महोत्तरी :  महोत्तरीको मटिहानी नगरपालिका-६ जरलहवागाछी बस्तीका ११० परिवार अग्निपीडित अब सुरक्षित बासको आशमा छन् । घटनालगत्तै केही दिन टर्ने तयारी खानेकुरा, खाद्यान्न (चामल, दालसहित) ,फेरफार लुगा र अति आवश्यकताका भाँडाकुडा जुटेपछि अग्निपीडित अब सुरक्षित बासको आश गर्दैछन् ।

अग्निपीडित सहयोगबाट जुटेको खाद्य सामग्रीबाट केही दिन घरपरिवारलाई खानेकुरामा धान्न सक्ने भएपनि सुत्न भने पाएका छैनन् । उनीहरुका लागि सामान्य टहरा, खाट, ओढ्ने ओछ्याउने लुगा नहुँदा एक सातादेखि कोही सुत्न नसकेका हुन् । “विपदमा त परिहाल्यौं, त्यसपछि जेनतेन खानेकुरा पनि जुटेकै छ , तर घटनायता हामी सुत्न सकेका छैनौ” सो बस्तीका अग्निपीडित सीताराम पासवान भन्नुहुन्छ, “ससाना लालाबाला, बुढाबुढी , सुत्केरी र बिरामीको कन्तविजोग छ ।” अब सुत्नै नपाएर बिरामी बढ्ने अवस्था बन्दै गएको पासवानसहितका अग्निपीडितको भनाइ छ ।

अग्निपीडितका यी भनाइमा नगरप्रमुख हरिप्रसाद मण्डल सहमत हुनुहुन्छ । ठूलो दुःखदायी पीडामा मनकारी हातबाट पाएको सहयोगको सराहना गर्दै मण्डलले अब सुरक्षित बासको प्रबन्धमा जुट्न पर्ने बताउनु भएको छ ।

“दुःखदायी घटनामा तत्कालदेखि नै उदात्त सहयोग जुट्यो, अहिले अग्निपीडित परिवारसँग केही दिनका लागि तयारी खानेकुरा, खाद्यान्न, फेरफार लुगा र अतिआवश्यकताका भाँडाकुडा सहयोगबाट जुटेको छ” नगरप्रमुख मण्डल भन्नुहुन्छ, “अबको आवश्यकता उनीहरुका लागि सुरक्षित बासको हो ।”

बस्तीका अग्निपीडितका गुनासा उचित रहेको नगरप्रमुख मण्डलको स्वीकारोक्ति छ । “आगलागीजस्तो विपदका बेला दुःख त परेकै छ, यद्यपि यो दुःखका बेला स्थानीय प्रहरी/प्रशासन, राजनीतिक दल, सामाजिक सङ्घसंस्था र उदात्त भावका परोपकारी हातका सहयोग कहिल्यै बिर्सन नसकिने छ” मण्डल भन्नुहुन्छ, “सहयोगकै भरमा अग्निपीडित अब भोकभोकै रहने र जीउ ढाक्नै नपाउने अवस्था छैन” मण्डल भन्नुहुन्छ, “सामान्यतः अति आवश्यकताका भाँडाकुँडा पनि सहयोगले जुटेका छन् ।” अब आपूmहरुको ध्यान बास प्रबन्धमा केन्द्रित भएको मण्डलको भनाइ छ । अहिले सहयोगबाटै पीडित परिवारले ग्याँसचुल्हा, खाना पकाउने कुकरसमेत पाएका मण्डलले जानकारी दिनुभयो ।

“एक/दुई जनाको प्रबन्धको कुरा हैन, एकसयभन्दा बढी परिवारको व्यवस्थापनको कुरा छ, यो प्रबन्ध मिलाउन केही समय लाग्छ” मण्डलले भन्नुभयो, “विभिन्न दाता, प्रदेश र केन्द्र सरकारका प्रतिनिधिले बस्तुगत अवस्थाको निरीक्षण गरेर आवश्यक प्रबन्धमा सहयोगको वचन दिनुभएको छ” मण्डलले भन्नुभयो, “हामी पनि स्थानीय रुपमा समाधानको खोजीमा छौं, हामी बास प्रबन्ध मिलाउँछौं ।” घटनाको चौथो दिन बस्तीमा पुग्नुभएका मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बास प्रबन्धमा सहयोग गर्ने प्रतिबद्धता सार्वजनिक रुपमै गर्नुभएको छ । यसैगरी केन्द्रीय सरकारले राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका विज्ञ टोली पठाइ यहाँको स्थलगत अवस्था बुझेर फर्केको मण्डलले जानकारी दिनुभयो । सो टोलीले पनि अबको राहत उद्धार कार्य बास केन्द्रित हुने र त्यसका लागि आपूmहरुले पहलकदमी लिने आश्वासन पाएको मण्डलको भनाइ छ ।

बस्तीको अवस्था नियमित नियाली रहेका सामाजिक सङ्घसंस्थाका प्रतिनिधि र सञ्चारकर्मीले अब बस्तीमा छाप्रो बनाउन खाँबाका लागि बाँस, छानाका लागि जस्तापाता, सुत्न/बस्न खाट, ओढ्ने/ओछ्याउने लुगा (बेडसिट, ब्ल्याङ्केट, सिरानी), यताउता सार्न मिल्ने फोल्डिङ्ग टेन्ट र विद्यालयमा पढ्न जाने गरेका बालबालिकाका लागि स्कूलब्याग, स्टेसनरी (कपी, कलम, पेन्सिल आदि) को आवश्यकता औंल्याएका छन् । बस्तीमा सधैंजसो पुगीरहनु भएका सञ्चारकर्मी रञ्जन भण्डारीले त सामाजिक सञ्जालमा यी सामग्रीको जोहोमा सहयोग गर्न अपिल नै गर्नुभएको छ ।

अग्निपीडित बस्तीमा १६० किशोर १५८ किशोरी गरी यो उमेर समूहका ३२५ जना प्रभावित छन् । यसैगरी पाँच वर्ष मुनिका ७५ बालिका र ५७ बालकसमेत १३२ बालबालिका प्रभावित छन् । घटनाअघि नियमित विद्यालय जाने किशोरकिशोरी र बालबालिका अहिले घटनापछि विद्यालयको औपचारिक पोसाक, पुस्तक, कपी/कलमजस्ता सामग्री नहुँदा आगोले बनाएको खरानीको थुप्रो खेलाएर मन भुल्याइरहेका पत्रकार भण्डारीको भनाइ छ । यिनीहरुको विद्यालय नियमित गराउन यी सामग्रीको जोहो गरिन भण्डारीले सम्बद्धपक्ष र सहयोगी दाताहरुको ध्यानाकर्षण गराउनु भएको छ ।

सामाजिक क्षेत्रबाट औंल्याइएका यी विषयबारे नगर प्रमुख मण्डल आपूm जानकार रहेको बताउनुहुन्छ । प्रभावित बस्तीमा नियमित पुगेर अवस्था नियाली रहनुभएका सामाजिक र सञ्चारक्षेत्रका साथीबाट बुँदागत रुपमा अब गरिन पर्ने कामबारे सुझाव पाइरहिएको र सोअनुसार तयारीमा जुटिएको मण्डलको भनाइ छ ।

जिल्लास्थित विपद् व्यवस्थापन समिति, रेडक्रससहितका सामाजिक सङ्घसंस्था र सम्पर्कमा रहनुभएका दाताहरुबीच आपूmहरु सघन छलफलमा रहेको र पीडित परिवारका लागि आवश्यक प्रबन्ध मिलाउन लागिरहिएको मण्डलले बताउनुभएको छ । यसबाहेक अब बस्तीका वृद्धवृद्धा, सुत्केरी, गर्भवती र ससाना नानीको विशेष सम्भारको चाँजो र आवश्यक उपचार प्रबन्धमा लागिएको मण्डलको भनाइ छ ।

आगलागी भइरहँदा नगर प्रमुख मण्डलले रुँदै आपद्मा सहयोग गर्न अपिल गरेपछि सहयोग भने जुटेको मटिहानीमा चर्चा छ । “आपद त मटिहानीमा पर्‍यो, यहाँका मान्छेले खेपे र खेप्दैछन् , तर हाम्रो दुःखका बेला जुटेको सहयोगबारे मटिहानीबासी सधैं सम्झना गर्नेछन्” मटिहानीका जेष्ट नागरिक तथा प्रेस स्वतन्त्रता सेनानि ९० वर्षीय विन्देश्वरीप्रसाद मण्डल प्राप्त सहयोग र चासोप्रति कृतज्ञता व्यक्त गर्नुहुन्छ । जेष्ट नागरकि मण्डलजस्तै आम मटिहानीबासी दुःखका बेला प्राप्त सहयोगको सराहना गर्दै अबको बास प्रबन्धमा थप सहयोगको आशमा छन् ।

२०८१ बैशाख २०, बिहीबार ०७:१९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय