बर्दिबास, १० पुस । लगनपूर्वक काममा लाग्दा असम्भव केही रहेनछ भन्ने उदाहरण बर्दिबास-९ का दुई सामुदायिक विद्यालय बनेका छन् । आमरुपमा सामुदायिक विद्यालयको साख गिर्दै गइरहेका बेला ‘विद्यालय रुपान्तरण अभियान’ ले यहाँका दुई विद्यालयले स्वरुपमात्र फेरेका छैनन् , पठनपाठन र सार्वजनिक चासो पनि बढेको छ । यहाँका राष्टिय माध्यमिक विद्यालय पशुपतिनाथ बनरझुल्ला र जनमुखी आधारभूत विद्यालयले अहिले ‘विद्यालय रुपान्तरण अभियान’बाट सर्वसाधारणमा सकारात्मक चासो बढाएका छन् । दुबै विद्यालयबीच करिब दुई किलोमीटरको दुरी छ ।

देखभाल र वास्ता नपाएर खण्डहरजस्तै बनेको राष्टिय माध्यमिक विद्यालय पशुपतिनाथ बनरझुल्ला अब सबैको आकर्षणमा परेको छ । शैक्षिक सुधार अभियानमा जुटेका युवाको आह्वानमा समाजका सबै तप्काको सहयोग बढेपछि यो विद्यालयमा अहिले भौतिक सुधारसँगै पठनपाठन व्यवस्थित भएको स्थानीय अभिभावक बताउँछन् ।

विद्यालयमा अभियानी युवाले वालउद्यान र खेलमैदान निर्माणसँगै ओरपरको सरसफाई र पठनपाठनबारे चासो बढाएपछि सहयोगी हात थपिदै गएका अभियानमा जुटेका स्थानीय युवा अमृतकुमार महतो बताउनुहुन्छ ।

“अस्तव्यस्त विद्यालयमा हामीले हात हाल्यौं, त्यसलगत्तै बर्दिबास सहयोगी क्लवले काम थाल्यो, एकपछि अर्को सहयोगी थपिदै गए” अमृत भन्नुहुन्छ, “मैदानमा माटो भरिदिने, पर्खाल र वालउद्यानका लागि आवश्यक इँटा, सिमेन्ट लिएरै दाताहरु विद्यालय आउन लाग्नुभयो , अनि स्थानीय समुदाय पनि तात्यो र विद्यालयले रुप फेर्‍यो । युवाहरुको यो प्रयत्नमा बर्दिबास नगरपालिकाले साथ थप्दै भवन निर्माण गरीदिएपछि अब कक्षाकोठा पर्याप्त भए ।

“यहाँ छोराछोरी पढ्न पठाउनु भनेको अँ छोराछोरी स्कूल जान्छन् भनेर सन्तोस गर्नुमात्र थियो, पढाइ हुँदैनथ्यो” सो बस्तीका अभिभावक भोला महतो भन्नुहुन्छ, “ जब सहयोगी युवा क्लवका अभियानी काममा जुटे, विद्यालयको भौतिक सुधार र पठनपाठ सुध्रदै गयो ।” अब त यसअघि बाहिर छोराछोरी पठाउने अभिभावकले पनि आफ्ना नानीहरु यसै विद्यालयमा भर्ना गर्न थालेका छन् । पछिल्ला दिनमा अभिभावक, शिक्षक र स्थानीयतहको सघन चासोले विद्यालयको भौतिक स्वरुपमात्र फेरिएको हैन, पठनपाठन पनि व्यवस्थित हुँदै गएको उहाँको भनाइ छ ।

नगरपालिका क्षेत्र भनिएपनि ग्रामीण परिवेशको यो विद्यालयमा अहिले नियमित पठनपाठनमा आउने छात्रछात्राको सङ्ख्या ६३० पुगेको छ । कक्षा-११ र १२ मा शिक्षा र व्यवस्थापन सङ्काय र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी) को सम्बन्धनमा कम्प्युटर इञ्जिनियरिङ्गको प्रि-डिप्लोमा (१८ महिने) पठनपाठन भइरहेको प्रधानाध्यापक भोजराज साहले बताउनुभयो । “कूल विद्यार्थीमा छात्रा आधाभन्दा बढी छन् , प्राविधिक धारको कम्प्युटर इञ्जिनियरिङ्गको प्रि-डिप्लोमा तर्फपनि छात्रा नै बढी छन्” प्रधानाध्यापक साह भन्नुहुन्छ , “विद्यालयको पठनपाठनबारे समुदायको चासोले सकारात्मक परिणामा देखाउँदो छ ।” कोइरी, मगर, हजामजस्ता जनजाति बाहुल्यताको पशुपतिनगरमा चमार जातिका दलित केही छन् । यी जाति समुदायमा अहिले छोरी शिक्षाप्रति जागरण बढेको प्रधानाध्यापक साहको ठम्याइ छ ।

