
जनकपुरधाम : सर्लाहीकाे वरहथवा घटनाकाे समाधानका लागि नेकपा (एमाले) ले सम्वाद र सहकार्यमा जाेड दिएकाे छ । एमाले मधेश प्रदेश कमिटीका अध्यक्ष चन्देश्वर मण्डलले आज आइतबार विज्ञप्ती प्रसारित गर्दै आपसी सम्वाद र सहकार्यबाट सम्बद्ध सबैपक्षले समस्या समाधानकाे पहलकदमी लिन अपिल गर्नुभएकाे हाे ।
विज्ञप्तीमा बरहथवा अस्पतालकाे सञ्चालन नगरपालिकाले वा प्रदेश सरकारले गर्ने विषयकाे विवाद बढ्दै जाँदा मानवीय र भाैतिक क्षति हुनु दुखद भएकाे विज्ञप्तीमा उल्लेख छ । नगर प्रमुख कल्पना कटुवालले सर्वपक्षीय छलफलकाे आह्वान गर्दागर्दै साेकाे अवज्ञा हुँदा भाैतिक क्षतिसँगै युवा व्यवसायी जयशङ्कर साहकाे निधन भएकाे अध्यक्ष मण्डलले विज्ञप्तीमा औंल्याउनु भएको छ ।
छलफलले समाधान हुने कुरा हठात बन्द, जुलुस र भाैतिक आक्रमणमा नगर प्रमुख कटुवालकाे घर अगाडि राखिएकाे गाडी आन्दोलनकारीले ताेडफाेड र आगजनी गरेका छन् । यसै क्रममा प्रहरीकाे गाेली लागेर साहकाे मृत्यु हुनु दुखद भएकाे विज्ञप्तीमा उल्लेख छ ।
एमालेले मृतक साहका परिवारजनप्रति समवेदना व्यक्त गर्दै पीडित परिवारलाई क्षतिपूर्ति दिन सरकारसँग माग गरिएकाे छ ।
”हाम्राे पार्टी सम्वाद र कानुनअनुसारकाे समाधान खाेजिनु पर्ने मान्यता राख्छ” अध्यक्ष मण्डलले विज्ञप्तीबारे स्पष्ट पार्दै भन्नुभयाे, “अहिले पनि हामी सम्बद्धपक्ष सबै सम्वादमा बसुन् भन्ने चाहान्छाै ।”
स्थानीय सरकार र प्रदेश सरकारबीच दायित्व र अधिकार क्षेत्रबारे कुनेै अड्चन आए सङ्घीय सरकारले चासाेपूर्वक समाधानकाे पहलकदमी लिनपर्ने एमालेकाे जाेड छ ।
बरहथवामा अस्पताल व्यवस्थापन र सञ्चालन कसले गर्ने भन्ने विवादमा नगरप्रमुखले आह्वान गर्नुभएको छलफल बहिष्कार गरेका काँग्रेससहितका दलका प्रतिनिधिकाे आन्दोलन उग्र हुँदा नगर प्रमुखकाे घर अगाडि राखिएकाे दुईवटा गाडी जलाइएकाे थियाे । यसैगरी नगरपालिका कार्यालयमा समेत ढुङ्गामुढा भएकाे थियाे । अवस्था नियन्त्रण गर्न प्रहरीकाे वल प्रयाेगले साहकाे ज्यान गएकाे थियाे ।
त्यसयता लगातार बरहथवा अशान्त रहँदै आएको छ । गत शुक्रबार प्रहरीकाे गाेली लागि निधन भएका साहकाे शव अझै उठेकाे छैन ।
स्थानीय प्रशासनले बरहथवामा आज आइतबार फेरि कर्फ्यू घाेषणा गरेकाे छ ।