जनकपुरधाम, माघ ।

चुनावका बेला ठूलाठूला आश्वासन दिने तर जितेपछि ‘फर्केर हेर्दै नहेरेको’ आरोप जनप्रतिनिधि माथि लाग्दै आएको बेलामा मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल जनताको घर–घरमा पुगेर जनताको समस्या र सामाधानको उपाय खोज्न तल्लिन देखिएको छ । धेरै मतदातालाई आधार मान्ने हो भने यो आरोप असत्य पनि होइन । तर, धनुषा क्षेत्र नं. १ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित तथा हाल मधेश प्रदेशसभाको सभामुख रामचन्द्र मण्डल यतिबेला टोल–टोलमै पुगेर मतदाताको चाहना, आवश्यकता र गुनासो सुन्दैछन् । आम जनताबाट आएको समस्या तथा समस्या सामाधानको उपायको लागि उनी तल्लिन भएर लागेका छन् ।

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन सकिएको समयमा घरदैलो पश्चात मण्डलले ‘जनताको गुनासो सभामुखको समाधान’ अभियान चलाएका छन् । निर्वाचन हुनुअघि दिइएका आश्वासन, चुनावी घोषणापत्रमा लेखिएका विकासे आयोजना कार्यान्वयनको सम्भाव्यता र भइरहेका प्रयासबारे जनतासंग छलफल हुन्छ । सभामुख मण्डलले चुनावताका उम्मेदवारले बाँडेका आश्वासनलाई कुन अवधारणामा समेट्न सकिन्छ भनेर टोल–टोलमै पुगेर छलफल गर्न थालिएको बताए । ‘विभिन्न वडाका टोलमा पुगेर अब गर्नुपर्ने कामबारे छलफल गरिरहेका छौं,’ सभामुख मण्डलले भने, ‘जनतालाई जागरुक बनाउन सकेमात्र हामी सफल हुन सक्छौं भन्ने सोचले उनीहरुसँग प्रत्यक्ष छलफलमा जुटेका हौं ।’

जनप्रतिनिधिले गाउँमै टोल–टोलमा पुगेर समस्या सुन्ने र सुझाव लिन थालेपछि सर्वसाधारण पनि खुसी देखिएका छन् । स्थानीय तहका जनप्रतिनिधि तथा सबै दलका नेता कार्यकर्ताहरुलाई भेला गराएर नागरिकसँग प्रत्यक्ष छलफल गराइरहेको छ । ‘एक चरण जनताको गुनासो सुन्दै क्षेत्रको हरेक वडा र हरेक टोलमा पुग्दै छौं । लगभग सबै वडा र टोलटोलमा पुग्ने प्रयत्न छ,’ मण्डलले भने, ‘टोल–टोलसम्म पुगेर सर्वसाधारणको गुनासो सुन्ने, सुझाव लिने र त्यही अनुसारको नीति–कार्यक्रम बनाउने योजनामा छौं ।’ पहिलो चरणमा प्रत्येक महिना टोल–टोलमा गुनासो सुन्ने, टिपोट गर्ने र सामाधानका उपायहरु, सम्बोधन गर्ने निकायहरुसंग छलफल तथा विकास निर्माणको योजना तीव्र बनाउने अभियान चलाएको प्रमुख स्वकीय सचिव रमेश कुमार मण्डलले जानकी दिए ।

सभामुख मण्डलसंगको छलफल तथा गुनासो र सामाधानमा सर्वसाधारणले सक्रियता साथ भाग लिइरहेका छन् । ‘स्थानीयले सिंचाई, बिजुली, सडक, खानेपानी, कृषि, पशुपालन, सहरी विकास, मठमन्दिर लगायत क्षेत्रको विकासका लागि भारी सुझाव दिइरहनुभएको छ,’ सभामुख मण्डल भन्छन्, ‘अब गर्नुपर्ने कामका लागि मात्र होइन, हिजो जनप्रतिनिधिले गरेको स्थानीय तहको अनियमितताबारे पनि सर्वसाधारणले खुलेर सूचना दिनुभएको छ ।’ जनप्रतिनिधिले गाउँमै टोल–टोलमा पुगेर समस्या सुन्ने र सुझाव लिन थालेपछि सर्वसाधारण पनि खुसी देखिएका छन् । सर्वसाधारणका समस्या उनीहरूको घर र टोलसम्म पुगेर सोधीखोजी गरिदिने कोही थिएनन, स्थानीय योग कुमार यादवको गुनासो छ । उनले भने, ‘स्थानीय जनप्रतिनिधिले गरेको बदमासी जनताले सुनाउँदैछ, विभिन्न निकायमा उजूरी समेत दिईएको छ । हामीले उजूरीको छानविनका लागि पहल समेत गर्दैछौं ।’

नेकपा माओवादीका स्थानीय नेता सुनिल कापरले भने, ‘जितेर गएका नेता गाउँ फकिँदैनथे तर अहिले क्षेत्रका नेता वडा–वडा र टोल–टोलमा आएर सन्चो–बिसन्चो मात्रै सोध्दा पनि आनन्द हुँदोरहेछ । अझै जनताको गुनासो धैर्यधारण गरेर सुन्ने, विकासको काममा चासो देखाउने तथा सामाधानका उपायहरु खोज्नु अत्यन्त परिष्कृत र व्यवहारयुक्त जनप्रतिनिधिको विशेषता हो ।’ सर्वसाधारण नागरिकको गुनासो सुन्न ‘हेल्लो जनता’ अभियान पनि चलाउने भएको छ । यस अन्तर्गत सर्वसाधारणले आफूलाई लागेको जिज्ञासा र सुझाव सभामुख सम्म पुर्याउने संयन्त्र तयार गरिनेछ । ‘जनताले प्रत्यक्ष रुपमा दिएको सुझाव र योजनाले आउँदा कार्यक्रम बनाउन हामीलाई निकै सजिलो हुन्छ,’ स्वकीय सचिव धिरेन्द्र मण्डलले भने, ‘नागरिकका वास्तविक आवश्यकता के छन् भन्ने बुझेर बनाएका योजना, नीति र कार्यक्रम नै सबैभन्दा प्रभावकारी हुन्छन् । त्यही भएर हामीले जनताको घरदैलोमा गएरै समस्याको पहिचान गरेर समाधानका उपाय खोज्ने प्रयत्न गरेको जनाए ।’

सर्वसाधारणसँग सम्बन्ध स्थापना र सेवाग्राहीको काम छिटो–छरितो गर्न सबै जनतालाई सभामुखसंगको पहुँचलाई थप बढाउने नीति लिईएको मण्डलले जनाए । ‘नागरिकको सूचनाको हक स्थापित गर्दै सबैजसो योजनामा सहभागिता जुटाउन सर्वसाधारणसँग प्रत्यक्ष जोडिएर काम गर्नेछौं,’ सभामुख मण्डलले भने ।

गत बर्ष सम्पन्न निर्वाचनमा मत दिएर बिजयी बनाएको भन्दै सभामुख मण्डल आफनो निर्वाचन क्षेत्रमा घरदैलो गर्ने कार्यक्रम अनुसार धनुषाका जनताको घरदैलोमा पुगेको हो । सो क्रममा एक बर्षमा भए गरेका कामहरुको जानकारी मतदातालाई दिने तथा सुझाव संकलनको काम पनि गर्दै आएको छ ।

२०८० माघ १२, शुक्रबार १८:१३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय