बर्दिबास : साना उद्योग स्थापना र सञ्चालन गर्न अभिप्रेरित गर्ने मुख्य उद्देश्यसाथ महोत्तरीमा महोत्सव आयोजना गरिने भएको छ ।

महोत्तरी चेम्बर अफ कमर्सले आज मङ्गलबार पत्रकार सम्मेलनमा बर्दिबास महोत्सव आयोजना गर्न लागिएको जानकारी दिएको हो । महोत्सव यही आउने माघ १३ देखि २३ सम्म बर्दिबास-१ मा आयोजना गरिने महोत्तरी चेम्बर अफ कमर्सका अध्यक्ष सुधिर अग्रवालले जानकारी दिनुभयो ।

“थोरै लगानीमा सञ्चालन गर्न सकिने साना उद्योगबारे नयाँ पुस्तामा चासो बढाउनु हाम्रो मुख्य उद्देश्य हो” बर्दिबास-४ माइस्थानस्थित होटल नाव्यामा आयोजित पत्रकार सम्मेलनमा अग्रवालले भन्नुभयो, “महोत्सवमा बढीभन्दा युवालाई सरिक गराएर हामी थोरै लगानीमा सञ्चालन गर्न सकिने उद्योगबारे ‘टिप्स’ दिन चाहान्छौ ।” महोत्सवमा पाँच लाखदेखि १५ लाखभित्रको लगानीमा सञ्चालन गर्न सकिने उद्योगका उत्पादन प्रदर्शनी, व्यवस्थापकीय जानकारी र अन्य कानूनी परामर्श युवालाई दिइने अग्रवालको भनाइ छ ।

महोत्सवलाई कृषि, पर्यटन प्रबद्र्धन, उद्योग स्थापना र युवा स्वरोजगार कार्यक्रमसँग जोडिने महोत्तरी चेम्बरले जनाएको छ । बर्दिबासमा टिसर्ट / ट्र्याकसुट , जुत्ता/चप्पल, ढोका/झ्याल, आइसक्रिम र मैनबत्ती/अगरबत्ती बनाइनेसहितका कारखाना सञ्चालित छन् । महोत्सवका सहभागीलाई यी कारखाना अवलोकन गराइने चेम्बरका सचिब सुदर्शन काफ्ले बताउनुहुन्छ ।

चल्ताफिर्ता पानीपुरी बनाउने र ग्राहक आफैंले भाँडा थापेर लिन सक्ने सुविधाको मसिन, सेनेटरी प्याड बनाउने , अचार बनाउने, कृषि उत्पादनका बिभिन्न परिकार बनाउने र यस्तै प्रकृतिका ससाना उपकरण प्रयोगमा आएका हुँदा यीबारे युवा पुस्तालाई चासो जगाइने महोत्सव आयोजकको भनाइ छ । यसबाहेक कृषिमा प्रयोग हुने कुटो, कोदालो, बञ्चरो, हँसिया र फालीजस्ता स्थानीय उत्पादनलाई प्रबद्र्धन गर्नु महोत्सवको अभिष्ठ रहेको महोत्तरी चेम्बर अफ कमर्सका उपाध्यक्ष हरि काफ्ले बताउनुहुन्छ । महोत्सवभरि आधुनिक कृषि प्रणालीको कुशल सञ्चालन र व्यवस्थापनबारे विज्ञबाट जानकारी दिइने व्यवस्था छ ।

लघु उद्यमसँग सम्बन्धित १५० वटा स्टल महोत्सवमा रहने जनाइएको छ । यसबाहेक जिल्लामा पर्यटन प्रबद्र्धनको सम्भावना र यस क्षेत्रमा भईरहेका प्रयत्न र उपलब्धीबारे वृतचित्र देखाइने र चासो बढाउने आयोजकले जनाएका छन् । स्थानीय कला, संस्कृतिको प्रस्तुति , मिथिला कलाको प्रदर्शनी महोत्सवमा गरिने छ । महोत्सवको आयोजनाले स्थानीय उत्पादनको प्रचारप्रसार, लघु उद्यम स्थापना र सञ्चालनबारे चासो वृद्धि र कृषि प्रबद्र्धनमा प्रचारात्मक टेवा पुग्ने महोत्तरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहन गुप्ताको भनाइ छ ।

२०७८ पुष २०, मंगलवार २०:१४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय