बर्दिबास : बर्दिबास अस्पतालको प्रसुतीगृहलाई कक्ष सञ्चालन सहज बनाउन स्वास्थ्य सामग्री (उपकरण) प्रदान गरिएको छ ।
वल्र्ड भिजन इण्टरनेशनल नेपालको सहयोगमा जिल्लास्थित समाजिक संस्था समाज विकास केन्द्र महोत्तरीले तीन लाख ४७ हजार ६६२ मूल्यका स्वास्थ्य सामग्री (उपकरण) आज आइतबार बर्दिबास अस्पताललाई प्रदान गरेको हो । केन्द्रका अध्यक्ष नइम अन्सारीले अस्पताल विकास समितिका अध्यक्ष जयनारायण शर्मालाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको हो ।
अस्पताललाई प्राप्त सामग्रीमा बेबी वार्मर-एक थान, इक्जामिनेसन बेड-५ सेट, इन्स्ट्रुुमेण्ट ट्रली-२ सेट, ड्रेसिङ्गसेट-५ सेट, स्ट्रेचर-५ सेट र ह्विलचेयर-५ सेट प्राप्त भएको अस्पताले जनाएको छ । प्राप्त सामग्रीले पसुतीकक्ष सञ्चालनमा तत्कालनै महत्वपूणर् सहयोग पुगेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. कृष्णा महर्जनले बताउनुभयो ।
केन्द्रले कोभिड-१९ प्रतिकार्य कार्यक्रमअन्तर्गत सामग्री अस्पताललाई प्रदान गरिएको जनाएको छ । कोभिड-१९ सघन सङ्क्रमण बढेका बेला बर्दिबास अस्पतालले महोत्तरीमात्र नभएर आसपासका जिल्लाका बासिन्दालाई पनि कोभिड-१९ जाँच (पिसिआर र आरडिटी जाँच) , क्वारेन्टाइन र भेन्टिलेटरसहितको आइसोलेसन सञ्चालन गरेर सेवा प्रवाह गरेको हुँदा सामग्री प्रदान गरिएको केन्द्रका अध्यक्ष अन्सारीले बताउनुभयो ।
जिल्लाका सरकारी अस्पताललाई साधन सम्पन्न बनाएर आम जनताको स्वास्थ्य उपचारमा पहुँच बढाउन आवश्यक रहेको स्वास्थ्यविज्ञ बताउँछन् । बर्दिबास अस्पताललाई प्राप्त सामग्रीले प्रसुतीकक्ष साधन सम्पन्न बनाउन सहयोग पुगेको अस्पताल विकास समितिका अध्यक्ष शर्माको भनाइ छ ।