काठमाडौं । अहिलेसम्मकै ठुलो मानिएकोसय किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका तस्करहरूको ‘कनेक्सन’ केही राजनीतिक दलका उच्च नेतृत्वसँग देखिएपछि राजस्व अनुसन्धान विभागका अनुसन्धान अधिकृतहरू सकस र दबाबमा पर्न थालेका छन् । अझै सत्तारुढ दल माओवादी केन्द्रकै केही नेतासँग तस्करको उठबस भएका केही तथ्यहरूसमेत देखिएपछि अनुसन्धान अधिकृतहरूलाई थप सकस परेको बताइएको छ । यद्यपि, अनुसन्धान नरोकिने दाबी विभागका अधिकारीहरूको छ ।

त्रिभुवन विमानस्थलको भन्सार प्रशासनलगायत सबै सुरक्षा निकायलाई छलेर बाहिरीनै लाग्दा राजस्व अनुसन्धान विभागले सिनामंगलको सडकबाट तस्करीको सय किलो सुन गत २ असारमा बरामद गरेको थियो । सो तस्करी प्रकरणमा संलग्न भएको आरोपमा राजस्व अनुसन्धान विभागको टोलीले सशस्त्र प्रहरीको सहयोगमा १८ जनालाई पक्राउ गरी छानबिन जारी राख्दै आइरहेको छ । विभागले आइतबार सुन तस्करीका प्रमुख योजनाकारमध्येका एक दावा छिरिङलाई पक्राउ गरेलगत्तै सुन तस्करीका थप तथ्यहरू पत्ता लाग्ने विश्वास अधिकारीहरूले गरेका छन् । तर, छिरिङको कनेक्सन केही उच्च राजनीतिक नेतृत्वसँग देखिएपछि अनुसन्धानमा वाधा पुग्ने चिन्तासमेत अनुसन्धान अधिकृतमा देखिएको छ ।

विभागका महानिर्देशक नवराज ढुंगानाले शुरूदेखि नै सय किलो सुन तस्करी प्रकरणमा जोसुकैको संलग्नता देखिए पनि नछोड्ने दाबी गर्दै आउनुभएको छ । अहिले उहाँकै नेतृत्वमा विभागले १ नम्बर, २ नम्बर र ५ नम्बर शाखा हेर्ने ३ जना उपसचिवको नेतृत्वमा छुट्टाछुट्टै टोली बनाएर अनुसन्धानमा खटाएको छ । १ नम्बर शाखाका प्रमुख कानुनतर्फका उपसचिव, २ नम्वर शाखाका प्रमुख प्रशासन तर्फका उपसचिव र ५ नम्बर शाखाका राजस्व तर्फकै उपसचिवको नेतृत्वमा तीन वटा टोली अनुसन्धानमा सक्रिय रहेका छन् । उनीहरूलाई सशस्त्र प्रहरीको टोलीले प्रत्यक्ष रूपमा सघाइरहेको छ ।

राजस्व अनुसन्धान विभागका अनुसार आइतबार ठमेलस्थित भियना होटलबाट पक्राउ परेका दावा छिरिङमाथि मुख्य अनुसन्धान केन्द्रित भइरहेको छ । विभागका सूचना अधिकारी नवराज अधिकारीले सुन तस्करी प्रकरणका मुख्य योजनाकारमध्येका एक मानिएका दावा छिरिङबाट थप प्रमाण आउन सक्ने जिकिर गर्दै नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘त्यसैले हाम्रो मुख्य अनुसन्धान उनीमाथि नै केन्द्रित छ।’ अधिकारीका अनुसार थप प्रमाण जुटाउन दावा छिरिङका साथमा भेटिएका इलेक्ट्रिक डिभाइसलाई प्रहरीको फरेन्सिक ल्याबमा पठाइएको छ भने उनको कल डिटेल्स लिने काम भइरहेको छ । दावा पक्राउपछि राजनीतिक दबाब बढेको हो भन्ने प्रश्नमा विभागका सूचना अधिकारी अधिकारीले त्यस्तो कुनै दबाब नआएको र दबाब आएमा सबै खाले दबाब अमान्य हुने दाबी गर्नुभयो । ‘विभागले स्वतन्त्र किसिमले अनुसन्धान गरिरहेको दाबी गर्दै अधिकारीले भन्नुभयो– ‘तथ्यले फेला पारेसम्म कसैलाई नछोडिने गरी अनुसन्धान अधिकृतहरू अघि बढिरहनुभएको छ ।’ यद्यपि, केही राजनीतिक नेतृत्ववाट विभागका दबाब आइरहेको स्रोतको दाबी छ । सुन तस्करीको जालोमा राजनीतिक नेतृत्व देखिए उनीहरूलाई बचाउने गरी अनुसन्धान अघि बढाउनुपर्ने अवस्थासमेत आउन सक्ने भएकाले विभागका अनुसन्धान अधिकृतहरू दबाब र सकसमा परिरहेको स्रोतको दाबी छ ।

विभागले विभिन्न ठाउमा तस्करका सेल्टरहरूमा छापा मारी महत्वपूर्ण कागजात बरामद गरिएको जनाएको छ । यद्यपि, सुन तस्करीमा संलग्न रहेका भनिएका राजेश अदुकियालाई भने विभागको टोलीले समयमा नै पक्राउ गर्न नसकेको भन्दै आलोचना हँुदै आइरहेको छ । यो प्रकरणमा शुरूमा नै मुछिएको हुन सक्ने आधार हुँदाहँुदै पनि विभागको टोलीले घटना घटेको एक सातापछि मात्रै अकुदियाको घरमा छापा मारेको थियो । त्यतिबेलासम्म अदुकिया बेपत्ता भइसकेको पाइएको छ । अकुदियालाई सरकारी पक्षले नै भगाएको हुन सक्ने आरोप लागेको छ ।

विभागकै अनुसन्धान अधिकृतहरूका अनुसार तस्करीमा विशेष गरी तीन वटा मुख्य समूहको संलग्नता रहेको देखिन्छ । जसअनुसार चाइनाबाट कारोबार गर्ने, नेपालमा ‘रिसिभ’ गर्ने र त्यसलाई भारतमा लगेर बिक्री गर्ने समूह सक्रिय रहेको अनुसन्धान अधिकृतहरूको विश्लेषण छ । तिनै समूहमध्येका एक प्रमुख दावा छिरिङ पक्राउ पर्नुले विभागका अनुसन्धान अधिकृतहरू सुन तस्करीको जालो फेला पर्न सक्ने आशामा देखिएको बताइएको छ । यद्यपि,विभिन्न खाले दबाबले अनुसन्धान प्रभावित हुन सक्छ कि भन्ने चिन्ता उनीहरूमा देखिएको स्रोतको भनाइ छ ।

राजस्वले समातेको सय किलो सुन टक्सार विभागमा अलपत्र

हङकङबाट आएको एक सय किलो सुन पक्राउपछि आफूलाई सक्रिय देखाउँदै आएको राजस्व अनुसन्धान विभागले सुनको तौल जाँचका लागि विभागबाट पत्र र कर्मचारी नपठाउँदा बरामद गरिएको सुन टक्सार विभागमा अलपत्र परेको छ ।

विभागले सुनको तौल र अवस्थाका बारेमा यकिन जानकारीका लागि नेपाल राष्ट्र बैंकको टक्सार विभागलाई सुन बुझाएको भएपनि टक्सार विभागले बरामद सुनको बारेमा अहिलेसम्म कुनै कारबाही अगाडि बढाएको छैन ।

विभागका सूचना अधिकारी नवराज अधिकारीले नेपाल समाचारपत्रलाई बरामद गरिएको सुनको थप कारबाही अगाडि बढ्न नसकेको जानकारी दिनुभयो । उहाँले पक्राउ परेको सुनको बारेमा अनुसन्धान गर्न अनुसन्धान अधिकारीहरू व्यस्त भएको र विभागले थप अनुसन्धानका लागि पत्रसमेत नपठाएको कारण बरामद सुनको बारेमा थप प्रक्रिया अघि बढ्न नसकेको बताउनुभयो ।

टक्सार विभागमा थन्किएको बरामद सुनको बारेमा विभागले ताकेता गरेको भएपनि राजस्व अनुसन्धान विभागबाट कुनै पत्र नआएकाले सुन जोख्ने र त्यसलाई रिफेम गर्ने कामसमेत रोकिएको बताइएको छ ।

बरामद गरिएको सुनलाई थप कारबाही अघि बढाउन अहिले अनुसन्धानमा खटिएका अनुसन्धान अधिकृत स्वयम उपस्थित भएपछि मात्रै टक्सार विभागले सुनको तौल लिने र त्यसलाई एकै ठाउँमा संकलन गरेर रिफेम गर्ने भएकाले थप कारवाही अघि बढ्न नसकेको सूचना अधिकारी अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘विभागको टोली अहिले विभिन्न निकायमा परिचालन हुनु परेको र सुन तस्करीको जालो पत्ता लगाउन विभिन्न ठाउँमा छापा मार्ने र तस्करीमा संलग्न व्यक्तिको खोजी केन्द्रित गर्नु परेकाले बरामद गरिएको सुनको बारेमा थप कारवाही अघि नबढेको हो।’

विभागले सिनामंगलबाट बरामद गरेको सुनको बारेमा औपचारिक रूपमा कुनै जानकारी गराएको छैन । समातिएको सुनको तौल कति हो? सुन सक्कली हो कि नक्कली हो? भन्ने बारेमा विभागले औपचारिक रूपमा कुनै जानकारी नगराउनुलाई रहस्यको रूपमा लिइएको छ ।

यस विषयमा राजस्व अनुसन्धान विभागका सूचना अधिकारी अधिकारीसँग सम्पर्क राख्दा उहाँले भन्नुभयो – ‘यस विषयमा छिट्टै औपचारिक रूपमा जानकारी दिने छौं ।’

साभारः newsofnepal

२०८० श्रावण १६, मंगलवार ०९:०१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय