
महोत्तरी : जङ्गली हात्तीले महोत्तरीको बर्दिबास नगरपालिकाभित्र पाँच घर भत्काइदिएको छ । हात्तीले बर्दिबास –८ मा चार र वडा नं १० मा एक घर भत्काएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीले जानकारी दिए ।
उनका अनुसार रातका समयमा जङ्गलबाट आएका हात्तीको झुन्डले जितबहादुर योञ्जन, सोमबहादुर तामाङ, बुद्धिमान सिग्देल र जयकिसुन महतोको घर भत्काएको थियो ।
अँध्यारोको बेला अचानक आएका हात्तीले एकाएक घर भत्काउन थालेपछि गाउँभरि हो–हल्ला भएको र घरधनीहरूले घर छाडेर भागेका थिए ।
हात्तीको उपद्रवबाट घरभित्रका सबैथोक नष्ट भएको छ भने घर भत्किएर ती परिवारको बिजोग भएको छ । हात्तीको आक्रमणबाट मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।