
राजविराज : चट्याङ लागेर बिहीबार बिहान सप्तरीमा मृत्यु हुनेकाे संख्या ४ पुगेको छ भने गम्भीर घाइते एक किशाेरी उपचाररत छिन् ।
सांकेतिक तस्बिर।
कोसीमा नुहाउन गएका बेला बेला कोसी ब्यारेजको पुल नजिक चट्याङ लागेर २ जनाको ज्यान गएको हो । महदेवा गाउपालिका २ का ६० वर्षीय छेदी ठाकुर र २७ वर्षीय बेचन यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्याल्य सप्तरीका प्रहरी निरीक्षक सन्तोष खडकाले जानकारी दिए ।
घरमा पूजा लगाएर नुहाउन गएका उनीहरु कोसी ब्यारेज पुगेका थिए । यसैगरी खेतमा धान रोप्न गएको बेला चटयाङ लागेर डाक्नेश्वरी नगरपालिका ९ लछनपटीका ३० वर्षीया ललितादेबी यादवको मृत्यु भएको प्रहरी निरीक्षक खडकाले जनाए ।
चटयाङ लागेर गम्भीर घाइते रहेका राजगढ गाउँपालिका बेल्ही चपेनाका ४५ वर्षीय केसीलाल साहको उपचारका क्रममा गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा मृत्यु भएको सप्तरीका डीएसपी तिलक भारतीले बताए ।
यस्तै आँगनमा काम गरिरहेकी १८ वर्षीया आशा मण्डललाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भर्ना गरिएको छ ।
मृतकका परिवारलाई प्रदेश सरकारकाे एक लाख सहयोग
मृत्यु भएका ३ जनाको परिवारलाई प्रदेश सरकारले एक–एक लाख रुपैयाँ दिने भएको छ । प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले प्रदेश सरकार घटनाबाट मर्माहत भएको बताउँदै तीनैजनाको परिवारलाई एक–एक लाख रुपैयाँ दिने बताए ।