
बर्दिबास, ६ पुस । पूर्वपश्चिम राजमार्गमा महोत्तरी/धनुषा छुट्याउँदै झर्ने रातु नदीमा भइरहेको उत्खनन्बारे यहाँका राजनीतिक दलले चासो बढाएका छन् । राजमार्गको रातु पुलबाट एक किलोमीटर तल (दक्षिण) सम्म दुई जिल्लाको साँध रही त्यसपछि महोत्तरी हुँदै बगेर भारत झर्ने रातु नदीका ठाउँठाउँमा अनियन्त्रित उत्खनन् बढेको भन्दै बर्दिबासका राजनीतिक दलले साझा चासो बढाएका हुन् ।
रातु नदीमा बर्दिबास नगरपालिकाले ठेक्का बन्दोबस्तबाट उत्खनन्को कार्यादेश दिएपछि अहिले नदीका कैयन ठाउँमा ठूलठूला यान्त्रिक उपकरणबाट बालुढुङ्गा निकाल्ने क्रम चलेको छ । यस क्रममा अजङ् अजङ्का बनेका खाल्डाले पानीको सतह गहिर्याउँदै लगेर अन्न र पानीको सङ्कट बढाएको आज शुक्रबार आठ राजनीतिक दलका प्रतिनिधिले संयुक्त विज्ञप्ती प्रसारित गर्दै सम्बद्ध पक्ष र सर्वसाधारणको ध्यानाकर्षण गराएका छन् । नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा माओवादीकेन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा नेपाल, नेकपा (एकीकृत समाजवादी), लोसपा नेपाल र जनमत पार्टीसहितका प्रतिनिधिले आज पत्रकार सम्मेलन नै आयोजना गरेर नदीमा भइरहेको उत्खनन् कार्यबारे आपूmहरुको चासो व्यक्त गरेका हुन् ।
“तीन वर्ष पहिले (आव २०७७/०७८) मा उत्खनन् इजाजत पाएका ठेकदार कम्पनीले तोकिएको परिमाणभन्दा सात गुणाबढी नदीजन्य पदार्थ उत्खनन् गरेका छानविन समितिको निष्कर्ष छ, त्यतिखेरको नगर नेतृत्वले त्यसविरुद्ध सम्बद्ध कम्पनीहरुविरुद्ध उच्च अदालतमा दिएको मुद्दा विचाराधीन नै छ” पत्रकार सम्मेलनमा नेपाली काँग्रेस महोत्तरी-१ का महाधिवेशन प्रतिनिधि चिरञ्जीवी हमालले भन्नुभयो, “अदालतले त्यसको टुङ्गो नलगाई अहिलेको नगर नेतृत्वले गरेको उत्खनन् ठेक्का बन्दोबस्त नाजायज छ ।” उत्खनन् कार्यादेश पाएका ठेकदार कम्पनीले जथाभावी थालेका अनियन्त्रित उत्खनन्ले बर्खामा नदीको बहाव परिवर्तन भई बस्ती कटान गर्ने , जमीनमा पानीको सतह गहिरिदै जाने र यसले अन्न र पानीको सङ्कट बढाउने हमालको भनाइ छ ।
पत्रकार सम्मेलनमा नेकपा (माओवादीकेन्द्र) का केन्द्रीय सदस्य राजु खड्का र नेकपा (एमाले) का मधेश प्रदेश कमिटी सदस्य शङ्कर महतोले प्राकृतिक सम्पदाको अनियन्त्रित दोहनले असन्तुलित वर्षा, बाढी/पहिरो र अनिकालको प्रकोपसँगै वन विनास पनि बढाएको आरोप लगाउनुभयो ।
विज्ञप्तीमा उहाँहरुका अतिरिक्त हस्ताक्षर गर्ने नेकपा (एकीकृत समाजवादी) का मधेश प्रदेश कमिटी सदस्य सुरेशबहादुर राउत, रास्वपा नेपाल, लोसपा नेपाल, जनमत पार्टी र राप्रपा नेपालका बर्दिबास नगर अध्यक्षहरु क्रमशः पर्शुराम बस्नेत, विमलेश महतो, चेतकुमार थापा र यानीखर गौतमले रातु नदीमा बढेको अनियन्त्रित उत्खनन् तत्काल रोकिन पर्ने माग गर्नुभयो ।
दलहरुले संयुक्त रुपमा प्रसारित गरेका विज्ञप्तीमा अनियन्त्रित उत्खनन्बाट नदीमा बन्ने अस्वभाविक गहिराईले बर्खामा तीव्र रुपमा चुरे कटानले कृषियोग्य जग्गा डुवान र कटानमा पर्दै गएका उल्लेख छ । त्यसैगरी उर्वर जग्गामा गेगर्यान भरिएर मरुभूमि बन्दै गएको जनमत पार्टीका बर्दिबास नगर अध्यक्ष विमलेश महतोले विज्ञप्तीको भाव प्रस्ट्याउँदै बताउनुभयो ।
जिल्लाका नदीहरुमा मुख्य मानिने रातु यसभेगको पुरानो इतिहासले नदीमात्र नभइ सभ्यता भएको जिकिर दलहरुले गरेका छन् । करिब १० हजार वर्ष पहिलेका ढुङ्गे हतियारका अवशेष अन्वेषकहरुले यसै नदीसभ्यताको पाटु बस्तीमा फेला पार्नुले यो महोत्तरी/धनुषाका लागि खास सभ्यता रहेको दलका प्रतिनिधिले स्पष्ट पारेका छन् ।
विकास निर्माण तथा पूर्वाधार तयार गर्न नदीजन्य पदार्थ अपरिहार्य भएपनि मापदण्ड नाघेर भइरहेको अनियन्त्रित उत्खनन् टुलुटुलु हेरेर बस्न नमिल्ने काँग्रेस नेता हमालले अपिल गर्नुभयो । पत्रकार सम्मेलनमा सम्बद्ध दलका नेताले अहिले भइरहेको अनियन्त्रित उत्खनन् तत्काल रोक्न, विज्ञबाट स्थलगत वातावरण प्रभाव मुल्याङ्कन गराई सोको प्रतिवेदन अनुशरण गर्न र यस कार्यमा सबै राजनीतिक दलको साथ लिन बर्दिबास नगर कार्यपालिकाको कार्यालय , नगरप्रमुखसहितका जनप्रतिनिधि र मधेश प्रदेश सरकारका वन, नदीसम्बद्ध निकायको ध्यानाकर्षण गराएका छन् । पछिल्ला केही वर्षयता वातावरणीय प्रभाव मुल्याङ्कन ठाउँमा जाँदै नगई कार्यालयमै पाना भर्ने परिपाटी बढेको दलका नेताहरुको आरोप छ । अहिले रातु नदीका तीन खण्डमा भइरहेको उत्खनन् कार्यको विज्ञसहितको सर्वपक्षीय स्थलगत अनुगमन हुनपर्ने दलहरुको भनाइ छ ।