
जनकपुरधाम : जनकपुरधाम सहित मिथिलाञ्चल क्षेत्रमा आज जानकी नवमी मनाईंदैछ ।
प्राचीन मिथिलाका राजा जनककी छोरी आदर्श नारी सीताको जन्म वैशाखको शुक्ल पक्ष नवमीका दिन भएको धार्मिक मान्यता अनुसार आजका दिन प्रत्येक वर्ष जानकी नवमी मनाउँने गरिन्छ ।
जानकी नवमीको अवसरमा बिहानैदेखि जनकपुरको जानकी मन्दिर, राम मन्दिर, जनक मन्दिर, लक्ष्मण मन्दिर लगायतमा पूजा गर्ने श्रद्धालुहरुको भीड लागेको छ ।
केहि वर्ष अघिसम्म औपचारिकतामा मात्र सीमित हुने जानकी नवमी केही वर्ष यता विभिन्न कार्यक्रम गरी धुमधामसँग मनाउने गरिएको छ ।
सीताको जन्मोत्सवमा सहभागी हुन एवम् पूजापाठ गर्न नेपाल तथा भारतका विभिन्न स्थानबाट श्रद्धालु भक्तजन तथा पर्यटक जनकपुरधाम आएका छन् ।
यता मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले जानकी नवमीको शुभकामना व्यक्त गर्दै प्रदेशमा सार्वजनिक बिदा रहेको जानकारी दिएका हुन् । जानकी नवमीले जनकपुरधाम र मधेश प्रदेशको गरिमालाई विश्व स्तरमा स्थापित गर्ने भएको हुँदा यस पर्वको गरिमाको संरक्षण, सम्बर्धन र प्रचारप्रसारमा प्रदेश सरकार हरसम्भव रहदै आएको मुख्यमन्त्री राउतले जनाएका छन् ।