चंकी पान्डेको साथमा एनसीबीको कार्यालय पुगेकी थिइन्, जहाँ उनीसँग एनसीबीका अधिकारीले करीब चार घन्टासम्म ड्रग्स मामलामा सोधपुछ गरेका थिए । त्यसक्रममा एनसीबीले अनन्याको ल्यापटप र फोन जफत गरेको बताइएको छ ।


२०७८ कार्तिक ६, शनिबार १७:०५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय