काठमाडौं : हिजो (बुधबार) काठमाडौं उपत्यकासहित देशभर सामान्य वर्षा भयो । जसकारण चिसो बढेको छ । बुधबारदेखि नेपालमा पश्चिमी वायु प्रवेश गरेकाले वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

चिसो मौसममा न्यानोका लागि तपाईं के गर्दै हुनुहुन्छ ? ध्यान पुर्‍याएर आगो वा हिटर ताप्ने, न्यानो लुगा लगाउने, खानपानमा ध्यान दिने गर्नुहुन्छ कि मदिरा वा धूम्रपान सेवन गर्नुहुन्छ ?

वरिष्ठ छाती रोग विशेषज्ञ डा. नीरज बम भन्छन्, ‘चिसो छल्न धूम्रपान र मदिरा सेवन गरिन्छ, जुन एकदम गलत हो । धूम्रपान र मदिरा सेवनले रोग प्रतिरोधात्मक क्षमता कमजोर बनाई संक्रमणको जोखिम बढाउँछ ।’

उनका अनुसार, चिसोका कारण फ्लु, रुघाखोकी, विभिन्न भाइरल संक्रमण, निमोनिया हुन सक्ने सम्भावना उच्च रहन्छ । अहिले कोरोना भाइरसको संक्रमणबाट बच्न चिसोबाट पनि बच्नुपर्छ । चिसोले विशेषगरी छातीमा असर पुर्‍याउँछ । जुनसुकै उमेरसँगै विशेषतः बालबालिका र वृद्धवृद्धाले चिसोबाट जोगिनुपर्छ । चिसो बढेका बेला सकेसम्म घरबाहिर निस्कनु हुँदैन । निस्कनैपर्दा न्यानो लुगा लगाउनुपर्छ । कोठाभित्र न्यानो वातावरण बनाएर बस्ने, न्यानो लुगा लगाउने गर्नुपर्छ ।

‘टाउको, घाँटी, हातगोडालाई पनि न्यानो पार्नुपर्छ,’ उनले भने, ‘न्यानोसँगै खानपानमा पनि विशेष ध्यान पुर्‍याउनुपर्छ । तातो, झोलिलो, हरियोपरियो र स्वस्थ खानेकुरा खानुपर्छ । सकेसम्म बासी खानुहुँदैन ।’

नित्य पूजाका लागि नुहाउने गर्नुहुन्छ भने जाडो याममा नुहाउँदा तातोपानीको प्रयोग गरेमा चिसोबाट बच्न सकिन्छ । चिसो बढ्यो भनेर हिटर बाली झ्यालढोका बन्द गरेर बस्दा अक्सिजनको कमी भई अन्य समस्या देखापर्न सक्छ ।

२०७८ पुष १५, बिहीबार १८:०८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय