rpt

मटीहानी (महोत्तरी) : बढ्दो जाडोबीच मटिहानी नगर कार्यपालिका कार्यालयले नगरक्षेत्रका बस्तीपिच्छे एकीकृत घुम्ती सेवा दिन थालेको छ । आम नागरिकका लागि अत्यन्त महत्वपूणर् र आवश्यक सेवा नगर कार्यपालिका कार्यालयले हिजो बुधबारदेखि नै वडा बस्तीमा दिन थालेको हो ।

घुम्ती शिविरमा योजना सम्बन्धि अभिमुखीकरण, योजना सम्झौता , व्यवसाय दर्ता तथा नविकरण, जेष्ठ नागरिक परिचयपत्र वितरण, अपाङ्गता परिचयपत्रको लागि आवेदन सङ्कलन, निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधी वितरण, माटो परीक्षण (कृषि कार्यका लागि) कृषि विद्युत मीटर सिफारिस तथा तरकारीको मिनी किट वितरण, पशु बस्तुको गोबर र गर्भ परीक्षण, पशुपंक्षी सम्बन्धी परामर्श तथा औषधी वितरण, राजस्व असुली, गरिब परिचयपत्र वितरण र वडाबाट प्रवाह हुने व्यक्तिगत घटना दर्तालगायतका सेवाहरु छन् । आफ्नै टोल बस्तीमा अत्यावश्यक सेवा पाएपछि सेवाग्राहीले राहत महसुस गरेका छन् ।

घुम्ती एकीकृत सेवा शिबिरमा सबैभन्दा बढी स्वास्थ्य जाँच गराउनेको पङ्ति लामो देखिएको छ । नगरका नौ वटै वडाका सबै टोल बस्तीमा पुस भरिमा पहिलो चरणको सेवा पुर्‍याइ सकिने नगर कार्यपालिकाको कार्यालयले जनाएको छ । बुधबार नगरपालिकाको एक नम्बर वडाको सानो धिरापुर बस्तीबाट एकीकृत घुम्ती सेवा थालिएको हो ।

”जाडो बढेसँगै बस्तीबस्तीमा स्वास्थ्य समस्या बढेका सूचना पाएपछि हामीले स्वास्थ्य शिबिर सञ्चालनबारे सोच्यौं, यससँगै अन्य दैनिक प्रयोजनका प्रशासनिक सेवा पनि थपौ भन्ने कार्य समितिका सदस्यबाट सुझाव आयो” नगरप्रमुख हरिप्रसाद मण्डलले भन्नुभयो, “हामीसँग रहेको स्रोत साधन र जनशक्ति परिचालित गर्दा आम नागरिकलाई राहत पुग्ने ठानेर सुरु गर्‍यौं ।”

एकीकृत घुम्ती सेवाभित्रै कृषि क्षेत्रका माटो परीक्षण , तरकारीका बीउविजन र अन्य परामर्श पनि पाइएपछि किसानले खुशी व्यक्त गरेका छन् । दैनिक प्रयोजनका प्रशासनिक सेवा, स्वास्थ्य जाँच र प्राथमिक उपचार एबम् घरपालुवा पशुबस्तुको पनि स्वास्थ्य परीक्षण आफ्नै घर बस्तीमा पाएपछि मटिहानीबासी आफ्ना प्रतिनिधिबारे थप भरोसा जागेको बताउँछन् ।

घुम्ती शिबिरमा नगरप्रमुख मण्डल, उपप्रमुख मञ्जुदेवी साह, सम्बन्धित वडाका अध्यक्ष र सदस्यहरु, नगर कार्यपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत र सम्बद्ध सेवाक्षेत्रका अधिकारीको नियमित अनुगमन रहेको कार्यालयले जनाएको छ ।

२०७९ पुष २१, बिहीबार १०:५८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय