
नेपालवाणी डटकम
जनकपुरधाम, माघ ।
मिथिला संस्कार र सभ्यता चिनाउन मिथिला चित्रकलाको ठूलो महत्व छ । कलामा धनी मिथिला क्षेत्रको समृद्धि, भाषा, चाडपर्व, धार्मिक अनुष्ठान, रहनसहन मिथिला चित्रकलामा पाउन सकिन्छ । मिथिला चित्रकलासँगै जोडिएर आउने नाम हो ( जनकपुरधामको नारी विकास केन्द्र । कुनै बेला मिथिला चित्रकला बेचेर वार्षिक ४० लाख रुपैयाँ कमाउने यो केन्द्र अहिले आर्थिक अभावका कारण दयनीय अवस्थामा पुगेको छ ।
मिथिला चित्रकलालाई देश विदेशमा पुर्याउन निकै काम गरेको जनकपुरधाममा रहेको यो नारी विकास केन्द्र हो । खपडाको छानो र भित्तामा कोरिएका दृश्यहरुले भवन निकै शान्त र मनमोहक छ । तर कुनै बेला निकै चहलपहल र व्यवसायिक व्यस्तता रहने यो भवन अहिले सुनसान छ । यहाँबाट हुने मिथिला चित्रकलाको कारोबार निकै घटेको छ ।
राजा जनकले छोरी सीतासँग विवाह गर्न आएका रामलाई स्वागत गर्न जनकपुरका भित्तामा मिथिला चित्र बनाउन लगाएको किंवदन्ती छ । त्यही मिथिला लोकचित्रले मिथिला सभ्यताको मौलिकतालाई धानेको छ । शुरूआतमा यो कला ग्रामीण क्षेत्रका महिलाले घर, पर्खाल, भुइँ र आँगनमा माटो, पिठो, गोबर आदिले बनाउने गर्थे । विशेषतः चाडपर्व, विवाह, पूजा(आराधनाका लागि चित्र कोर्ने गरिन्थ्यो । महिलाले आफ्नो मनमा उठेका स्वाभाविक कल्पना तथा उद्वेगलाई पनि ती चित्रमार्फत व्यक्त गर्ने गर्थे ।
सस्तो र नक्कली सामान प्रयोग गरेर बनाइएका मिथिला चित्रकला बजारमा छ्याप-छ्याप्ती पाउन थालेपछि नारी विकास केन्द्रका सामानको बिक्री घटेको छ । मिथिला चित्रकलालाई व्यवसायिक रुपमा अघि बढाउन २०५१ सालमा स्थापित केन्द्र पछिल्लो समय सरकारी उपेक्षाको सिकार भएको छ ।
मिथिला चित्रकालको क्षेत्रमा महत्वपूर्ण योग्दान पुर्याएको यस केन्द्रले दुई दशक अघि सम्म ४० लाख रुपैयाँभन्दा बढीको आर्थिक कारोबार गर्दै आएको थियो । तर, गलत प्रचारप्रसारका कारण पहिला जस्तो सामान बिक्न छाडेपछि यस केन्द्रका सदस्यहरुलाई अहिले हातमुख जोड्नसमेत समस्या छ ।
त्यसो त यस सस्ंथाको बारेमा जानकारी भएकाहरु स्तरीय मिथिला चित्रकला खोज्दै अहिले पनि आउने गर्छन् । प्रचारप्रसार नपुग्दा ओझेलमा परेको नारी विकास केन्द्र आर्थिक संकटबाट गुज्रिएपनि फेरि आफ्नो पुरानै लयमा फर्किने आशा भने यहाँका पदाधिकारीले गुमाएका छैनन् ।
ग्रामिण क्षेत्रका महिलाहरुलाई संगठित गरी विदेशी महिला क्लेयर वर्करको पहलमा स्थापित यो केन्द्र ८ कठ्ठा जग्गामा फैलिएको छ ।