
नेपालवाणी / जनकपुरधाम ।
जनकपुरका दुई युवाको अपहरण पश्चात् हत्या प्रकरणमा दोषिलाई कारवाहीको माग गर्दै जनकपुरधाममा गृहमन्त्री राजिनामा माग्दै प्रदर्शन गरेको छ । जनकपुरबाट आफन्तको घर गएका दाजु–भाईलाई अपहरण पश्चात भारतमा लगेर हत्या गरी फिरौती मागेको घटनामा स्थानीयबासी तथा मृतकका परिवारजन आन्दोलित हुँदै गृहमन्त्री रवि लामिछोनेको राजिनामा माग गर्दै न्यायका लागि प्रदर्शन गरेका हुन् ।
आइतबार जनकपुरधाम–९ पिडारी चोकमा प्रदर्शन गर्दै चक्काजाम समेत गरेको हो । उनीहरुले प्रहरी प्रशासनको कमजोरी र लापरवाहीले युवकद्वयको हत्या भएको भन्दै प्रदर्शन गरेको हो । हत्या गरिएका विष्णु र रोहित साहको हत्यामा संलग्नलाई अनुसन्धानको दायरामा ल्याई कारवाही गर्न माग गरेको छ । पीडित परिवारले अपहरणकारीको फोन आउँदा आफूहरुले उसको कल रेकर्ड तुरुन्त प्रहरीलाई पठाउने गरेपनि अहिले प्रहरीले झुठो बोलेर घटनालाई मोड्न थालेको आरोप लगाएका छन् ।
प्रहरीले विष्णु र रोहितको अपहरणपश्चात् पनि खोजतलासमा कुनै सहयोग नगरेको परिवारजनको आरोप छ । परिवारजनको आग्रह अनुसार प्रहरीले घटनाको अनुसन्धान गरेको भए दुबैजनाको ज्यान जोगिने सम्भावना रहेको परिवारजनको भनाइ छ । उनीहरुले स्थानीय प्रशासनको लापरबाहीले हत्या भएको आरोप लगाउँदै गृहमन्त्री रवि लामिछानेको राजीनामाकोे समेत माग गरेका छन् ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–८ बस्ने जगदिश साहका २२ वर्षीय छोरा रोहित साह र वडा नम्बर–१३ बस्ने रामबाबु साहका २५ वर्षीय छोरा विष्णु साहको हत्या गरिएको अवस्थामा आइतबार बिहान भारतको बिहार राज्यको परिहार स्थित पर्सा गाउँको पश्चिम तर्फको चौरमा शव फेला परेको थियो ।
गत पुस २७ गते एकाएक बेपत्ता भएका दुबैजनाको परिवारलाई अपरहरणकारीले गत सोमबारसम्म भारतीय नम्बरबाट फोन गरी ५० लाख रुपैयाँ फिरौती मागेको थियो । अपहरणकारीले विष्णुको आवाज रेर्कड गरेर उनका आफन्तलाई फोनबाट सुनाएका थिए ।
परिवारले अपहरणकारीलाई २० लाख दिन राजी भएका पनि थिए । अपहरणकारीले २० लाख रुपैयाँ लिएर सर्लाहीको मलंगवा नाका नजिक बोलाएपछि परिवारजनले प्रहरीलाई जानकारी गरायो । तर, गत मंगलवारदेखि अपहरणकारीको मोबाइलमा सम्पर्क हुन छोडेको थियो ।
घटनापश्चात प्रहरीले अहिलेसम्म ९ जनालाई पक्राउ गरेको छ । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले नेपालबाट ४ र भारतबाट ५ गरी ९ जनालाई पक्राउ गरेको एसपी खड्काले जानकारी दिए ।