विद्यालय रुपान्तरण अभियानमा जुटेका उत्साही युवा यो विद्यालयको सकारात्मक परिणामले हौसिएर सो बस्तीकै अर्को विद्यालयमा काम गर्न थालेका छन् । अहिले सो बस्तीको शिरानस्थित जनमुखी आधारधूत विद्यालयमा रुपान्तरण अभियान थालिएको छ । नेपाल पत्रकार महासङ्घ महोत्तरी शाखाका सचिब राजकरण महतोले संयोजन गर्नुभएको यो अभियानकै क्रममा विद्यालय रङ्ग रोगन, फर्निचर व्यवस्थापन, विद्यालय परिसर सरसफाईजस्ता कामले निरन्तरता पाएका स्थानीय अभिभावक बिल्टु महतो बताउनुहुन्छ ।

“बुझाइते नई छल जे ई स्कूल अई” (लाग्दैनथ्यो यो विद्यालय हो)महतो भन्नुहुन्छ, “अई बीचमे जब काज सुरु भेल तब बुझाइय जे यो हो स्कूल आब बैन जायत” ( पछि जब यहाँ काम थालियो, बल्ल अब यो विद्यालय बन्छजस्तो लाग्दैछ) । यसअघि कसैले वास्ता नगरेको विद्यालय अभियानीहरुले काम थालेपछि पवित्र मन्दिर बनेको बिल्टु बताउनुहुन्छ ।

विक्रम सम्वत् २०५३ सालमा सरकारी स्वीकृति प्राप्त गरेको यो विद्यालय नानीहरु पढ्ने नभई केहीको शिक्षकका नाउँमा जागिर खाने थलोमात्र रहेको स्थानीयको कडा टिप्पणी हुने गथ्र्यो । तर विद्यालयमा रुपान्तरण अभियान थालिएपछि तिनै शिक्षक दिनरात नभनी पठनपाठन र भौतिक सुधारका काममा जुटेका अभिभावक बताउँछन् ।

करिब तीन महिनाअघि सुरु भएको रुपान्तरण अभियानअन्र्तगत विद्यालयमा वालउद्यान निर्माण भएको छ । परिसरभित्रका समीका रुखमुनि आकर्षक चौतारा निर्माण भएको छ । सहयोगी हात बढ्दै छन् । भर्खरै बर्दिबास-३ कालापानीका बासिन्दा रामकुमार कार्कीले ३५ हजार मूल्य बराबरका बिभिन्न जातका पूmल र धूपीसहितका बिरुवा विद्यालयलाई सहयोग गर्नुभएको छ । यसअघि बर्दिबास नगर कार्यपालिकाको कार्यालयमा प्रमुख प्रशासकीय अधिकृत रहीसक्नु भएका कार्की हाल सिन्धुलीमा कार्यरत हुनुहुन्छ । प्राप्त बिरुवा सहयोगी कार्कीकै रोहबरमा रोपिएका विद्यालयका प्रधानाध्यापक धर्मेन्द्र महतोले बताउनुभयो ।

“विद्यालय त करिब ३० वर्षदेखि थियो , तर विद्यालय भएको अनुभूति हुन सकेको थिएन , अब यहाँ पनि पठनपाठन व्यवस्थित हुन्छ भन्ने आश जाग्यो” विद्यालय नजिकैकी बासिन्दा शीलवती महतो भन्नुहुन्छ, “गर्दा त हुने रे’छ नि ।” विद्यालयमा सुरु भएको रुपान्तरण अभियानमा अहिले शिक्षक, अभिभावक, बिभिन्न सामाजिक सङ्घ संस्था र मनकारी व्यक्तिव्यक्तित्वबाट सहयोग प्राप्त भइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामएकवाल महतोको भनाइ छ । अभियान थालिएको पछिल्लो तीन महिना अवधिबीच विद्यालय भवन रङ्गरोगन, चौतारा र वाटिका निर्माण, बिरुवा रोपन र नियमित सरसफाईकै लागि करिब सात लाख रुपैयाँ बराबरको सहयोग जुटेको अध्यक्ष महतोको भनाइ छ ।

अभियान थालिएसँगै विद्यालयको अवलोकनमा बिभिन्न सङ्घ संस्थाका प्रतिनिधि धमाधम पुग्दैछन् । नेपाल रेडक्रस सोसाइटी बर्दिबास उपशाखाले विद्यालयमा ससाना नानीहरुको खाजा पकाउने र खाने भाँडा, वालवालिकाका लागि शैक्षिक र खेल सामग्री दिएको प्रधानाध्यापक धर्मेन्द्र महतो जानकारी दिनुभयो । त्यसैगरी हृदय रोग निवारण फाउण्डेशन महोत्तरीले विद्यालयका छात्रछात्रा, शिक्षक र अभिभावकको स्वास्थ्य जाँच सेवा दिएको प्रअको भनाइ छ ।

एउटै बस्तीको शिरान र पुछार अवस्थित दुई विद्यालय सामुदायिक चासो पाएपछि फेरिएका छन् । सङ्कल्प गरेर लागे सामुदायिक विद्यालय फेरिन सक्छन् र गुणस्तरीय पठनपाठन व्यवस्थापन हुनसक्छभन्ने सन्देश दिएको बर्दिबास नगर पालिकाको नगर शिक्षा समितिका सदस्य खड्गबहादुर सिंह बताउनुहुन्छ ।

२०८० पुष १०, मंगलवार १०:००मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय