
सिरहा: शिक्षिकाको लापरबाहीले विद्यार्थीका मृत्यु भएको भन्दै सिरहाको मिर्चैया नगरपालिका-६ स्थित सगरमाथा माविका विद्यार्थी आन्दोलित भएका छन्।
आज (आइतबार) बिहानैदेखि आन्दोलनमा उत्रिएका विद्यार्थीहरुले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरिरहेका छन्। उनीहरुले मिर्चैयामा रहेको इलाका प्रहरी कार्यालयमा ढुंगामुढासमेत गरेका छन्।
ढुंगामुढाबाट प्रहरी कार्यालयमा क्षति पुग्नुको साथै पाँचजना प्रहरी घाइते भएको जनाइएको छ।
शिक्षिकाले पानी भनेर झुक्किएर स्प्रिट दिँदा सगरमाथा मावि कक्षा ८ मा अध्ययनरत १५ वर्षीया छात्रा सिर्जना कुमारीले महराको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार शुक्रबार पेट दुखेर सिर्जनाले औषधि खान शिक्षिका अम्बिका लम्सालसँग पानी मागेकी थिइन्। शिक्षिका लम्सालले पानी भनेर झुक्किएर स्प्रिट दिएको र त्यो खाएपछि सिरहा–११ भलुवाहीकी सिर्जनाको मृत्यु भएको हो।
कर्जन्हास्थित फुलकुमारी महतो मेमोरियल अस्पतालमा उपचारका क्रममा शनिबार साँझ सिर्जनाको मृत्यु भएको हो।