
काठमाडौं : जनता समाजवादी पार्टी नेपालका प्रभावशाली नेता, पूर्वमन्त्री तथा सिरहा ४ बाट निर्वाचित प्रतिनिधिसभा सांसद राजकिशोर यादव यतिबेला आफ्नो निर्वाचन क्षेत्रसहित मधेशका जिल्लाहरुमा सक्रिय छन् ।
यतिबेला उनी सिरहासहित मधेशका जिल्लामा कार्यकर्ता भेटघाट, विकास निर्माणका कामको समिक्षा, पार्टीको संगठन विस्तार आदिमा सक्रिय देखिएका छन् । चाडपर्वकै बीचमा उनी जिल्ला दौडाहामा निक्लिएका हुन् ।
खास गरेर उनी यतिबेला ग्रामीण भेगका गाउँहरूमा कार्यकर्ता भेटघाट गर्ने, विकास निर्माणका काम अवलोकन गर्ने तथा विकासका सम्भावनाका विषयहरुमा संवाद कार्य गरिरहेका छन् । पार्टी प्रवेशलाई पनि उनले उत्तिकै प्राथमिकता दिएको देखिएको छ ।
जिल्लामा एक साता मात्रैको बसाईको क्रममा उनले विभिन्न पार्टीका तथा स्वतन्त्र रहेपनि स्थानीय स्तरमा पक्कड बनाएका नेताहरुलाई पार्टीमा भित्र्याएका छन् । नेता यादवको यो सक्रियताले आम जसपा कार्यकर्ता मात्रै नभई अन्य नागरिकले समेत सकारात्मक दृष्टिले हेरेका छन् ।
खासगरी मधेशवादी दलका नेतालाई मधेशको राजनीति काठमाडौँको बसाई भनेर टिप्पणी गरिँदै आएको छ । तर, उनी भने यसको विपरित प्रायः दौडाहामा हुन्छन् । मधेशमा नेता यादवलाई जनमत भएको नेताको रुपमा समेत व्याख्या गरिन्छ ।