बर्दिबास : महोत्तरीको बर्दिबास नगरपालिका-१ रातु नदी किनारमा ‘रातु ठाकुर मोक्ष धाम’ निर्माणको कामले गति लिदैछ । मान्छेको अन्तिम विश्रामस्थल मानिने अन्तेष्टिस्थल निर्माणमा स्वस्पूmर्त सहयोग जुट्दै गएपछि ‘धाम’ निर्माणको कामले गति लिएको हो ।

रातु नदी किनारमा अहिले हिन्दू संस्कार विधिले गरिने अन्तेष्टिका लागि धमाधम पाँच वटा चितास्थल (शवदाहस्थल) बनाइँदैछन् । पाँच बिघा सात कठ्ठा क्षेत्रको धामलाई सुगम, मनोरम र सुरक्षित बनाउन थालिएका प्रयत्नमा मनकारी दाताहरुले बिभिन्न जिम्मेवारी लिएर काम बढाएपछि अब ‘धाम’ निर्माणले गति लिएको ‘रातु ठाकुर मोक्ष धाम’ निर्माण तथा व्यवस्थापन समितिका अध्यक्ष कृष्ण देवकोटा बताउनुहुन्छ ।

“जीवनको अन्तिम सत्य त मृत्यु रहेछ, अनि श्मसान अन्तिम विश्रामस्थल” अध्यक्ष देवकोटा भन्नुहुन्छ, “हिन्दू दर्शनले भौतिक पञ्चतत्वले बनेको शरीर नासवान भएपनि आत्मा अविनासी हुन्छ भनेको छ, त्यसैले मृतक व्यक्तिको आत्माले शान्ति पाओस् भन्ने हेतुले व्यवस्थित ‘धाम’ निर्माणमा जुटेका हौं ।”

पूर्वपश्चिम राजमार्गको रातु पुलको उत्तरतर्फ नदीको पश्चिम किनार बर्दिबास नगरक्षेत्रका हिन्दूहरुको अन्तेष्टिस्थल रहँदै आएको छ । अहिले यसै ठाउँको पाँच बिघा सात कठ्ठा क्षेत्रफलको नदीउकास जग्गालाई घेराबेरा गरेर ‘धाम’ निर्माण गरिन लागिएको हो ।

राजमागर्बाट मोटर बाटो निर्माणाधिन धामसम्म पुर्‍याइएको छ । धाम परिसरभित्र बर्दिबासका युवा उद्यमी कुमार भण्डारीले ‘रातु ठाकुर’ (नदीका देवता) र बर्दिबासकै स्थानीय कृष्णबहादुर हमालले श्मसानका रखवाला मानिने भगवान शिवको मन्दिर बनाउँदै हुनुहुन्छ । पसिरभित्र दाताहरुको सहयोगबाटै चार कोठे पक्की धर्मशाला निर्माण भइसकेको छ । यसैगरी बर्दिबास-९ पशुपतिनगरका घुरन महतो र रामनारायण महतोले निजी खर्चमा छुट्टाछुट्टै मलामी बस्ने पक्की घर बनाउँदै हुनुहुन्छ । चारवटा शौचालय निर्माण चरणमा छन् । एक लाख ५० हजार लिटर पानी भण्डारण क्षमताको टङ्की निर्माणको काम अन्तिम चरणमा छ । खानेपानीका धारा व्यवस्थित गरिदैछन् । अध्यक्ष देवकोटाले धाम निर्माणमा भइरहेका कामबारे विस्तारपूर्वक जानकारी दिनुभयो ।

“हामी पूर्वी नेपालका सुनसरी र झापामा स्थानीय प्रयत्नबाट सर्पदंश उपचारमा भइरहेका कामबारे अवलोकन गर्न गएका थियौं” सर्पदंश उपचार केन्द्र बर्दिबास-३ गौरीडाँडा सञ्चालक समितिका अध्यक्षसमेत रहनुभएका देवकोटाले भन्नुभयो, “त्यसैक्रममा सुनसरीको इटहरीमा व्यवस्थित अन्तेष्टिस्थल देखियो, त्यसैबाट प्रेरित भएर यहाँ ‘धाम’ निर्माणको हुटहुटीले काम थालिएको हो ।”
गरौ भनेर काम थालेपछि सहयोगी हातहरुको साथ पाइने देवकोटाको अनुभव छ । सर्पको बिगबिगी हुने बर्दिबासमा उपचार केन्द्र सञ्चालनको काम थाल्दा पाएको सहयोगले ‘धाम’ निर्माणमा हौस्याएको देवकोटा बताउनुहुन्छ ।

“कहाँबाट जुट्ला भनेर पहिल्यै तर्सदा त के गर्न सकिन्छ र ? तर राम्रो काममा सहयोग गर्ने ठाउँमै आइपुग्ने मेरो पूर्वअनुभवले काम गरेको छ ।” आपूmले अब धाम बनाउने भन्ने सङ्कल्प गरेर काम थालेपछि एकपछि अर्को सहयोग थपिदै गएको देवकोटाले बताउनुभयो । धाम परिसरमै दाउरा डिपो व्यवस्थित गरिन प्रकृया थालिएको पनि उहाँले जानकारी दिनुभयो ।

“चितास्थल आगोले नफुट्ने चाहिन्छ, त्यसैले यसको पक्का सुर्खीचुनले प्लाष्टर गरिदैछ , यो पनि सहयोगबाटै जुटेको हो” देवकोटा भन्नुहुन्छ, “धाम निर्माणमा लाग्ने ३० हजार इटामध्ये २५ हजार त जिल्लाकै निगौलका बासिन्दा समाजसेवी लक्ष्मी महतोबाट प्राप्त भएको छ, त्यसैगरी धेरैजसो सिमेन्ट युवा उद्यमी कुमार भण्डारीबाट प्राप्त भएको छ ।” ‘राम्रो काम तँ चिता म पुर्‍याउँला भगवानले भन्छन् रे’ भन्ने आहान सम्झदै देवकोटाले थालेदेखि काम रोक्नु नपरेको बताउनुभयो । “यहाँ लागेका सामग्री सबै दाताबाटै प्राप्त हुन् , म त निमित्तमात्र हुँ” देवकोटा भन्नुहुन्छ ।

bardibas_1nepalvani

धाम निर्माणका लागि सर्वपक्षीय भेलाले एक वर्ष पहिले देवकोटाको नेतृत्वमा ‘रातु ठाकुर मोक्ष धाम , निर्माण तथा व्यवस्थापन समिति’ गठन गरेसँगै काम थालिएको थियो । कामले अब निश्चित आकार लिईसकेको देख्दा अब आफ्नै ठाउँमा व्यवस्थित अन्तेष्टि घाट चाँडै प्रयोगमा आउने यसभेगका बासिन्दामा विश्वास जागेको छ । रातु पूर्वको धनुषा जिल्लाको मिथिला नगरपालिका र पश्चिमको बर्दिबास नगरपालिका क्षेत्रमा व्यवस्थित अन्तेष्टि घाट नहुँदा जताततै गरिने अन्तेष्टि अब व्यवस्थित हुने आश पलाएको यस भेगका बासिन्दा बताउँछन् ।

२०७८ चैत्र १६, बुधबार १५:२४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय