महोत्तरी : गणतन्त्र दिवसले महोत्तरीको बर्दिवास नगरपालिका–१० र ११ को चुरे काछका बासिन्दालाई खुसी दिएको छ । सधैँ खोलाको धमिलो पानी खाँदै आएका काछवासी अब घरघरै जडित धारामा पानी चलेपछि दङ्ग छन् ।

बर्दिवास–१० को चुरे काछको भालुजोरा बस्तीकी ६० वर्षीया सञ्चमाया तामाङको अनुहारमा अहिले चमक छाएको छ । वर्षौंदेखि पाखाको बसोबासमा राम्ररी पानी खान नपाएकी तामाङको अनुहारमा आँगनमै जडान गरिएको धारामा पानी चलेपछि खुसीको चमक छाएको हो । बर्दिवास–१० र ११ का चुरे काछका विकट बस्तीका एक सय ९४ घर परिवारका लागि २०७८ फागुनमा थालिएको झ्याउरे भाङ्ग्रे खानेपानी आयोजनाबाट जडान गरिएको धारामा आइतबार पानी चलेपछि भालुजोराका बासिन्दालाई ठूलो राहत मिलेको छ ।

“अबो त आफ्नै आँगनकै धारामा पानी चल्यो”, धाराको टुटी खोलेर अम्खोरामा पानी थाप्दै तामाङले भन्नुभयो, “पानी लिन अबो खोला झर्नु परोइन ।” रोटरी क्लब बर्दिवास र बर्दिवास नगरपालिकाले संयुक्तरूपमा सुरु गरेका आयोजनाबाट निर्मित धाराबाट गणतन्त्र दिवसको पूर्वसन्ध्यामा हिजो आइतबार भालुजोराका २५ घरका धारामा पानी चलेको छ । क्लब र नगरपालिकाले ७१ लाखको लागत अनुमानको इष्टिमेटअनुसार थालेका यो आयोजनामा अहिले २५ वटा धारा चलेका हुन् ।

चुरे काछका शिर, बम्जनटार, पूर्वखोला, झ्याउरे, आँपडाँडा, सात दिने, भालुजोरा, भाङग्रे, गर्दी दोभानसहितका पाख्रा बस्तीका बासिन्दालाई शुद्ध पानी ख्वाउने यो आयोजना निरन्तर अघि बढाइने रोटरी क्लब बर्दिवासका अध्यक्ष विजयकुमार महतोको भनाइ छ । “हामीले राष्ट्रिय पर्वको अवसर पारेर केही घरलाई मात्रै भए पनि धारा खोली दियौँ”, बर्दिवास–१४ का वडाध्यक्षसमेत रहनुभएका अध्यक्ष महतोले भन्नुभयो, “अब सबैलाई पानी दिइन्छ भन्ने विश्वास जाग्यो ।” घर आँगनका धारा चलाउन नगरप्रमुख प्रह्लाद क्षत्रीसहितका जनप्रतिनिधि र क्लबका पदाधिकारी आइतबार चुरे काछ बस्ती पुग्नुभएको थियो ।

काछको भालुजोरा बस्तीमा अहिले खुसी छाएको छ । “बल्ल शुद्ध खानेपानी पाइने विश्वास जाग्यो” भालुजोरामा धारा चलेपछि अब आफ्नो बस्तीमा पनि काम बढ्ने विश्वास बढेको बताउने भाङ्ग्रे बस्तीकी गङ्गीमायाँ गोले भन्नुहुन्छ, “खै यो बर्खाअघि धारा चले त यसैपालि धमिलो पानीबाट छुटकारा मिल्थ्यो ।” सघन वर्षा सुरु हुनपूर्व नै धारा चलाइदिन गोलेले नगरप्रमुख क्षत्रीसँग आग्रह गर्नुभयो ।

सिन्धुली र महोत्तरी छुट्याउने चुरे पहाड दक्षिणको काछमा अवस्थित बर्दिवास नगरपालिकाका यी बस्ती शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात र सञ्चार सुविधाबाट पूरै बेखबर झैँ छन् । “के गरम् गरिबको घरमा जन्म भोइछ (भएछ), बाउ (बाबु) पुर्खा यहीँ बसेका छन्, जे जस्तो छ आफ्नो ठाममा रमाइन्छ”, भालुजोरा बस्तीका ७० वर्षीय संसारसिंह थिङ् भन्नुहुन्छ, “अबो (अब) पानी आयो, अरु थोक पनि विस्तारै आउला ।”

चुरे काछका यी बस्ती चुरेबाट निस्कने नदीहरूका दायाँबायाँ थुम्कामा छन् । हिउँदभरि कहीँ डिँड्डुल गर्न, बजार जान सजिलै सकिए पनि खोलाकै बाटो हुनाले वर्खा लागेपछि यहाँका बासिन्दा घरघरै थुनिन्छन् । “न बाटो, न पुलपुलेसा…! बर्खा लागेपछि त हाम्रो संसार भनेको आफ्नै घर ओरिपरि हो” बर्दिबास–१० कै बम्जनटारका ७० वर्षीय पूर्णबहादुर बम्जन नगरप्रमुखसहिततर्फ देखाउँदै भन्नुहुन्छ, “जे होस् ठूलाबडाको नजरमा परेछ, सबथोक पाइएला ।”

रोटरी क्लबले ८० र बर्दिबास नगरपालिकाले २० प्रतिशत लागत जुटाउने यो आयोजना त्यतिखेर आर्थिक वर्ष २०७८÷७९ भित्रै सम्पन्न गरिने बताइएको थियो । तर रकमको तारतम्य र अन्य तयारीका काम गर्दागर्दै नभ्याइएको क्लबका अध्यक्ष महतोको भनाइ छ । यी बस्तीका एक सय ९४ परिवारका घरघरमै धारा जडान गरेर पानी दिइएपछि एकहजार एक सय ८५ जनसङ्ख्या लाभान्वित हुने महतोले बताउनुभयो । लाभान्वित हुने जनसङ्ख्यामा छ सय ७० महिला र पाँच सय १५ पुरुष रहेका क्लबले जनाएको छ ।

बम्जनटारस्थित पाखाको कापस्थित पुरानो जरुवा मुहानलाई पक्की पर्खालले घेराबेरा गरी पानी सञ्चित गरेर दुईवटा ट्याङ्की निर्माण गरिएर पानी भण्डारण गरिएको छ । अब ट्याङ्कीमा जम्मा भएको र लगातार भइरहने प्रशोधित पानी पाइपबाट घरघरै धारा जडान गरेर वितरण थालिएको हो । बाँकी सेवाग्राहीलाई पनि यसै आर्थिक वर्षभित्र धाराको पानी ख्वाउने गरी काम गरिने नगरप्रमुख क्षत्रीले काछवासीलाई आश्वस्त पार्नुभएको छ ।

झट्ट सुन्दा मधेसको महोत्तरी जिल्ला सुगम भन्ने बुझिए पनि यी बस्ती चुरे पर्वत श्रेणीका दर्जनौँ कान्ला र पखेरा छिचोल्दै खोल्साखोल्सीको बाटोबाट पुग्नुपर्छ । हिउँदमा खोलाको बगरैबगर वनसम्पदा र नदीजन्य वस्तु (बालुढुङ्गा) ओसार्न चल्ने ट्र्याक्टरबाहेक यहाँका बासिन्दाले मोटर बसलगायतका आधुनिक सवारी साधन देख्न २० किलोमिटर बाटो छिचोलेर पूर्वपश्चिम राजमार्ग आइपुग्नु पर्छ । स्वास्थ्य संस्था र बजार भेट्न आफ्नै वडा भए पनि १३ किमी दूरीको खयरमारा बजार पुग्नुपर्ने यहाँका बासिन्दाको बाध्यता छ ।

यी करिब आधा दर्जन बढी बस्तीका बीच भाङ्ग्रेमा एउटा आधारभूत तहको विद्यालय छ । पाँच कक्षा उत्तीर्ण गरेपछि पढ्न १५ किलोमिटर दूरीको खयरमारास्थित लक्ष्मीनारायण माध्यमिक विद्यालय पुग्नुपर्छ । यो असुविधाले रहर हुँदाहुँदै धेरैजसो बालबालिका पढाइ छाडेर बाख्रा गोठालो बन्न विवश भएका पूर्वखोला बस्तीकी सनसरीमाया थिङ बताउनुहुन्छ ।

“क्या गर्नी हजुर, पाँचसम्म त भुराभुरी (छोराछोरी) ले यैं (यहीँ) गाउँमा पढ्यो, मोन (मन) त छ नि, यी पढालेखा गरुन् भन्ने तर सावगासले दिएन”, छोराछोरी पढाउन नसकेको विवशता खोल्दै थिङले भन्नुभयो । पूर्वपश्चिम राजमार्ग र बर्दिवास–सिन्धुली–बनेपा सडक (बिपी राजमार्ग) को सङ्गम रहेको बर्दिवास चोक र चुरे काछका यी बस्ती एउटै पालिका (स्थानीय तह) मा पर्छन् । यी मार्ग हुँदै यात्रा गर्ने जोसुकैको कल्पनामा बर्दिवास नगरपालिका भन्नासाथ समृद्ध नगरको कल्पना आउन सक्छ । तर यसै नगर क्षेत्रभित्रका चुरे काछका बस्तीका बासिन्दाले चामलको भात खान चाडपर्व कुर्नुपर्ने अवस्था रहेको बर्दिवास–११ का सामाजिक कार्यकर्ता नीरनाथ गेलाल बताउनुहुन्छ ।

“यी बस्ती राजनीतिक पहुँचबाट निकै टाढा छन्, कतिपय यसै भूगोलका जनप्रतिनिधि नै आफ्नो क्षेत्रको विकटताबाट अपरिचित छन्”, गेलाल भन्नुहुन्छ, “अहिले नगरप्रमुखले काछवासीलाई पानी ख्वाउने तत्परता देखाउनुभएको जस्तो लाग्छ, यसले सार्थकता पाओस् ।” यहाँका बासिन्दाले ठूलाबडाबाट बाटोघाटो, खानेपानी, सिँचाइ, स्वास्थ्य संस्था र विद्यालयको आश्वासन पाए पनि काम भने केही हुन नसक्दा खानेपानीका धारा सबैले पाउने हुन्÷हैनन् विश्वस्त भइहाल्न नसकिएको गेलाल शङ्का व्यक्त गर्नुहुन्छ ।

अधिकांश तामाङ जाति समुदायको बसोबास रहेको यी बस्तीमा एकाध घर सार्की, कामी समुदायका दलित भेटिन्छन् । अनुकूल वर्षा हुँदा बिराएको पाखाबारीमा मकै र कोदो टिप्न पाइएको काछवासी बताउँछन् । खेतबारीमा लगाइएको अन्नबाली पनि बाँदर, बँदेललगायतका वन्यजन्तुले खाएर उब्रेको मात्र टिप्न पाइएको भालुजोराका पूर्ण ब्लोनको टिठलाग्दो भनाइ छ । यसबाहेक यहाँका बासिन्दाको गुजाराको व्यवसाय बाख्रा, कुखुरा र राँगापालन रहेको देखिन्छ ।

फसाद, दङ्गा, भीडभाड र गञ्जागोलबाट कोसौँ टाढाका चुरे काछका बासिन्दा न आपूm ढाँट कुरा गर्छन्, न अरु ढँटुवा छन्÷होलान् भन्ने यिनलाई लाग्छ । सोझो कुरा गर्ने र आफ्ना दुःखभित्र रमाउँदै आएका यहाँका बासिन्दालाई अहिले खानेपानीको धारा चल्न थालेपछि यहाँ चाडपर्व आए झैँ भएको छ । सबैको मुहारमा चमक..! सबैको प्रशन्न मुद्रा । “अबो हजुर पानीका लागि चैँ हाम्रो दुःखका दिन गएजस्तो छ” काम भइरहेको ठाउँमा बम्जनटार बस्तीकी कान्छीमाया बोम्जन भन्नुहुन्छ ।

“झट्ट भनिँदा महोत्तरीलाई मधेस प्रदेशको सुगम जिल्ला भन्ने बुझिन्छ”, जिल्लाका सामाजिक अभियन्ता बर्दिवास–६ कृष्णपुरका नीलबहादुर लुम्रेक मगर भन्नुहुन्छ, “तर यो सुगम जिल्लाभित्रकै चुरे काछका बस्तीका बासिन्दाको जीवन कहाली लाग्दो छ ।” यहाँका बासिन्दाको शिक्षा, स्वास्थ्य, बाटोघाटो, खानेपानी र पोषणयुक्त खानपानसहितका आधारभूत आवश्यकताको कुरा दन्त्य कथा जस्तै रहेको लुम्रेको थप टिप्पणी छ ।

चुरे काछका यी बस्तीलाई विकाससँग जोड्न स्थानीय तह, प्रदेश र सङ्घीय सरकारले संयुक्त पहलकदमी लिन पर्ने बुद्धिजीवीको मत छ । यो पहलकदमीको मुख्य समन्वय स्थानीय तहले गरेर यहाँका आवश्यकता पहिचान गरी प्रदेश र सङ्घीय सरकारलाई घचघच्याउन सके यहाँका बासिन्दाले मान्छे हुनुको गौरवबोध गर्नसक्ने नेपाल बुद्धिजीवी परिषद् महोत्तरीका उपाध्यक्ष बर्दिवास–१४ का बासिन्दा उद्धव भट्टराई बताउनुहुन्छ । “मुख्य त शिक्षा नै हो, यहाँका बालबालिकालाई कसरी माध्यमिक शिक्षासँग जोड्ने ? नगरपालिकाको शिक्षा शाखाले योजना बनाउन पर्छ”, भट्टराईको भनाइ छ । शिक्षासँगै क्रमशः स्वास्थ्य र अन्य सुविधा जोड्दै लानसके केही वर्षभित्रै यहाँको जीवनमा सकारात्मक परिवर्तन आउनसक्ने भट्टराईको थप भनाइ छ ।

२०८० जेष्ठ १६, मंगलवार ११:५३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय